काठमाडौँ l दुई फरक घटनामा नेपाल प्रहरीका हवल्दार र सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी सहायक हवल्दार हरेन्द्र विष्टको मृत्यु भएको छ । बिहीवार ड्युटीबाट खाना खान कोठातर्फ जाँदै गर्दा उनी अचानक बेहोस भए ।
उनलाई तुरुन्तै महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल पुर्याइए पनि उपचारको क्रममा उनको मृत्यु भएको हो । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ घर भएका ४० वर्षीय विष्टको मृत्युको कारण खुलिसकेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार विष्टको अस्पतालमै मृत्यु भएको हो । ‘मृत्युको कारण खुलेको छैन, शरीरमा पनि चोटपटक छैन,’ उनले भने । उनले शवलाई पोष्टमार्टमका लागि पठाइएको र त्यसको रिपोर्ट आएपछि मृत्युको कारण खुलने जनाए ।
यस्तै, सुनसरीको दुहबीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार प्रहरीको मृत्यु भएको छ । बुधबार अपराह्न भएको दुर्घटनामा परेर घाइते प्रहरी हवल्दार शिवनन्द मण्डलको आज बिहान मृत्यु भएको हो ।
कोसी लोकमार्गअन्तर्गत दुहवी नगरपालिका–८ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको बा १ क ८८१७ नम्बरको ट्रकले को ३६ प ५४९७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।
ट्रकले प्रहरी सहायक निरीक्षक सनम राजवंशीले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि सवार प्रहरी हवल्दार शिवनन्द मण्डलको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नविन राईले बताए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका हवल्दार मण्डलको उपचारका क्रममा विराटनगरको आर्या न्यूरो अस्पतालमा बिहीबार बिहान ४ बजे मृत्यु भएको हो ।