अब सानो पोखरी देखा प¥यो । बादलले छोपेको सानो पोखरी एकैछिनमा वादल खुलेर छयाङ्ग भयो । रुद्र जी ‘आहा !’ भन्दै खुशीले उज्याला भए । “पोखरी छ र पो जलचर छ । वनस्पति हरियो हुन्छ । चीसो बतास चल्छ पोखरी छ र वादल छ, हामी छौँ हगि दाई !”
रुद्रले नयाँ तरिकाले सानो पोखरीको स्तुति गरे । दर्जीका छोरा भए पनि रुद्र व्राम्हणहरु सरह सादगी भोजन गर्छन् । योगा गर्छन् । भगवानलाई असाध्यै मान्छन् । उनी त जिविल्काको पानीले हातमुख धोएर आँखा चिम्म गर्दै हात जोडेर पोखरीको ध्यानमा लीन पो भएछन् । हिन्दु दर्शनको शास्त्रले भन्छ नि – “जन्मना जायते शुद्र : कर्मणा द्विज उच्यते ।”
मैले पनि सुनपाती चढाएर देउरालीलाई ढोगेँ । मोवाइलबाट सानो पोखरीको तस्वीर खिँच्ने प्रयत्न गर्न थालेँ । कतै झमक्क हुने पो हो कि ? हामी यात्राभरिकै खतरनाक ‘ठूलो डाँडा’ तर्फ लम्कियौं ।
घडीले त ५ः३० बजाइसकेको थियो । सानो पोखरीबाट ठूलोडाँडा नजीकै होला भन्थ्यौं । नजीकै जस्तो पनि देखिन्छ त्यहाँबाट । हिडँ्दा हिडँ्दा भइसक्यो, मान्छेको सासै रोक्न खोज्ने कुख्यात ठूलो डाँडा आउँदै आएन । ठूलो डाँडा ठूलो, पोखरी अनि खिखिला डाँडा कटेर धेरै तल दोबाटे बास बस्न पुग्ने साहस हामीमा टुटिसकेको थियो । बाटामा एकजना शेर्पा भाइ फटाफट हिन्दै हामीलाई उछिनेर अघि बढे । हामीले उनलाई सोध्यौं –‘भाइ ठूलो डाँडा वरपर कतै बास बस्ने ठाउँ पाइन्छ होला ?”
उनले उभिएर हामीतिर हेर्दै भने –
“ठूलो डाँडै नेर एउटा होटल छ ।”
हामीमा खुब ठूलो साहस आयो । रुद्रजीले अर्को प्रश्न गर्नु भयो – “ठूलो डाँडा कति टाढा छ ?”
शेर्पा भाइले अर्को खुड्किलोमा उभिएर भने –“हिन्दा हिन्दा झारपात केही नभएको डाँडा आउँछ, त्यही हो ठूलो डाँडा । त्यहाँ त ढुङ्गा उडाउन,े मान्छे उडाउने हावा पो चल्छ त ।” उनी फटाफट हिँडे । हामी पनि फटाफट हिड्ने कोशीस ग¥यौं तर ती भाइ त ओझेल भए । हाम्रा पाइलाहरु अब ‘खुड्किला उक्लिन्छस् ?” भन्दा – “नाइँ !” भन्ने भइसकेका रहेछन् । सानो पोखरी झन्झन् सानो हुँदै पहाडको काखमा निदायो, विलायो । धूपी र भैरुङपातीका पोथ्राहरु पातलिन थाले । दाँया बाँया अग्ला अग्ला चट्टानका चुलीहरु हामी तिर हेरेर खिस्स हाँस्तै– ‘के हिडाइँ हौ साथी हो ? यसरी ठूलो डाँडा कतिखेर पुगौला ?’ भन्दै सोधे झै गर्न थाले । हामी लम्किरह्यौं । न कुनै होटल देखियो न ठूलो डाँडा नै । वल्ल तल्ल कुनै प्रकारका वनस्पति नभएका काला पत्थरहरु जथाभावी फिँजिएर थुप्रिएको ठाउँ आयो । रुप त राम्रो होइन तर नयाँ भएकोले मन त तानिहाल्ने । झण्डै सात बजेतिर झमझम झरी छानाभरि थापेर पनि धुरीबाट धुवाँ निकालेर एउटा सानो छाप्रो उभिएको देख्यौं । छाता मारेर हामी त्यतैतिर लाग्यौं ठूलो डाँडा यही थियो कि आउन बाँकी नै थियो । हाम्रो लागि यो ठाउँ नयाँ त थियो नै यो ठाउँको लागि पनि त हामी नयाँ थियौँ ।
बास बस्न त पाइन्छः सास फेर्न पो पाइँदैन कि ?
यस्सो ढोकाबाट मुन्टो छिराएर भित्र चियाउँदै हामीले हे¥यौं । सबै मान्छे ओछ्यान, ओछ्यानमा सिरकभित्र गुटुमुटु छन् । एउटी घुर्मैलो लुगा लगाएकी गहिरो रङ्की सुन्दर युवती भने आगोको छेउमा उभिएकी रहिछिन् । हामीले सोध्यौं –‘बास बस्न सकिन्छ ?’ यति सोध्दा नसोध्दा हामीले भिजेका झोला बिसाइसकेका थियौं । बहिनीले हतारहतार थर्मसबाट दुईओटा मगमा चिया खन्याएर दिँदै भनिन् –
“बास बस्न त पाइन्छ तर सास फेर्न पो गाहारो होला कि !”‘किन र !’ आश्चर्य प्रकट ग¥यौं ।‘यो ठूलो डाँडा हो । यहाँ राती आँधी हुरी चल्यो भने सास फेर्ने हावा पाइन्न । राती नै नयाँ मान्छेहरु त मर्न पनि सक्छ । नभए पनि भोलि विहान त विरामी भै जान्छ ।’
उनले वेली विस्तार लगाउँदा सम्म हामीले दुई चुस्की तातो पानी घुट्क्याइसकेका थियौं । हामीमा जे होला भन्ने आँट पलाइ सकेको थियो । तै एक पटक सोध्यौं –
‘अब दोबाटे पुग्न कति छ ?
“ दुई घन्टा जति । ”उनले हलुकै उत्तर दिइन् । हामीले घडी हे¥यौँ ,साढे ५ त यतै बजिसकेको थियो । उनले फेरि थपिन् ”४० जना जति त दुइघन्टा अघि नै गइसक्यो ।”अब भने ठूलो डाँडाको सानो छाप्रोमा बास बस्नु हाम्रो आवश्यकता ,बाध्यता र निर्णय सबै भएको थियो । ओछ्यानमा सुतेकाहरुले सिरकबाट मुख देखाएर त्यहीँ बस्न अह्राए । हामी सिरक मागेर ओडेर बस्यौं । स्लिपिङ्ग ब्याग भारीमा चढेर दोबाटे तिर झर्दै थिए होलान् । इन्द्र गिरी, अनिष विष्ट, लालव. तामाङ र वडाध्यक्ष टेकबहादुर राई पनि त्यतै छिर्नु भयो । हामी ६ जना मनुवाहरु त्यो रात ४२०८ मि. अग्लो वनस्पतिविहीन नाङ्गो ठूलो डाँडामा बास बस्यौं । मर्नुबाच्नु शिव बाबाको इच्छा । जीवनमै पहिलो पटक यति उचाइमा रात बिताएको चाहिँ होइन । गतवर्ष समृद्धिको स्वरहरुकै पहिलो सृङ्खलामा ४२३७ मि. अग्लो सभापोखरीको पाटीमा रात बिताएको थिएँ । पोखरीको छेउ र केही झारपात भएकोले सभापोखरीमा त्यति कठिन लागेको थिएन तर यो नाङ्गो डाँडामा राती धेरैपटक सास फेर्न असहज भएर ब्युझ्यिौं हामी । जे होस उज्यालो भयो । एकार्कालाई हेर्दा आँखाहरु सुन्निएर डम्मडम्म सुन्निएका थिए ।
‘लुखास्त’ भनेर सातु र तातोपानी स्वाट्टै पारेर हामी ठूलो डाँडाबाट घामको झुल्कोमै खिङ्खिलातर्फ लाग्यौं । घाम तात्दै गयो, हाम्रो सुन्निएको पनि घट्तै गयो ।
‘धन्य !’ हामीलाई जान्नेसुन्ने जति जम्मैले ठूलोडाँडामा ५ मिनेट पनि नउभिनू । त्यहाँ बास बस्तै नबस्नू । ” भनेका थिए तर हामीले १२ घण्टा ठूलो डाँडामा बितायाँै तर बाच्यौं र त विहान ८ बजेतिर नै ठुलो पोखरीको दर्शन गर्न पायौं त । विहान घामको झुल्कोमा दाँया सानो पोखरी बायाँ ठूलो पोखरी को बिचमा पर्ने ठूलो डाँडाम बसेर मैले कविता लेखेँ ।
लङगुर भित्रकी जलरानी : ठूलो पोखरी कि गणेश पोखरी ?
ठूलो पोखरी करीब करीब ठूलै हो । लङ्गुरहरुको बिचमा ठूलो डाँडा तिर पिठ फर्काएर सुँड, पाउ र पुच्छर खिखिलातिर फर्काएर सुतेको हात्ती जस्तै आकृति रहेछ । भन्नेहरुले हात्ती पौडिएको पोखरी पनि भन्छन् । नपत्याऊँ भने जताबाट हेरे नि ठ्याक्कै हात्ती जस्तै छ, पत्याउँ भने त्यत्रो अग्लो पहाड, पर्वत, हिमालय पार गरेको विशाल हात्ती त्यहाँ पौडी खेल्न कसरी पुग्यो त ? हात्ती सुत्न सक्दैन नि । तथपि त्यति विशाल पोखरीको सुँड भएतिरै एउटा ढुङ्गामा ठ्याक्कै हात्तीको जस्तै आँखा छ । मान्छेले यो आँखामा सिन्दुर गाजल गरेर पूजा गर्दा रहेछन् । ढुङ्गामा भएको आँखा र पानीको तालको आकृतिले भने हात्ती पोखरी भन्न वाध्य बनाउछ नै । मैले भने शिवजीको दर्शन गर्न जाने बाटोमा ठूलो डाँडा कटेपछि आउने यो पोखरीलाई ‘गणेश पोखरी’ नाम राख्नु उपयुक्त ठाने । विध्नवाधा नआओस भनी कठिन यात्राको प्रारंभमा पुजिने यो पोखरी आह ा! तिलस्मी दन्त्य कथाहरुमा राक्षस र राजकुमारहरु डुबेर भित्रभित्रै अर्को लोक जाने पोखरी जस्तो । अकल्पनीय सौन्दर्य र गहिराइ भएको असाध्य सफा पानी । सभापोखरी भन्दा ठूलो हो वा सभापोखरी जत्रै हो । सँगै भएमात्र तुलना गर्न सकिने ।
खिँखिला मुनि दोबाटे :
सानो पोखरीबाट ठूलो डाँडा निस्कनु र ठूलो पोखरीबाट खिखिला डाँडा निस्कनु उस्तै । उचाइ त ठूलो डाँडा बराबर होला तर अझै हिमाल नजीक तिर पर्ने यो डाँडामा लेक लाग्ने संभावना अझै बढी । चौतारो छ, माने छ । त्यहाँ तातो पानी र बिस्कुट खाइयो । साथीहरुले नदेख्ने गरी अनुहारमा सातु दलेर त्यहाँबाट ओरालिन शुरु ग¥यौं । खिँखिलाका हरिया पाखाहरुमा भेडा चरेको रतिा उस्ते मनमोहक थियो ।
वडाध्यक्ष टेकबहादुर राईज्यूको सालीन कुराकानी सँगै चिमल र सुनपातीको घारी विचबाट कृपासुर खुड्किलाहरुमा टेक्दै और्लँदा लगभग १० बजे दोवाटेको होटलमा झोला बिसाउन पुग्यौं । हेदाङ्नाको वाक्लेक सिरान गुराँसेबाट आउँदा बाटो मिसिने ठाउँ भएकोले यस ठाउँलाई दोबाटे भनेका रहेछन् । ३८६२ मि. उचाइमा रहेको यो होटल उनै छोपेल अर्थात् काइँला शेर्पाको भिनाजुको रहेछ । हामी ६ जनालाई असाध्यै मिठो गरी खाना, पानी खुवाए उनले । अनि हामी ११ः०० बजेतिर मुम्बुक तर्फ ओरालियौं । घोचा गाडेजस्तै
बरुणको छाल : ठूलो पहिरोको कमाल
माथि ओह्रालाहरु त कति कति बल्ल ३६३५ मि. उचाइको मुम्बुकमा हाम्रा पाइलाले स्पर्श गरे । त्यसपछि बरुणको छालले मुम्बुकको भित्तो हानेको देखियो । शायद वरुणमा दूधपोखरी नै वगिरहेको छ झँै गरेर सेतो पानी । केही तेर्सिएपछि जाँते ओडार आयो । जाँतो जस्तै आकृतिको यो ओडारमा पनि २–४ जना मानिसहरु सुत्न हुने आभानो ठाउँ छ । पहिले पहिले मान्छे यो ओडारमा बास बस्थे रे ! जाँते ओडार परि देउराली छ । अब ठूलो पहिरो शुरु हुन्छ । पहिरोमा हिन्दा कुनै वाधा नपरोस् भनेर जमीनको पूजा गर्दा गर्दै त्यो देउराली बन्न पुगेछ । मान्छे डाँडादेखि लडिन्छ कि भनेर डरायो देउराली बनायो, ताल देखि डुविन्छ कि भनेर डरायो देउराली बनायो । नदीदेखि, हावादेखि डरायो, देउराली पूज्यो । पहिरोबाट डरायो देउराली पूज्यो । आस्थाको पूजाआजाको, देवताको, सत्कर्मको जन्म नै डर अर्थात् भयबाट भएको साँच्चै हो कि ! मलाई हङकङका देश सुब्बा, असामका रण काफ्लेहरुले प्रतिपादन गरेको ‘भयवाद’ दर्शनको वाक्लै याद आयो यतिबेला ।
पहिरो करीब नदीभन्दा २०० मि. माथिबाट झरेको होला । नदीबाट कतै पाँचमिटर त कतै १० मिटर मास्तिरबाट छ पहिरो भित्र हामी हिड्ने बाटो । मास्तिरबाट एउटा ढुङ्गा झरेर छ्यास्स छोयो भने उर्लिदो हिमनदीमा मिसाइ नै दिन्छ । अलि वर–पर भएर हिँड्नुपर्ने, अलि मास्तिर याद गर्दै हिँड्नु पर्ने, निर्देशनहरु त प्राप्त भइरहन्छन् । यस्तो पहिरो करीब पाँच किलोमिटर जति लामो होला । जम्मै पार गर्नुपर्ने हुन्छ । पानी पर्दा त ढुङ्गा झरि नै रहन्छन् । शायद ८/१० वर्ष अघि झरेको होला यो पहिरो । तर ५० बर्ष अघि पनि थियो रे यो पहिरो त । के को सत्यले थाम्छ वा भगवान शिवपार्वतीकै वरदानले बचाउँछ । यति खतरनाक यति लामो पहिरो पार गर्दा कतै एउटा ढुङ्गा पनि हल्लिएन । आकाशबाट थोपो पानी पनि छिटाएन । हाम्रो मात्र सवाल होइन, कुनैपनि यात्री आजतक ठूलो पहिरोमा दुर्घटन ग्रस्त भएर घाइते वा मृतक बनेको समाचार सुनिएको छैन । ठूलो पहिरो एउटा महान खतारा र महान सत्यको जादुमय भूमि हो । पहिरो माथि अनेक प्रजातिका इन्द्रेनीमय फूलहरुको दृश्यावली अझ आनन्ददायी लाग्छन् ।
क्रमश :…….