काठमाडौं । काठमाडौंको टेकु नजिकै हृयुमत टोलस्थित नारायण मन्दिरबाट चोरी भएर अमेरिका पुगेका करिब ७०० वर्ष पुराना पुरातात्विक टुँडालहरू नेपाल फर्काइएको छ।
१९८० को दशकमा नारायण मन्दिरबाट हराएका १२/१३ औं शताब्दीका दुई टुँडालहरू बुधबार नेपाल फिर्ता ल्याइएको हो।
एक अमेरिकी कलाप्रेमी नागरिकले न्युयोर्कस्थित नेपाली कन्सुलेट जनरलमार्फत ती कलाकृतिहरू नेपाल फिर्ता गराएको नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।
‘उहाँले आफैँले नेपालसम्म ल्याउन लाग्ने खर्च पनि ब्यहोरी दिनुभयो,’ दूतावासले भनेको छ ।
एक कार्यक्रमको आयोजना गर्दै दूतावासकी निमित्त मिसन उपप्रमुख एबिगेल अरोन्सनले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई पुरातात्विक टुँडाल हस्तान्तरण गरिन्।