संखुवासभाको प्रसिद्ध धार्मिक तीर्थस्थल सभापोखरीमा मेला भरेर पुजा गर्न भक्तजनको भिड लागेको छ ।
विशेष गरी नागपञ्चमीदेखि जनै पूणिर्मासम्म पर्यटकीय एवं धार्मिक क्षेत्र सभापोखरीको दर्शन गर्नेहरुको भीड लाग्छ । जनैपूर्णिमाको अघिल्लो दिन देखिनै भक्तजनहरु स्नान गर्न सभापोखरी मन्दिर आउने गरेका छन् । सभापोखरीमा स्नान गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै कुराहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरु यहाँ आउने गर्छन् ।
राक्षशहरूले स्वर्गमा विद्रोह गरी बसिनसक्नु पारेपछि इन्द्रादि देवता यहाँआइ सभा बसेको कारण यसको नाम सभापोखरी रहेको कुरा पुराणमा भेटिन्छ । ऋषिगणहरूबिच शास्त्रीय अन्योल उत्पन्न हुँदा शास्त्रको मन्थन गर्ने ऋषिसभा बसेको कारण सभा भनिने कुरा पनि पुराणमा छ । कुनै समयमा द्वैपायन अर्थात बेदब्यास तपस्या गरेर बसेको, पुराण लेखेको र बाचन गरेको आसन भएकोले ताल बिचको कमलासनलाई ब्यासासन भनिएको भन्ने सबैको विश्वास छ । उनले पुराण भन्दा स्रोतालाई बस्न तयार गरिएको प्रस्तर भूखन्ड नै हामीले शिव पुज्ने ठाउँ । सबैभन्दा अगाडि दाँयापटि शिव अनि अरू अनेक देवताको स्मरण गरी पूजा गरिन्छ । सभापोखरीबारे १ शिवपुराणमा, २ स्कन्धपुराण, ३ पद्म पुराण र ४ देवी भागवत गरी चार ओटा पुराणमा उल्लेख र वर्णन भएको छ ।
सभापोखरी धार्मिक मेला आयोजना गरेको सभापोखरी गाउँपालिकाले यस पटक आन्तारिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्य राखेको छ । मेला अवलोकनका लागि केही दिनअघि वडाअध्यक्षहरु सहित गाउँपालिका अध्यक्ष भिम बहादुर लिम्बु त्यसतर्फ गएका छन् ।