सभापोखरी : उपभोक्तासंगै भिमको विकास प्रयास

संखुवासभा । चुनाव एउटा प्रक्रिया न हो हारजीत हुन्छ नै । जित्दा ‘राजा’ बने भन्ने सोच्ने र हार्दा ‘संसार सकियो भन्दै’ दुलो भित्र पस्नेले मानिस राजनितीकर्मी हुनैसक्दैन । जीत पछि नागरिक भन्दा माथि सोच्ने जनप्रतिनिधी नागरिकको सारथी बन्नसक्दैन् तर, जुन मानिस हार्दा होस अथवा जित्दा सधै आमनागरिकको साथमा हुन्छन् । ऊ सधै सबैको प्रिय बन्छ ।

यस्तै उदाहरणीय बन्दै गएका छन्—संखुवासभा सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर सिन्था (लिम्बु) । उमेरले चारदशक पुगेका भीम पछिल्लो समय आमसभापोखरीबासीहरुको सारथी बन्दै गएका छन् । निरन्तर पार्टीको राजनिती र समाजसेवामा सक्रिय भीम गएको स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट निर्वाचीत बने ।

युवा जोसजाँगर बोकेर राजनिती र समाजसेवामा सक्रिय भीम ०७४ को स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए । उनको सामाजिक काम देखेर ०७९ को स्थानीय तहको निर्वाचनमा जनताले उनलाई जिताए । गाउँपालिका अध्यक्षको पगरी गुथेका भीम जनता भन्दा माथि कोही पनि रहेनछ भन्ने बुझेका छन् । जब सम्म आमनागरिकहरु स्थानीय सरकारका प्रमुख गाउँपालिका अध्यक्षको काम कारबाहीबाट सन्तुष्ट हुदैनन् तब जनप्रतिनिधीले शिर ठाडो पार्नुको अर्थ नहुने उनको बुझाइ छ । प्रसंसा र कामको मूल्याङकन आफै होइन, अरुले गरिदिएको राम्रो हुने उनी बताउँछन् ।

त्यसैले उनी आफै सक्रिय रुपमा सामाजिक काममा खटिने गर्दछन् । सदरमुकाम खाँदबारी–डके धुपू हुदै गाउँपालिकाको केन्द्र बाह्रबिसे सडकखण्ड बर्खाको समयमा बेहाल छ । उक्त सडकखण्डको स्तरोन्नती र बाह्रै महिना यातायाताको साधान सुचारु गर्न आफै सडकमा खटिन्छन् । पूर्वाधारका कुरा मात्रै होइन उनी शिक्षा, स्वास्थ्य लगायत समाज रुपान्तरण गर्ने खालका बिषय र क्षेत्रमा समेत उति नै संवेदनशील छन् । उनी आफै सडकको ढुङ्गा पन्छाउने देखि स्काभेटर लगाउने कामको समेत आफै निगरानी गर्छन् । सडकमा पाइप गाड्ने देखि सडकको ढुङ्गा फुटाउने काममा समेत आफै पुग्छन् । साथीभाइलाई कामको निर्देशन दिने र ठूला मान्छे बनेर निरिक्षण र अवलोकन गर्ने मात्रै होइन आफै सहभागी समेत बन्नुपर्छ भन्ने भीमको बुझाइ छ ।

हुन त आज भीम निर्देशन दिने ठाउँमा छन् तर उनी निर्देशन दिएर मात्रै हुदैन आफैले पनि सकेको सहयोग गर्नुपर्छ भन्छन् । ‘पाँच बर्षपछि फेरी मेरो हैसियत यहि नागरिक नै हो । आज गाउँपालिका अध्यक्ष बनेको छु, भोली त मेरो धरातल त्यही हो नी । त्यसैले असल नागरिक बनेर जनताको सेवा गर्न चाहान्छु । जनता नै सर्वेसर्वा हुन् ।’—उनी भन्छन् ।

गाउँमा हुने कतिपय झैझगडाका बिउ राजनिती पार्टीहरुकै कारणले हुने गरेको उनको ठम्याइ छ । त्यसैले गाउँमा मेलमिलाप केन्द्रको स्थापना गर्दा टोल तह सम्म स्थानीय स्तरमा विभिन्न राजनितीक पार्टीका सदस्यहरुलाई जिम्मेवार बनाउन सकेमात्रै गाउँमा झैझगडा कम हुने र मिलाउन सजिलै सकिने उनको भनाइ छ ।

सभापोखरी गाउँपालिका आदिबासी जनजाति समुदायको बसोबास भएको क्षेत्र हो । अझैपनि गाउँघरमा लिम्बु समुदायमा मन परेको केटी तानेर लैजाने चलन छ । केटी तानेको निहुँमा कसैको उक्साहटमा मुद्धा हाले जीवनभर जेलमा सडेर बस्नुपर्छ । यस्ता सामाजिक विकृति संगति भएपनि कतिपय अवस्थामा सामाजिक संस्कार संस्कृति, धर्मपरम्पराको संरक्षण पनि गर्नुपर्ने हुन्छ । त्यसैले सधै सचेत भएर जनताको पक्षमा भुमिका खेल्नुपर्छ जनप्रतिनिधीहरुले भन्ने बुझेको भन्छन् भीम ।

यस्ता सानातिना घटनाहरु देखि ठूला घटना सम्म सधै अग्रणी बनेर खटिने भीम सबैको प्रिय बन्दै गएका छन् । ईश्र्या, डाह गर्नेहरु होलान्, खुट्टा तान्नेले तान्दै गरेपनि आफ्नो काम प्रति सधै सजग र प्रतिबद्ध भएर अघि बढने उनी बताउँछन् ।

अध्यक्ष भीमको पहिलो निर्णय
निर्वाचीत हुने बित्तिकै पालिका भित्रका ८५ बर्ष माथिका बृद्धबृद्धाहरुलाई चाडपर्व खर्च ५ हजार दिने, ८० बर्ष माथिका बृद्धबृद्धाहरुको ६/६ महिनामा घरैमा पुगेर स्वास्थ्य परिक्षण गर्ने लगायतका कार्यक्रम लागु गरेका छन् । त्यसैगरि स्वास्थ्य स्वयंमसेविकाहरुलाई पोषण भत्ता ३ हजार ५ सय रुपैया, गरिव तथा विपन्नको पहिचान गरि निःशुल्क स्वास्थ्य बिमा, पालिकाभित्रका ६ वटै वडामा सामाजिक मेलमिलाप केन्द्रको स्थापना गर्ने र सभापोखरीको पहिचान असला माछाको संरक्षण गर्ने लगायतका लोकप्रिय कार्यक्रम पास गरेका छन् ।

त्यसका साथै अन्य धेरै राम्रा–राम्रा योजनाहरु अगाडि बढाउने योजना छ । समृद्ध सभापोखरी गाउँपालिका बनाउन आफ्नो बलबुताले भ्याए सम्म कम्मर कसेर लागेको उनी बताउँछन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search