ठूलो पहिरो छिचोलेर अगाडि बढेपछि फेमाताङ भन्ने ठाउँ आउँछ । ३४८३ मि. उचाइमा रहेको यो फेमाताङमा एउटा लामो एकतले घर छ । मास्तिरबाट पहिरो नझर्ने उँधोबाट नदीले नतान्ने वलियो ठाउँ रहेछ यो । बास बस्ने विछ्यौनाहरु यहाँ छैनन् तर तातो पानी, चाउचाउ अर्थात् नास्ताको लागि मात्र यहाँ सामग्री उपलब्ध छन् । झण्डै १० रोपनी जति सम्म परेको फेमाताङ्मा बनेको त्यो घरको छानो मुनिबाट काठका ठूलाठूला चिर्पटहरु त्यसमाथि प्लष्टिक वा जस्ता, त्यसमाथि वाक्लो गरी माटो छापेको र सतहमा थुप्रै प्राजितका वनस्पतिहरु उम्रेका फूलेका छन् । अधिकांश समय हिउँ पर्ने भएकोले जस्तामाथि प्लाष्टिक छापेर प्लाष्टिकमाथि माटो हालिएको वडाध्यक्षले बताए । शेर्पा बैनीले हामीलाई भन्दै थिइन् –‘राती वरुण नदीले ठूला–ठूला ढुङ्गा मुडा बागएर ल्याउँछ र ढुङ्गाहरुमा ठोकाउँछ । ड्याङ ड्याङ आवाज आउँछ, जमीनमा कम्प दिन्छ, सुत्न दिदँैन । पारिपट्टिबाट पहिरो झरेर पनि शान्ति भङ्ग गर्छ ।’
फेमाताङ्मा छोपेल ‘काइँला’ की दिदीको यो कहानी सुनेसँगै तातोपानीमा सातु घोलेर पियौं र उठेर वरुण नदीको किनारै किनार अघि बढ्यौं झण्डै १० मिनेट हिँडेपछि वरुण नदी तर्नु पर्दो रहेछ । एउटा काठे पुल वरुणको पानीले उधोबाट छल्केर छोए जस्तै देखिने । लचक्कै, ङ्याच्चै परेको । एकैचोटी एकजना भन्दा बढी त¥यो भने भाँचिएला झैँ लाग्ने । हामी एक एक गरेर त¥यौं । नेपाल सरकारको तुइन हटाउने र झोलुङ्गे पुल बनाउने योजना यहाँ किन आइपुगेन ? अझै कति नदी र खोलाहरुमा यस्ता काठे पुल माथि ज्यान हत्केलामा राखेर चढ्दो हो,तर्दो हो नेपाली ? हाम्रा जन निर्वाचित प्रतिनिधि सभा सदस्य पनि आउनु भएको छ, कम्तीमा यति एउटा पुलको निर्माण भयो भने पनि मकालु साहित्य समाजले उहाँलाई प्रमुख अतिथि बनाएको सार्थक हुने थियो । हामी तरेर छ्याम्केसा पुग्यौं । सुनपाती, धूप, चिमल र अन्य लेकाली बनस्पतिहरु उसरी नै जमीन ढाकेर उम्रेका छन् । ठाउँठाउँ खोला, ठाउँठाउँ बगर, ठाउँठाउँ बाँझो चहुर पार गरेर हिड्न पर्छ । छ्याम्केसामा भोटखोला पट्टिबाट आउने बाटो मिसिँदो रहेछ ।
केही बेरपछि गारासिया पुगियो । छ्याम्केसा र गारासियाको विचमा एउटा ठाडो खोला छ । पानी नपर्दा जुत्ता नफुकाली तर्न सकिन्छ । सिमसिम पानी परेको हुँदा हामीले वहुत मुस्किलले त¥यौं यो खोला । एकपटक खुट्टा चिप्लिने वित्तिकै वरुणमा मिसाउने यी ठाडा खोलाहरु ‘नपात्याउने खोलाले बगाउँछ ।’ भन्ने उखान चरितार्थ गर्ने चरित्रका हुन्छन् । प्रत्येक पाइलामा उचाइ र चीसो थपिदै जाने यो यात्रामा हामी गारासिया पुगेर पुनः सातु र तातोपानी खायौं र पुनः अघि बढ्यौं । धेरै पर छैन एकछिनमा पुगिन्छ भनेका ठाउँहरु पनि हिड्दा हिड्दा घण्टौँ लाग्छ । नदी तरेर झण्डै डेढ घण्टा हिडेपछि हामी ‘याङले खर्क’ बास बस्न पुग्यौं ।
याङले त साङ्ग्रलिा नै रहेछ
३६०० मि. उचाइमा रहेको याङ्ले खर्कमा खोङ्माबाट अघि बढेका साथीहरु पुगिसकेका रहेछन् । हामीले झोला बिसाउँदा राम्रा कोठा र ओछ्यानहरु यसअघि नै गएकाहरुले ओगटेका । खाँदबारी नगरपालिका–३, चेवा गाउँका दश जना जतिको समूह पनि यहीँ बसेछ । झण्डै पचास जना भएपछि ठाउँ अभाव त हुने नै भयो । केही युवा आगोको वरिपरि झुरुम्म भएका थिए । माननीयज्यू लगायत केही प्रौढहरु सुतेर सिरकको न्यानो भित्र आनन्द लिइरहेका थिए । वरिपरि आँखा डुलाएर हेर्दा परबाट बग्दै सलल झरेको वरुण नदी यसको किनारमा फाँटिलो एउटा टार, टारमा बनेको मन्दिर, अनि एक दुई छाप्रीहरु । मलाइ त कालीगण्डकी र रीडी खोला बिचको रुरुक्षेत्र(मृगस्थली) जस्तै लाग्यो । मृगस्थली लाई नेपालको बनारस भन्छन् । याङ्ले पनि चारधाम जस्तै त छ ।
नदी पारि अग्ला अग्ला हिमालका चुलीहरु सेतै फुल्ने याम हिउँद पर्खेर ठिङ्ग उभिएका छन् । नदी बगेर आएपट्टि हेर्दै जाँदा पर्वत सृङ्खला एकपछि अर्को तँ भन्दा म अग्लो भनेझैँ तँछाड मछाड गरेर आकाश चुम्ने स्पर्धामा उत्रिएका । कताकतै हिउँका धर्साहरु पनि छन् । कालो सेतो छिर्केमिर्के । ‘हिउँदमा त यी जम्मै पर्वतहरु सेताम्य हुन्छन् सर !’ वडाध्यक्ष ज्यू औंलाले देखाएर भन्दै हुनुन्थ्यो ।
याङ्ले खर्कमा घाँटीमा घन्टी बजाएर चौरीका याक र नाकहरु चरिरहेका हुँदा रहेछन् । (चौँरीको भालेलाई याक र पोथीलाई नाक भन्छन् ।) घरि हुस्सु कुइरो लाग्ने, घरि फुस्स पानी फुस्फुसाउने ,त घरि झुलुक्क घाम पनि लाग्ने घाम, सिमसिमे पानी र कुहिरोले लुकीचोरी माया लाएजस्तो देखिने यो ठाउँ । बरुण नदी र चुचुराहरुले हामीसँग….
हिमलचुली पल्लोपट्टि छङछङ गर्ने खोला ,
लुकीचोरी लाको माया नभन्दिनु होला ।… भनिरहेजस्तो ।
नभन्ने त कुरै आएन । यति चोखो पिरतीको कथा । जुनसुकै मौसममा पनि कान हल्लाउँदै, पुच्छर डोलाउँदै विन्दास चर्ने चौंरी यस खर्कको छुट्टै रमिता रहेछ । ‘याङले खर्क’ को अर्थ नै चौंरी खर्क नै पो हो कि जस्तो लाग्यो । अरु घरपालुवा जनावर त जाडो खप्न सके पो चरुन् । बरु भेडा भने यहाँको जाडोमा रमाउन सक्छ तर भेडा त देखिएन । चराचुरुङ्गीहरु पनि उत्ति नदेखिने । जुका, लामखुट्टे, भुसुना सब प्राणीहरु यो जाडोमा टिक्नै नसक्ने नि । फिटिक्कै देखिएनन् ।
वडाध्यक्ष ज्यू देखाउँदै जानु भो, हामी हेर्दै गयौं । हेर्दा हेर्दै ठीक उत्तर पश्चिमको पर्वतको विचमा २ ओटा अचम्मको ओडार जस्तो दृश्यले मन लोभ्यायो ।
हामी उभिए भन्दा ५ कि.मि. जति अगाडि बढेर झण्डै २०० मिटर जति उक्लिँदो पुगिएला जस्तै ठाउँमा दुई गुफा प्रष्ट देखिए । ‘उ त्यो यताको शिवधारा हो । दाहिनेपट्टिको पार्वती गुफा ।’ वडाध्यक्षको सहजीकरण सान्दर्भिक थियो । औंला अझै दायाँपट्टि तेस्र्याएर उहाँले भन्नु भयो– ‘त्यो चाहिँ आमाभुजुङ् । हिन्दु शास्त्रमा मेनका पर्वत भन्छन् । पार्वतीलाई पेटमा बोकेको पहाड हेर्नुस त !’ रामराम होइन भन्ने ताकत त अइन्स्टाइन,डार्विन, ग्यलिलियो, न्यूटन र जिसस क्राइस्टसँग पनि नहोला शायद । पर्वत श्रृङ्खला र भूबनोटले चित्र आफै बोले झैँ बोलिरहेका थिए । आमाभुजुङ पारिपट्टि भने हिउँ– हिउँले छोपेको चाँदी झैँ शिखर देखियो त्यो भन्दा अझ पछाडिबाट चुलिएको पर्वत चाहिँ मकालु रे ! आकाशसँग बात मारिरहेजस्तै । ८४६३ मि. अग्लो विश्वको पाँचौं शिखर मकालु ।
पर्वत श्रृङ्खला तिनका अकृति पुराणमा लेखेका कथा जस्तै गरी बनेका छन् । महादेवले सतीदेवीको मृतदेह प्रेमविह्वल बन्दै बोकेर संसार घुमिसक्दा सतिदेवीको समस्त अङ्ग पतन भएको, कैलास पर्वतमा गएर तपस्यामा लीन भएका, सतीदेवी मेनकाको गर्भमा बसेर पर्वत पुत्री पार्वती भै जन्मिएकी, पछि महादेवले विहे गर्न खोज्दा पार्वतीलाई गुफाभित्र लुकाएको, गणेश जन्मिएपछि महादेव र पार्वतीको विचमा बसेका यी जम्मै कथा प्रसङ्ग र यहाँका पर्वत श्रृङ्खलाका व्यवस्थित क्रम कही कतै फरक खाँदैन । हेर्दै गयौं, मनभरि यी तर्कनाहरु आइ नै रहे । लाग्यो – आहा ! यदि कैलास पर्वत भन्ने कुरा, शिव, पार्वती, मेनका भन्ने कुरा कहीँ छ नै भने यही वरुण भ्याल्लीको पर्वतमाला नै हो । मकालु आधारशिविरमा भएको दुधपोखरी र वरुण पोखरी मानसरोबर नै हो भन्ने निश्कर्षमा पुगियो । याङलेबाट बायाँ फर्केर बरण पारि आँखा उचाल्दै जाँदा एउटा प्राकृतिक शिवलिङ्ग पनि देखियो । हुस्सूको हल्का फुसफुसाहट सँगै लगभग स्पष्ट देखिने शिवलिङ्ग शिवरात्रीमा पशुपति क्षेत्रमा देखिने नाङ्गा बाबा जति निर्लज्ज चाहिँ बेलुकीपख पनि लागेन ।
साङ्ग्रिलामा वाङमय र कलाको निर्झर झरना झर्झराएरै छाड्यो
आज समय केही बाँकी भएकोले झण्डै डेडघन्टा जति समय वाङ्मय– साँस्कृतिक कार्यक्रम ग¥यौं । मकालु साहित्यिक समाजको आयोजनामा कलाकार हरि दाहालबाट शिवभजन प्रस्तुत भयो । बाजा गाजाको साथमा प्रस्तुत यो भजनमा तीर्थालु भक्तजनहरु दुःख कष्ट भुलेर छमछम नाचे । माननीय राजेन्द्र प्रसाद गौतमको प्रमुख आतिथ्यमा भएको यो कार्यक्रममा मकालु गाउँपालिका प्रमुख चमेली राई, वडाध्यक्ष टेकबहादुर राई विशिष्ट अतिथिका रुपमा रोमान्चपूर्वक सहभागी हुनुभयो । मानव वस्ती नै नभएको यो ठाउँमा ६० जना जातिको उपस्थितिमा वाङ्मय गोष्ठी चल्यो । कार्यक्रममा कवि कृष्ण जिमी, ‘भरत’, कवि नवराज कार्की, कवि नरेन्द्र बहादुर बुढाथोकी, कवि राजेन्द्र थापा, कवि ताराबहादुर बुढाथोकी र कवि एवं वातावरण विद् अजय श्रेष्ठहरुले कविता बाचन गरे । मकालु साहित्य समाजका कोषाध्यक्ष रुद्र दर्जीको बाँसुरीले सुतेकाहरुलाई पनि उठायो । माननीय, गाउापालिका प्रमुख र वडाध्यक्षहरुका शुभकामना मन्तव्यले उपस्थित समुदायमा उर्जा प्रदान ग¥यो । पत्रकार इन्द्र गिरी, मेघराज तामाङ र पत्रकार अनिष विष्ट गरी तीनजना मिडिया कर्मीको उपस्थितिमा त्यहाँ साहित्य गोष्ठी हुनु बहुत ऐतिहासिक हुन्छ । कहिलेकाहीँ राजधानीकै गोष्ठीहरुमा पनि २०–३० जना मान्छे र पत्रकारको उपस्थिति शुन्य भएको देखिएको छ । दुर्गम पहाडी जिल्ला सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट चारदिन लगातार हिँडेर वल्ल पुगिने सुदुर उत्तरको याङ्ले खर्कमा कवि गोष्ठी सम्पन्न भयो ।
त्यो साँझ सङ्गीतमय रह्यो । खाना खानु अघि र खाएपछि समेत गरी तीन घण्टा सम्म नाचगान चल्यो । पालिका प्रमुख ज्यू ,वडाध्यक्ष ज्यू, माननीयज्यू लगायत जम्मै सहभागीहरु सारा थकाइ भूलेर छमछम नाचे । म मात्र पनि डेडघण्टा लगातार नाचेँ । यो कार्यक्रम एउटै होइन भन्ने एकदुई सहभागी पनि घरिभरि थपडी बजाउँदै हाइहुइ गर्दै गरेका देखिन्थे । ठूलो हल, बिचमा चिम्नी सहितको चुलोमा आगोको तातो, वरिपरि बस्ने बेन्च र टेबुलहरु । दश बजेसम्म कोही पनि सुतेन । आगोको न्यानो र नाचको मनोरञ्जनले तानिरह्यो सबैलाई । हाम्रो व्यानरको चरम सफलता शिवधाराको आधार शिविर याङ्लेमै प्राप्त भयो । घरि–घरि दोहोरी गीतले पनि वातावरणलाई मधुर मधुर बनाउँदै थियो ।
मनमुटु नै शिवमय
बिहान सबेरै उठेर नुहायौं । आज घरबाट हिँडेको पाँचौं दिन । शिवधारा र पार्वती गुफाको दर्शन गर्न पाइने दिन । न्यास ,ध्यान गरेपछि खास केही भोज्यवस्तु ग्रहण नगरिकन हाम्रो समूह अघि बढ्यो । आज त ५०–६० जना सँगैसँगै हिँड्यौं । फेरि वरुणको किनारै किनार । बेसक्याम्प जानेहरुले सोही अनुसार सामान लिएर गए । नजानेहरु पूजा प्रसाद र भेटीमात्र बोकेर हिँडे । बरुनमा बगेको सेतो पानीले माझेका सेता बगरमा कुल्चदै केवल शिव भोले, शम्भो, शिवधारा यस्तै प्रसङ्गका कुराकानी गर्दै हामी नदीको विपरित दिशामा बगिरह्यौं । वरुण नदी पाएजति खोला खोल्सी आफूमा समाहित गरेर हिमालबाट समुद्र तर्फ बग्दै थियो, हामी भेटेजति तीर्थालुहरु समेटिदै, समाहित हुँदै समुद्रबाट हिमालय तिर बग्दै थियौं ।
झण्डै डेढ घण्टा उकिलएपछि वरुणलाई फेरि तर्नु प¥यो काठे पुलबाट । उसरी नै हल्लियो काठेपुल । पारि तर्नासाथ नेहखर्क आइपुग्यो । अहिले विहानको ७ः०० बजेको हुँदो हो । जम्मै एउटा गोठजस्तो घर भएको यो नेह खर्क शिवधारा रुपी कैलास पर्वतको आरोहण गर्ने आधार शिविर नै रहेछ । चौरीहरु खर्किरहेको यो खर्कबाट नेपो हिमाल अलि राम्ररी देखिँदो रहेछ । याहाँ आएर पनि जल आचमन, शुद्धि गरेर लौरो, छाता जुत्ता आदि थन्क्याउँदा ७ः१५ बज्यो । उक्लने ठाउँमा एउटा देउराली रहेछ, त्यहाँपनि सिन्दुर, दुवो, लड्डु चढाएर हात जोडियो हे ! भगवान् यो खतरनाक तर महान् यात्रामा कसैलाई विघ्न बाधा नपरोस् है ।
क्रमश :….