‘सभापोखरी अर्थात् स्वर्गको एक टुक्रा’

sharethis sharing button

पूर्वी तराईका जिल्लाहरू तथा धनकुटाबाट यस ठाउँको भ्रमण गर्दा धनकुटाको सुन्दर नगरी धनकुटा बजार, हिले हुँदै सिधुवा, तेह्रथुमको बसन्तपुर, तीनजुरे, मिल्के, जलजले अन्तर्गतको तीनजुरेको मनोरम दृश्यहरूको आनन्द लिँदै अघि बढ्न सकिन्छ भने त्यसभन्दा माथिका ठाँउहरु चौकी, मंगलबारे बजार हुँदै संखुवासभाकाे गुफा पोखरी पुग्न सकिन्छ ।

बीसौँ शताब्दीतिर त्यस क्षेत्रको पहाडको आसपास रहेको गुफामा ध्यान गर्ने सन्तहरूद्वारा उक्त पोखरीको नाम ‘गुफापोखरी’ दिइएको हो । समुन्द्र सतहदेखि करिब २८९० मिटरको उचाइमा अवस्थित यो पोखरी हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूका लागि एउटा पवित्र तिर्थस्थल रहिआएको छ । यस पोखरीको नामबाटै त्यस ठाउँको नाम पनि गुफापोखरी बजार रहन गएको कुरा इतिहासमा उल्लेख गरेको पाइन्छ ।

गुफापोखरी, संखुवासभा

सभापोखरीको यात्रा गर्दा मानिसहरु गुफापोखरीसम्म चारपाङ्ग्रे गाडीमा तथा आफ्नो मोटरसाइकलमा पुग्न सक्छन् भने त्यस पोखरी भन्दा थोरै माथि रहेको जोरपोखरी भन्ने ठाउँ सम्म पनि सवारी साधन मै पुग्न सकिन्छ ।

यहि जोरपोखरीबाट सुरु हुने पैदल यात्रासँगै त्यस भन्दा माथि कुनै पनि मानव बस्ती तथा बास बस्नका लागि होटल नभेटिने भएकाले प्रत्येक यात्रीले खान तथा बास बस्नका लागि आफैँले व्यवस्था गरेर अगाडि बढ्नुपर्ने हुन्छ । केहि समयको यात्रापछि मिल्के डाँडा पुगिन्छ । गुराँसको राजधानीको रुपमा प्रख्यात तीनजुरे, मिल्के, जलजले अन्तर्गतको मिल्के डाँडामा नेपालकै सबैभन्दा बढी लगभग २५ प्रजातिको गुराँसहरु पाईन्छन् । मिल्के डाँडाबाट केहि समयको ओरालो हिँडाइ पछि खोपिङ्ग पोखरी पुगिन्छ जँहा यात्राका क्रममा आफ्नो तिर्खा मेटाउन यात्रीहरु यस पोखरीको पानी पिउने गर्दछन् ।

खोपिङ्ग पोखरी

खोपिङ्ग पोखरी पछिको केहि घण्टाको ऊकालो यात्रापछि हर्कटे पुगिन्छ । त्यस ठाउँमा धेरै वर्ष पहिले आगलागीका कारण तहसनहस भएका गुराँस तथा अन्य कोणधारी रुखहरु को अवशेषहरु देख्न सकिन्छ ।

आगलागीका कारण तहसनहस भएका रुखहरु

हर्कटेको उकालो कटेपछि दोबाटे भन्ने ठाउँ आउँछ । पैदल यात्रीहरुले पहिलो दिनको बास बस्ने गरेको उक्त ठाँउमा यात्राका क्रममा यस ठाँउमा बस्नको लागि केहि पाटीहरु पनि रहेका छन् ।

दोबाटेस्थित पैदलयात्री तथा तीर्थयात्री हरुलाइ वासस्थानका लागि बनाइएको पाटी

हिउँद सुरु भएपछि संखुवासभाकाे उच्च हिमाली भेग जस्तै तोप्के गोला र सभापोखरी नजिकतिर बसोवास गर्ने मानिसहरु भने हिउँद छल्नलाई आफ्ना सरसामानहरु चौरिलाई बोकाइ गुफापोखरी तर्फ झर्दै गरेको पनि देख्न पाइन्छ ।

तस्बिर : चौँरीगाइ तथा आफ्ना सरसमान सहित हिमाली भेग तथा नाका (तोप्के गोला) तर्फ बाट पहाडि भेग (गुफापोखरी) तर्फ हिँउद छल्न आएका बासिन्दाहरु

दोबाटेबाट उत्तरपुर्व तर्फको यात्रामा गोरुजुरे डाँडा पुगिन्छ, जहाँबाट ताप्लेजुङ बजार, पाथिभरा, चैनपुर, खाँदबारी, मुडे लगायत अन्य ठाउँहरुको मनोरम दृश्य पनि देख्न सकिन्छ । गोरुजुरे डाँडापछिको यात्रामा गुँरासको जङ्गल छिचोल्दै हिलेपाटी पुगिन्छ, जहाँबाट गिद्धे डाँडा पनि देख्न सकिन्छ ।

हिलेपाटी स्थित चौरबाट लिइएको तस्बिर । पृष्ठभूमिमा मकालु हिमाल । तस्बिरमा क्रमशः होमराज राउत, रामकृष्ण गौतम, सौरब घिमिरे, झमक श्रेष्ठ ।

हिलेपाटीबाट केहि घण्टाको यात्रापछि गिद्धे पुग्न सकिन्छ । यात्राका क्रममा विभिन्न प्रजातिका लालीगुराँस, चरिरहेका चौँरी गाई तथा याकहरु, विभिन्न चराचुरुंगीका साथै टलक्क टल्किरहेका अटल मकालु, कुम्भकर्ण, कञ्चनजङ्घा तथा अन्य हिमश्रृङ्खलाहरुले जो कोही यात्रीको मन आनन्दित बनाउँछ ।

चरिरहेको चौँरी गाई

यात्राकै क्रममा दोस्रो दिनको बास बस्ने ठाँउको रुपमा रहेको गिद्धेमा पनि बस्नका लागि केही पाटी तथा भेडिगोठ पाइन्छन् । गिद्धेबाट उत्तरतर्फ हेर्दा हिमाल भन्दा थोरै अघि तर्फ देखिने धेरै अग्लो, कालो चट्टानी पहाड देखिन्छ, जुन पहाड जलजले पहाड हो र त्यो पहाड केहि घण्टाको यात्रापछि सभा पोखरी पुग्न सकिन्छ । यात्राका क्रममा ठूला ठूला काला पत्थर, डाँडाकाँडा, स-साना पोत्थ्रा तथा बुट्यान र सुन्दर हिमश्रृंखलाहरुको दृश्यावलोकन गर्दै जाँदा त्यत्रो ठूलो पहाड कटेको पनि पत्तै पाइन्नँ । त्यस ठाउँको यात्रा गर्दा कसैले ढुंगा घोप्ट्याएको जस्तो वा ढुंगाकै खोला बगेको जस्तो दृश्यहरु देख्न सकिन्छ ।

जलजले पहाड देखि उत्तर तर्फको दृश्य

जलजले पहाड पछीको यात्राको क्रममा स-साना पानीका खोलाहरु भेटिन्छन् भने यसअघिका ठाउँहरु जस्तै दोबाटे, गिद्दे जस्ता ठाउँमा पानीको मुहान ठम्याउन भने अलि मुस्किल नै हुन्छ ।

केही घण्टाको पत्थरै पत्थरको बाटोमा पैदलयात्रा पछि अलि ठूलो पहाड कटेर धर्मढोका भन्ने ठाउँ आँउछ, जहाँ ध्वजहरुद्वारा सजिएको ढुंगाको द्वार रहेको छ । त्यस ठाउँमा पनि बासस्थानका लागि केहि पाटीहरू रहेका छन् । धर्मढोका देखि केहि मिनेटको यात्रापछि सभापोखरी पुग्न सकिन्छ ।

सभापोखरी समुद्र सतहदेखि करिब ४२३० मिटरको उचाईमा रहेको छ । चारैतिरबाट घेरिएको ठूलाठूला तथा अग्लाअग्ला पहाडहरू काखमा अवस्थित सभापोखरीकाे सुन्दरताले सबैलाई मन्त्रमुग्ध बनाउँछ । पोखरीको उत्तर पूर्वतर्फको पर्वतहरुबाट निकै ठूलो पानीको मूल बगेर पोखरीसम्म आउँछ र यसै पोखरीलाई सभाखोलाको शिर मानिन्छ । यस पोखरीको चारैतिरबाट हेर्दा पनि लगभग बिचमा देखिने सानो ढुङ्गाको टापुमा रहेको मन्दिर जस्तो स्थलमा पूजा-आराधना गरिन्छ । सभापोखरीमा नागपञ्चमी र जनैपूर्णिमाको दिन सबैभन्दा धेरै भक्तजनहरू पुग्ने गरेका छन् । किंवदन्ती अनुसार पृथ्वीमा दैत्यहरूले गर्ने विनाश रोक्न देउताहरूले सभापोखरीमा सभा बसी योजना बनाएका थिए भन्ने कुरा सुन्न पाइन्छ ।

सभापोखरी को पुर्व पट्टी बाट लिइएको तस्विर । तस्बिरमा क्रमशः रामकृष्ण गौतम, होमराज राउत, सौरब घिमिरे, झमक श्रेष्ठ ।

यस पोखरीको अर्को आफ्नो छुट्टै पौराणिक कथा रहेको छ । हिन्दूहरूको पौराणिक कथा अनुसार, हिन्दूहरूको पवित्र धर्मग्रन्थ वेदका लेखक, व्यास नामका एक ज्ञानी तपस्वीले एउटा सभा आयोजना गरे जसमा ८४,००० ऋषि, सन्त र तपस्वी हरु भेला भएका थिए । त्यस बेलामा उनले, मानिसले आफ्नो जीवनमा कसरी शान्ति प्राप्ति गर्न सक्छ र मृत्युपछि मानिस कसरी स्वर्ग पुग्छ भन्ने बारे प्रवचन दिएका थिए । कुनै पनि मानिस यस पोखरीमा स्नान गरी शुद्ध मनले त्यहाँ भगवानको पुजा गर्दा आफ्नो इच्छा पूरा हुने कुरा मानिसहरुले विश्वास राख्दछन् । पोखरीमा स्नान गरि शुद्ध मनले पूजा गर्दा सन्तान नहुने दम्पतीको लागि समेत सन्तान सुख हुने किंवदन्ती वा धार्मिक आस्था रहि आएको छ ।

तस्बिर : सभापोखरी, संखुवासभा ।

धार्मिक दृष्टिले मात्र महत्वपूर्ण नभइ प्रकृतिप्रेमी पैदल यात्रीका लागि समेत यो पोखरी एउटा अत्यन्तै उत्कृष्ट गन्तव्यस्थल बनेको छ । स्वर्गको टुक्रा जस्तै एकदमै सुन्दर र मनोरम सभापोखरीले अघिका सबै दुःख, कष्ट बिर्साइदिन्छ । दृश्यावलोकन, साहसिक यात्रा, धार्मिक, पर्यटन, जैविक एवं भौगोलिक विविधताको खोजी गरेर कहिल्यै नथाकिने सभापोखरीको यात्रा सबैले गर्नैपर्ने पर्यटकीय स्थल हो ।

साभार : मकालु खबरबाट

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search