खाँदबारी । भदौ १४ गते संखुवासभाको खाँदबारी ३ मानेभञ्ज्याङको एक पसलमा चोरीको प्रयास गर्ने ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले बिहिबार पत्रकार सम्मेलन गरि ३ जनालाई सार्वजनिक गरेको हो ।
चोरीमा संलग्नहरु सिलिचोङ गाउँपालिका १ का बर्ष ४२ का नन्दुराज राई, सोहि गाउँका दिपक भन्ने बर्ष ३४ का जगत राई र सिलिचोङ ३ का बर्ष २३ का अंकित राईलाई प्रहरीले सार्वजनिक गरेको हो । उनीहरुको साथबाट बरामद गरिएको रड, खुकुरी, फलाम काट्ने कैची, कपडाको नकाव, पञ्जा लगायतका सामग्रीहरु पनि सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुलाई सनीयको सहयोगमा मानेभञ्ज्याङबाटै मंगलबार बिहान पक्राउ गरेको थियो । नकाव लगाएर मंगलबार बिहान १ बजेतिर पसल लुट्न गरेको उनीहरुको प्रयास भने असफल भएको थियो ।
स्थानीय धराने साहु भनिने बिरेन्द्र भगत श्रेष्ठको पसलबाट पैसा चोर्ने उदेश्यले घर भित्र प्रवेश गरेका उनीहरुलाई प्रतिकार गर्न खोज्दा श्रेष्ठकी श्रीमती, छोरी र छोरा घाइते भएको थियो । उनीहरुमाथि फलामको रड प्रहार गरि घाइते बनाएको थियो । घाइते भएका सन्दीप भगत, निता र तारादेवी श्रेष्ठको उपचार भइरहेको छ ।
चोरीमा संलग्नलाई जिल्ला अदालतबाट डाका चोरी तथा ज्यान मार्ने उद्योगमा म्याद थप भई थप अनुसन्धान भईरहेको डिएस्पी विरेन्द्र गोदारले जानकारी दिनुभयो ।