काठमाण्डौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई हिजो भेन्टिलेटरमा सारिएको हो । उहाँको अवस्था गम्भीर रहेको र सुधारको आशासहित उपचार भइरहेको अस्पतालले जनाएको छ ।
नेता गिरिको अवस्था गम्भीर बन्दै गएपछि कांग्रेसका नेता, कार्यकर्ता र शुभेच्छुकहरुले शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रार्थना सभा पनि गरेका छन् ।
हिजो मेडिसिटी अस्पतालमै प्रार्थना सभा भएको थियो । नेता गिरिको स्वास्थ्य अवस्थाबारे बुझ्न हिजो मेडिसिटी गएका कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गिरिको स्वास्थ्यलाभका लागि सबैसँग प्रार्थना गर्न आग्रह गर्नुभएको छ ।
नेता गिरिको घाँटीमा क्यान्सरसँगै निमोनिया पनि देखिएको छ । उहाँलाई साउन दोस्रो हप्ता मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।