संखुवासभा । जिल्लामा अधिकांश उम्मेदवारले तीन महिना बित्दासम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन्। जिल्लाका १० स्थानीय तहमा ९६७ जना उम्मेदवारमध्ये ३०६ जना उम्मेदवारले मात्र निर्वाचन कार्यालयमा खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय संखुवासभाका सूचना अधिकारी लोकेन्द्र राईले जानकारी दिए।
वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनमा ९६७ जनामध्ये १९ जनाले मात्रै समयमै खर्च विवरण बुझाएका थिए भने २८७ उम्मेदवारले ढिलो बुझाएका थिए।
स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ९ को दफा ६४ को उपदफा ४ मा निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचनको परिणाम घोषणा भएको मितिले तीस दिनभित्र निर्वाचन आयोगले तोकेको कार्यालयमा पेश गर्नुपर्ने र सो कार्यालयले आयोगमा पठाउनुपर्ने उल्लेख छ।
उम्मेदवारले खर्चको विवरण बुझाएर सम्बन्धित वडा कार्यलयमा सार्वजनिक गर्नुपर्ने प्रावधान छ। यस्तै दफा ६४ को उपदफा ५ मा निर्वाचन प्रचार प्रसारको खर्चको विवरण तोकिएको समयभित्र नबुझाउने दल वा उम्मेदवारलाई निर्वाचन आयोगको प्रचलित संघीय कानुन बमोजिम जरिवाना गर्न सक्ने उल्लेख छ।
त्यसैगरी संखुवासभा जिल्लामा २ हजार ६६५ जना मतदाता थप भएका छन्। गत स्थानीय निर्वाचनमा १ लाख १७ हजार ७३१ मतदाता रहेका थिए।