शिवधाराबाट धाराबाहिक : उकालीमा कृपासुर सेर्पाको ममता छपक्कै

उकालोमा पाइलाहरु टेक्दै पिच्छे हामीले पूर्व पर्यटन मन्त्री कृपासुर शेर्पालाई सम्झियौं । सेदुवा पुच्छरदेखि नै मकालु वेसक्याम्प पदमार्ग निर्माणका लागि उनी पर्यटन मन्त्री छँदा पर्यटन मन्त्रालयबाट बजेट विनियोजन गराएछन् र त्यसैले बनेका रहेछन् यी खुड्किलाहरु ।
“एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा

एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा……..भनेझैँ । भोजपुरबाट चुनाव जितेको एउटा शेर्पाको छोरो पर्यटन मन्त्री बन्दा त्यो कठिन उकालीमा कति हजारौं खुड्किलाहरु बनेछन् । समाज सेवाबाट आफ्नो करियर बनाएका शेर्पाले तुम्लिङटार विमानस्थलमा रकम अभाव हुँदा पर्यटन मन्त्रालयबाट तीन करोड रकम विनियोजन गरेको सुनेथेँ । तुम्लिङटारको गिद्धेबाट चेवाबेसी जाने मोटरबाटोलाई पनि बजेट विनियोजन गरेका रहेछन् । तत्कालीन नेकपा एमालेको तर्फबाट भोजपुरबाट उम्मेदवार भएर नेपालको पर्यटन मन्त्रीसमेत बनेका कृपासुर सेर्पाले मन्त्रीमा बहाल रहँदा सङ्खुवासभा जिल्लामा पनि थुप्रै पर्यटन विकास र यातायातको क्षैत्रमा काम गरेर राम्रै इतिहास रचेका छन् । खाने र मुखलाई जुँगाले कान्छी कहिले पो नि छेक्छ र ?
कर्मले बन्छ इतिहास कान्छी नगरी कस्ले लेख्छ र ?
कृपा ! कृपा !! कृपा !!! उकाली भरि जपिरहँे म त ।

११ बजे देउराली पुगेका हामी १२ बजे खोङ्मा पुग्यौं । देउरालीमा पुगेर ठ्याक्कै मकालु वरुण राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र छुट्टिन्छ । १५०० वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको मकालु वरुण राष्ट्रिय निकुञ्ज पनि मकालु वरुण क्षेत्रको एउटा महान् सम्पदा हो । यस निकुञ्ज भित्र अरुण नदीमा २०० प्रजातिका माछा, ४०० प्रजातिका पुतली, दुर्लभ रातोपाण्डा, हिउँभालु, कस्तुरी, हिउँचितुवा जस्ता जनावर, लोपोन्मुख काँडेभ्याकुर, डाँफे जस्ता पंछीहरु संरक्षित छन् । पाँचौले, जटामसी, कुट्की, पाषाणभेद, ठूलोओखत विष, विषुमा, सुनपाती, भैरुङपाती, सुनाखरी, धुपी जस्ता वनस्पतीय जडीबुटी पनि सुरक्षित छन् । देउरालीबाट बस्ती पट्टिको क्षेत्रलाई मध्यवर्ती क्षेत्र र हिमालय पट्टिको क्षत्रेलाई निकुञ्ज क्षेत्र भनिन्छ ।

अब उता बस्तीहरु छैनन् सहज रुपमा यात्रा सफल होस्, लेक नलागोस् भनिकन धूपदीप, फूलपाती, नैवेध अक्षताले देउरलीको पूजा हुन्छ । त्यो देउराली पूजेर एक घण्टा उकालो काटेपछि हामी ३५०० मिटरको उचाइमा रहेको खोङ्मा डाँडा पुग्यौं । खोङ्मामा हामी पुग्दा वादल थिएन, एउटा सुवेदीको होटल पुग्यौं तर त्यहाँबाट १५ मिनेट तेर्सिएपछि मात्र शेर्पाको होटल आयो हाम्रो खाना यतै तयार थियो । हामीले खाना खायौं । यी होटलहरु सिजनमा मात्र खुल्छन् । असोज कार्तिक पछाडि पूरै हिउँले छोपिन्छन् । धेरै मान्छे जाँदैनन् र अर्डर आयो भने मात्र खुल्छन् नत्र बन्द गरेर मानिसहरु घरतिरै अन्य पेशामा पनि काम गर्छन् ।

आफ्नो बगाल पछि पर्दाको मुलकेरी
खाना खाइसक्दा पनि इन्द्र गिरी, अनिष विष्ट, नरेन्द्र दाइ र रुद्र दर्जी भाइ आइपुगेनन् । साथीहरु पत्रकार मेघराजलाई लिएर अघि हिँड्नु भयो । मलाई भरत कटुवालले भन्नु भयो –
‘खै तपाईको नेतृत्व कमजोर भयो । ठूला ठूला कवि ल्याउने हल्ला गर्नुभयो भरे स्थानीय पत्रकार पनि पु¥याउनु होला जस्तो छैन । कुरा ठूला गर्ने काम चाहिँ ।’ ……।
गा.पा. प्रमुख चमेलीले सान्त्वना दिनुभयो –
‘सर ! बाटो कतै अप्ठेरो छैन । विस्तारै बिस्तारै पर्खेर ल्याउनुस है ।’

उनको अनुहारमा पनि उज्यालो त देखिएन । कार्यक्रमका लागि बजेट छुट्याइन् तर राजधानी र जिल्ला वाहिरका कवि कोही आएनन् । सबै उत्साही देखिन्थे, सल्लाह भएकै हो तर खै त । आफ्नो समूहका सबै जस्तो पछाडि रहनु, यो कार्यक्रम अलग्गै हो भनेर लविङ्ग गर्ने मान्छेले छाड्नु । ३५०० मि. को उचाइमा पुगेर म निकै दुःखें । अघिसम्म सबैभन्दा अगाडि उकालो हिडेँको म अब घरि माथि घरि तल गर्दै थकित बनेँ र यस्तो भावना फु¥यो

ए ठूला कविहरु !
जङ्गार तर्ने हिम्मत छैन भने

खोलाको गीत के लेख्छौ ?
भीर चढ्ने साहस छैन भने
हिमालको कविता के कोर्छौ ?

हिमालको हिउँ छाम्न नसक्ने
जडीबुटीका बोट चुम्न नसक्नेहरु
सिरक ओड्दै आगो ताप्दै
हिउँको कविता लेख्दा
“हिउँ तातो हुन्छ ।“बाट
कविता शुरु होला !

अहँ भावनाको खोक्रो कल्पना र
कामनाको बोक्रो सपना मात्र
कहिल्यै कविता हुन सक्दैन ।

कति हो कति लेखौं लाग्यो । गाली गरेको त होइन तर मनमा गहिरो पीडा भएसि लेखौं लेखौं लाग्यो । तीतो यथार्थ पचाउने क्षमता पनि प्रकृतिसँग जुध्न नसक्ने सँग हुँदैन भने केही छैन ! नभए साहित्य भनेको अनुभुतिको तीब्रता हो भन्ने बुझिदिए पुग्छ ।

साथीहरु आइपुगे वल्ल वल्ल खेप लाएजस्तै । केहीले छाडे अनि हामी रुद्र र म रह्यौं । अनिष अझै पछि बसेकाले इन्द्र र अनिषलाई वडाध्यक्ष टेक बहादुर राई र युवा नेता लाल बहादुर तामाङले लिएर आउँदै थिए । कृपासुर सिंढीहरु चढेर हामी चिमल घारी भित्रभित्रै उक्लिरह्यौं । चिमल गुराँसको एउटा प्रजाति हो, यो लेकाली गुराँस हो । चिमल घारीभित्र पसेपछि नै लेक अर्थात्

हाइअल्टिच्यूडका सिम्पटमहरु शरीरमा भूमरी पार्न थाल्छन् कसैकसैलाई । छोटो छोटो सास फेर्दै छाता र लौंरो टेकेर बिस्तारै उकालिँदा थकाइ लाग्दै जान्छ नै । चुइङगम चपाउँदै आकाशतिर उक्लिँदै गयौं । आजको गन्तव्य ‘दोबाटे’ पुग्नु छ । बात मार्न नसक्ने गरी सासले छाती उचालेको छ, फोक्सो फुलाएको छ । घरिघरि जिब्रो मुखभरि फैलिन्छ, नअटाएर बाहिर पनि निस्कन्छ । ३७०० मि. भन्दा माथि थियौं हामी ।

चन्द्रसूर्य झण्डा उचाल्ने महान चेली ल्हक्पालमुसँग साक्षत्कार
एउटा विदेशी युवा दुईओटा लौरोको सहायताले ओरालो झर्दै थियो । दुई भरियाहरु भेटिए, फेरि दुईजना कलिला शेर्पा किशोरीहरु बाटोमा आँखा जुधाउन आइपुगे । अनि मेरो आँखा एकजोर जुत्तामा प¥यो ।

उकालोमा जाँदा माथिबाट झरेकाहरुको पहिलो जुत्ता नै त देखिन्छ नि । ती जुत्ताबाट विस्तारै गोडाहरु अनि शरीर र अन्तमा मुहारमा हे¥यौं । आहा फराकिलो मुहार, निर्दोष नजर, उत्फुल्ल ओठ, कोमल गाला, सलक्क परेको झण्डै साँढेपाँच फुट अग्लो जीऊ । एउटा नायिका देख्यौं, हिरोइन । वीराङ्गना हुनुपर्छ पक्कै । मैले त्यति कठिन बाटोमा उनी असाध्यै सहज हिँडेको देखेर ‘नमस्कार’ भने । को हुन्, के हुन् ? थाहा थिएन तर मनभित्रैबाट उनीप्रति सम्मान भाव चुलियो । अनि सोधेँ –
‘हिमाल चढेर आउनु भयो, बैनी ?
उनी टक्क अडिएर पुरै मुहार प्रदीप्त आभाले चम्काउँदै भनिन् –
‘हजूर, बेसक्याम्पबाट आएको नि ।’
रुद्रजीले थप्नु भयो – ‘उहाँ सफल पर्वतारोही नारी ।’
अनि उनी र हामी अलग्गियौं । तर उनको त्यो व्यक्तित्व, छवि आँखाबाट पटक्कै अलग्गिन मानेन ।
मैले रुद्रजीलाई सोधे –
‘हैन रुद्रजी ! उहाँले कुन कुन हिमाल चढेको ?”
रुद्रले भन्नु भयो – ‘९ पटक सम्म सगरमाथाको सफल आरोहण गरेको नि तारा दाई ।’
अहो ! मनभरि गौरवको सगरमाथा चुलिएर आयो
तनभरि उत्साहको सागर छल्किएर आयो । अनि सोधेँ –
“उनी कहाँकी रुद्र भाइ ?”
“उनी यही मकालुकी लाक्पा ल्हमु शेर्पा नि ! हौ दाइ ।”
सुनेको थिएँ । देखेको थिइन । अब मलाई उनीमाथि अपनत्व पनि भयो । मेरो जिल्लाको चेली, मेरो मकालुकी चेली ।

चढेर ओर्लिन नसकेकी, बाटैमा स्वर्गवास भएकी पासाङ्गल्हमु चाहिँ राष्ट्रिय विभूति हुने ९ पटक सफल आरोहण गर्ने हाम्री वहिनी केही नहुने ? पासाङ ल्हमु ‘आरोहण शहीद’ हुन् । विभूति त हाम्रो लाक्पा लमु पो त । यी अग्ली, शान्त, स्निग्ध, सौम्य सहासी मेरी वहिनी ‘ल्हाक्पा ल्हमु’ हिमालकी छोरी, देशकी विभूति । वाह ! ‘ल्हाक्पा ल्हमु’ वाह ! म डाँडामा उक्लेर “हुर्रे….” गर्दै झरीमा छाता मारेर चिच्याएँ । ल्हाक्पा सँगको जम्काभेटले एक स्टेप उकालो काट्न उर्जा प्राप्त भइसकेको थियो । अब भने बाटोका दायाँ बायाँ चिमलका रुखहरु होचा बन्दै गए र भैरुङ पाती मसमस गन्ध छाडेर चिमलजति नै अग्लो हुन खोज्दै थिए । मैले तेर्सोमा सोचँे –

‘प्यारी वहिनी ल्हाक्पा !
हिमाल तिमीसँग हारेछ,
तिमीले संसार जित्यौं,
त्यो पनि पटक पटक
आकाशको नजिकै चुचुरो टेक्यौ
तिमीले अग्लो ठाउँबाट
सग्लो शहर र गाउँहरु देख्यौ,
संसारको मानेहरुमा,
नेपल र बुद्धको नाम लेख्यौ है

त्यसैले
अब तिम्रो इतिहास पनि
साहसकी खानी र
झरनाको पानीको जस्तै
झाँसीको रानीको जस्तै
बनाइदिउँला
टासीदेले ल !’

मनमनै “टसीदिले” त भनेँ तर ह्लक्पा धेरै तल पुगेकी थिइन्
माने पेमे हुँ

हामी माथि घुङ्घरलाको मानेबाट तेर्सिइसकेका थियौं । मैले ‘मनै त हो’ शिर्षकमा लेखेको त्यसै होइन नि !
कहिले झमझम झरी भइदिन्छ मन,
कहिले रमरम परी भइदिन्छ
कहिले सुनाखरी भइदिन्छ मन !
कहिले रानीचरी भइदिन्छ त
कहिले कमलपोखरी भइदिन्छ मन ।
एकदिन मर्ने पक्का छँदाछदै
विन्दास, अलमस्त अजम्मरी
भइदिन्छ मन !
मन मनै त हो आखिर अलिकति तेर्सो आए पनि उकालो काट्नु त छँदै थियो । डाँडाकाँडा हुस्सुले छोपेर परेको झरी, छाताले तर्काउन नसकेको चिसो पानीका धर्सा जीउभरि । चिसोले बढाएको भोक र उकालोले बढाएको थकाइ । अगाडि उभिएको अग्लो भिर । रुद्रजी र म दोक्लैको हिडाँइ । थाकेका देखिन्छन् रुद्र पनि । म कस्तो देखिन्छु दर्पण नभएकोले छाँया हेर्न पाइन । डाँडो काटेपछि ‘माने’ आयो । ‘माने’ भोटे, शेर्पाहरुले बनाएको स्मारक हुन् । बुद्ध धर्मावलम्बीहरुको पद्यमसंभव, रिम्पोचे आदि लामा गुरुहरुको प्रतिकृति चिल्ला ढुङ्गामा कुँदेर लहरै राख्छन् । ‘ओम माने पेमे हुँ ।’ जस्तो पावन मन्त्र कुदेर लेख्छन् ।

ढुङ्गाभरि लोककल्याणकारी वाक्य र शब्दहरु लेखेको हुन्छ । माने प्राय ः डाँडामा बनाइन्छ । आफ्ना मृतक पितापुर्खाको संझनामा बनाइने यो माने चौतारको रुपमा पनि हुन्छ । भित्तामा चौतारा हुन्छ र विचमा माने । माने बौद्ध धर्म, हिमाली साँस्कृति र लामा परम्पराको असाध्यै महत्वपूर्ण स्मारक हो । धार्मिक, ऐतिहासिक, सामाजिक र साँस्कृतिक सम्पदा हो । विरासत पनि हो । “ओम माने पेमे हुँ ।”लेखेको ‘माने’ सम्पदाको प्रतीक हो । ध्वजामा, लिङ्गोमा, ढुङ्गोमा जताततै कला, साहित्य, साँस्कृति, लिपी, भाषा, जीवन्त हुन्छ, महान हिमाली सँस्कृतिका छायाँछवि प्रतिविम्बित हुन्छन् ।
क्रमश :…..

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search