संखुवासभा । जिल्लाको सदरमुकाम समेत रहेको खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले १०० दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।
आइतबार खाँदबारीका नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरि १०० दिनमा पूरा गरेका ४८ वटा उपलब्धीहरु बुदाँगत रुपमा सार्वजनिक गरेका हुन् । निर्वाचीत भएर आउने बित्तिकै देखि जनताको पक्षमा काम गर्ने प्रतिबद्धता अनुसार नै अगाडि बढिरहेको मेयर थपलियाले बताए । उनले आफू निर्वाचन ताका जनताको घरदैलोमा भोट मागिरहँदा गरेको प्रतिबद्धताहरु पूरा गर्ने गरि अगाडि बढेको बताए ।
‘गाउँ–गाउँबाट मानिसहरु खाँदबारीका हाटबजारमा बेच्न ल्याएका कृषि उत्पादनहरुको हाटकर बन्द गरेको छु । पहिले प्रत्येक वडालाई २० देखि ४० लाख रुपैया सम्म दिएको थियो, म आउने बित्तिकै एक करोड रुपैया बिनियोजन गरेको छु । नगरपालिकामा नागरिक सहायता कक्ष र शारिरिक अपाङ्गता भएकाहरुलाई चाडपर्व खर्च समेत थप एक हजार बढाएको छु ।’—मेयर थपलियाले भने—‘म मेयरमा निर्वाचीत भएर आएपछि जनमुखी काम नै मेरो पहिलो प्राथमिकता हो ।’
मेयर थपलियाले ४८ वटा कामका फेहरिस्ता सार्वजनिक गर्दै खाँदबारी नगरपालिकालाई हरियाली ग्रिनसिटीको रुपमा विकास गर्न काम शुरुवात गरिएको समेत बताए । नगरभित्रको तुम्लिङटार विमानस्थल, कत्लेभञ्जाङ्ग देखि मानेभञ्जाङ्ग बजार सम्म प्रत्येकको घर अगाडि र आँगन बरण्डामा फुल अनिवार्य रोप्नुपर्ने भन्र्दै फुलका विरुवा र गमला समेत बाँडी सकेका छन् । काठमाडौ महानगरपालिका र खाँदबारी नगरपालिका बिच भगिनी सम्बन्ध बिस्तार गरिएको र विभिन्न काम गर्न सहकार्य गरिने समेत बताएको छ ।
जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहेको उक्त कार्यक्रममा नेकपा एमालेका जिल्ला अध्यक्ष जीतबहादुर घिमिरे, नेपाली काँग्रसका उपसभापति अन्नत गौली, नेकपा माओबादी केन्द्र जिल्ला संयोजक टेकमान राई, पूर्वनगरप्रमुख तथा जिल्ला सभापति पद्मकेशर कार्की लगायतका राजनैतिक दलका प्रमुख तथा प्रतिनिधीहरुको समेत उपस्थिती रहेको थियो ।
त्यसैगरि नगरपालिकाका उपप्रमुख महेश्वरा बज्राचार्य, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा अध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।