काभ्रे । जिल्लामा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ। करिब महिनाअघि पाँचखालमा देखिएको डेंगुको संक्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
काभ्रेपलाञ्चोकमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगु संक्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगु रोगको संक्रमण भेटिएको थियो। पाँचखालमा भेटिएका संक्रमितको भने काठमाडौंस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ।
कार्यालयप्रमुख डा. पुरुषोत्तम सेढाईँका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेंगुको संक्रमण भेटिएको हो। ‘करिब एक महिनाको अवधिमा ९ जनामा डेंगुको संक्रमण देखिएको छ, हामी रोगको स्रोतको सर्च एण्ड डिस्ट्रोय गर्ने अभियानमा छौँ’, उनले भने।
संक्रमित नौमध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन्। यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ। काठमाडौँमा उपचाररत संक्रमितको अवस्था गम्भीर रहेकाले आईसीयूमा राखिएको सेढाईँले बताए।
यसैबीच जिल्ला स्वास्थ्य कार्यालय र नगरका स्वास्थ्य टिमले डेंगु सङ्क्रमणको स्रोतबारे स्थानीयस्तरमा अनुगमन गरिरहेको छ। साथै, सङ्क्रमितलाई निगरानीमा राखी उपचार तथा अन्य गतिविध बढाएको कार्यालयले जनाएको छ।