अमर श्रष्टा खेमराज गुरुङ संखुवासभामा जन्मिए पनि पहिचानका हिसाबले उनी राष्ट्रका गहना हुन् । ६ वर्ष अघि २०७३ भाद्र ९ गते उनी परलोक भए । कृष्ण जन्माष्टमीमा स्वर्गीए भएका उनको हरेक वर्ष सोही दिन पुण्यतिथि पर्ने गर्छ । त्यसैले आज उनको स्मृति दिवस हो ।
उनैको स्मृतिमा आज खाँदबारी युथ क्लव र उद्योग वाणिज्य संघले खाँदबारीमा भव्य सांगितिक कार्यक्रमको आयोजना गरेको छ । यहीँ अवसरमा खेमराज गुरुङ ट्रष्टले खेमराज गुरुङ राष्ट्रिय सम्मान गायक दिप श्रेष्ठ र खेमराज गुरुङ प्रतिभा पुरस्कार भविन ढुंगानालाई प्रदान गर्दैछ । ट्रस्टले हरेक वर्ष पुरस्कृत गर्दै आएको छ ।
खेमराज गुरुङकै स्मृतिमा देश तथा विदेशमा विभिन्न समयमा कार्यक्रमहरु सञ्चालन हुँदै आएको छ । विभिन्न संस्थाहरु खडा भएका छन् । उनको जन्म जिल्लामै हरेक वर्ष एकादशीमा खाँदबारी ९ मनकामनामा मेला र भव्य कार्यक्रम हुन थालेको छ । उनको सम्मानमा गरिने विशिष्ट कार्यक्रमहरुले संगीतप्रतिको उनको योगदानको कदर गर्दछ ।
उनको देहवशानको ४ वर्षपछी २०७७ साउन १९ गते खेमराज गुरुङ मार्ग नामाकरणसहित उद्घाटन भयो । जुन मार्ग खाँदबारी नगरपालिका–३ मंगलादेवीथान सुमनचौक देखी झरिथुम्कासम्म थियो । खाँदबारी नगरपालिकाका तत्कालिन मेयर मुरारीप्रसाद खतिवडाले उक्त मार्गको रिवन काटेर उद्घाटन गरेका हुन् । खतिवडाले आफ्नो कार्यकालमा उद्घाटन र शिलान्यास गरेका तर सफल हुन नसकेका योजनाहरुमा खेमराज गुरुङ मार्ग पनि रह्यो । यो मार्गले सोही दिनपछी सोही नाममा कुनैपनि बजेट विनियोजन नभएको अचेल चोकमा चियागफ हुने गर्दछ । सञ्चालनमा रहेको सडकलाई नामाकरण गर्नु सहजै थियो । तर त्यसपछीका योजना नबनाइनु विडम्वना थियो । खतिवडाले उद्घाटन कार्यक्रममा बोल्दै भनेका थिए, लोकप्रिय स्वर्गीय गायक खेमराज गुरुङको पुरानो घरलाई संग्राहालय बनाउनु पर्छ । राष्ट्रिय तथा अन्तराष्ट्र्रिय स्तरमा गीत संगितको माध्यमबाट संखुवासभा जिल्ला र मनकामना धामको प्रचारप्रसार तथा यसलाई चिनाउनसमेत सफल भएको अमर स्रष्टाको सम्मानको लागि पुरानो घरलाई खरिद गरेर संग्रहालय बनाउने सोच बनाउनु पर्ने अभिव्यक्ति दिएका थिए ।
यो अभियानमा मुख्य भूमिका खेलेका बिनोद गुरुङ हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा खाँदबारी नगरपालिका वडा नं. ४ का निर्वाचित वडाध्यक्ष हुन् । यस बखत उनैको पहलमा सो मार्गको नामाकरण र उद्घाटन गरिएको थियो । गुरुङकै भनाई अनुसार सो मार्गको नामाकरणपछी यसअघिसम्म बजेट व्यवस्थापन नभएको तर यो वर्ष खेमराज गुरुङ मार्गकै नाममा बजेट पारित भईसकेको छ ।
खाँदबारी आसपासमा नामाकरण गर्ने, घोषणा गर्ने, शिलान्यास गर्ने र उद्घाटन गर्ने परम्परा भने नयाँ होइन । यस अघि पनि महिला अधिकारकर्मीहरुले योगमायाको नाममा नगरपालिका कार्यालय अगाडीको चोकलाई योगमाया चोक नामाकरण गरेको थियो । यसरी अलग क्षमता र सामाजिक नेतृत्वकर्ताहरुको नाममा चोक र मार्ग निर्धारण गर्ने तर व्यवस्थापन र संरक्षणमा ध्यान नदिने हो भने उनीहरुलाई गरिने सम्मानको अपनत्व खस्कदो हुन्छ । जुन समयमा जस्को चर्चा हुन्छ त्यसैलाई तत्कालै प्रचारमुखी कार्य गर्ने र त्यसपछी खोजी नहुनुले सामाजिक सञ्जालमा हुने दुई दिने भाइरल अभ्यास जस्तै हुनेछ ।