चिचिला गाउँपालिकामा महिनाको एक दिन अनिबार्य श्रमदान

चिचिला । पटक पटक प्राकृतिक प्रकोप खेप्दै आएको चिचिला गाउँपालिकाले विकास निर्माणको लागि महिनाको एक दिन अनिबार्य श्रमदान गर्ने निर्णय गरेको छ । सानातिना काममा समेत सरकारी रकम खर्च गर्नु पर्दा गौरवका योजना तथा अत्यावश्यक क्षेत्रमा बजेट कम हुने हुँदा मसिना कामहरु श्रमदानबाट सम्पन्न गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको हो ।

ठुलो उपकरण आवश्यक नपर्ने कामका लागि महिनाको एक दिन सवै जुटेर सम्पन्न गर्ने निर्णय गरिएको चिचिला गाउँपालिका अध्यक्ष पासाङ नूर्वु शेर्पाले जानकारी दिनुभयो । भल बाढिले भत्काएको बाटो तथा सडक, सार्वजनिक स्थलहरुको मर्मत तथा सरसफाईका कामहरु श्रमदानबाट नै सम्पन्न गरिने अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार हाल सवै वडाहरुमा टोल विकास समिति गठन भईरहेको छ । सवै वडामा टोल विकास समिति गठन भईसके लगत्तै टोल समितिले निर्णय गरे अनुसार श्रमदान गरिने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

चिचला गाउँपालिका ४ मा सवै टोलमा समिति गठन भई श्रमदान समेत सुरु भईसकेको वडा अध्यक्ष बालकुमार तामाङले जानकारी दिनुभयो । हालैको बर्षातको समयमा आएको बाढि पहिरोले भत्काएको अधिकांश सडक तथा बाटोहरु मर्मत भईसकेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । वडा नम्बर ४ को श्रमदानमा हौसला बढाउन गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, लगायतका जनप्रतिनीधिहरु, प्रमुख प्रशासकीय अधिकृत सहितको कर्मचारीहरुको टोलीको उल्लेख्य उपस्थिती रहेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

श्रमदानमा खट्न नपाएका तथा गाउँ बाहिर रहेकाहरुले पनि ऐक्यवद्धता जनाउन आफुले सकेको सहयोग गरिरहेको उहाँको भनाई छ । वडा नम्बर ४ को दुई दिनको श्रमदानको लागि धजे गाउँका मिलन गुरुङले श्रमदानमा सहभागीहरुलाई खाजाको ब्यवस्था गरिदिएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । आफु परदेशमा भए पनि गाउँको विकासमा जुटेको देखेपछि उहाँले स्वतस्फुर्त रुपमा सहयोग गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

चिचला गाउँपालिकामा प्राकृतिक प्रकोपबाट विगत एक बर्ष भित्र मात्रै करोडौ मुल्य बराबरको क्षति भईसकेको छ । गत कातिकमा वडा नम्बर १ र २ मा पाकेको धान सहित खाद्य तथा नगदेबालीमा क्षति पुर्याएको थियो । त्यस्तै गत बैशाखमा वडा नम्बर ४ र ५ मा परेको असिनाले पनि उम्दै गरेको मकै, आलु लगायतमा क्षति पुर्याएको थियो । गत असारमा परेको अविरल बर्षा पछिको बाढि र पहिरोले चिचिलाको १६ परिवार विस्थापित भएका छन् भने बाटो तथा सडकहरु भत्किएका छन् ।

प्राकृतिक प्रकोपबाट पिडितहरुलाई राहत वितरणमा ठुलो रकम खर्चिएको चिचिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शुक्रादेवी राईले जानकारी दिनुभयो । अन्नबालीमा क्षति पुगेको कृषकहरुलाई खाद्न्न राहत, बिउबिजन, पहिरोबाट विस्थापितहरुलाई आवास लगायतको शिर्षकमा लाखौं रुपैयाँ खर्च गर्नु परेकोले चिचिला गाउँपालिकामा श्रमदान अत्यावश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत राईको भनाई छ । जिल्लाको दश स्थानीय तहहरु मध्ये चिचिला गाउँपालिकामा सवै भन्दा कम बजेट आउने गरेकोले पनि कत्तिपय कामहरु श्रमदानबाट नै गर्नु पर्ने बाध्यता रहेको समेत राईले बताउनुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search