डडेल्धुरा । नेपाली कांग्रेस डडेल्धुराले आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि प्रतिनिधिसभातर्फ प्रत्यक्षमा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम सर्वसम्मत सिफारिश गरेको छ। कांग्रेसको शुक्रबार बसेको जिल्ला समिति बैठकले देउवाको नाम सर्वसम्मत सिफारिश गरेको हो।
डडेल्धुरा देउवाको गृहजिल्ला हो। कांग्रेसकी केन्द्रीय सदस्य एवं देउवापत्नी डा आरजु राणा देउवाको पनि नाम डडेल्धुराबाट सिफारिश भएको छ। बैठकले प्रतिनिधिसभामा महिलातर्फबाट समानुपातिकका लागि सर्वसम्मत सिफारिश गरेको हो।
प्रदेशसभामा पनि कांग्रेसले एकल नाम सिफारिश गरेको छ। प्रदेशसभा ‘क’ मा कांग्रेस पार्टीका जिल्ला सभापति भीमबहादुर साउँद र ‘ख’ मा सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्द बोहराको एकल नाम सिफारिश गरिएको कार्यवाहक सभापति डिल्लीराज जोशीले जानकारी दिए।
बैठकले डडेल्धुरामा गठबन्धन नगर्ने निर्णयसमेत गरेको छ। ‘हामीले स्थानीय तहको चुनावमा पनि गठबन्धन गरेका थिएनौं। अहिले पनि जिल्लामा गठबन्धन नगर्ने निर्णय गरेका छौँ,’ जोशीले भने, ‘स्थानीय तहमा लड्दा हामीले यहाँका ५ तह जितेका छौं। बाँकी २ तहमा पनि थोरै मतले हारेका छौं। त्यसैले हामी यहाँ गठबन्धन नगरेरै चुनाव जित्न सक्छौं।’
देउवाले यहाँबाट संघीय चुनाव जित्दै आएका छन्। आरजु २०७० सालको चुनावबाट संविधानसभा सदस्य बनेकी थिइन्। उनी त्यसबेला पनि डडेल्धुराबाट समानुपातिक तर्फबाट निर्वाचित भएकी थिइन्।