नेपाली राष्ट्रिय टोलीको कप्तानमा एन्जिला

इलाम । महिला साफ च्याम्पियनका लागि नेपाली राष्ट्रिय टिमको कप्तान एन्जिला तुम्बापो सुब्बाले गर्नेछिन्। अखिल नेपाल फुटबल संघ ९एन्फा०ले सोमबार प्रि–म्याच कन्फरेन्समा एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएको जनाएको छ।

नियमित कप्तान रेनुका नगरकोटी प्रतियोगिता तयारीको क्रममा घाइते भएपछि कुमार थापाले एन्जिलालाई कप्तानीको जिम्मेवारी दिएका हुन्। रेनुकाले घरेलु मैदानको साफ गुमाउने छिन्। ’मलाई कप्तान बनाउनु भएकोमा धन्यवाद। त्यो विश्वासलाई गुम्न दिने छैन,’ प्रि–म्याच कन्फरेन्समा एन्जिलाले भनिन्।

सन २०१४ मा श्रीलंकामा सम्पन्न भएको एएफसी यु–१४ गल्स रिजनल ट्रफी जित्दा नेपाली गोलपोष्ट एन्जिलाले सम्हालेकी थिइन्। सन २०१४ बाटै राष्ट्रिय टिममा परेकी उनी २ वर्ष बेञ्चमा नै सिमित भइन। सन २०१६ को सागको सेमीफाइनल खेलमा नेपालकी नियमित गोलरक्षक लिला लाम्गादेको स्थानमा गोलपोष्ट सम्हाल्दै सिनियर टिमबाट डेव्यु गरिन। एन्जिलाले ४ वर्षअघि हिरो कपमा कार्यवहाक कप्तानको जिम्मेवारी निर्वाह गरिसकेकी थिइन्। उनकै कप्तानीमा नेपालले पहिलो पटक भारतलाई महिला फुटबलमा पराजित गरेको थियो। उनी राष्ट्रिय टोलीको दशौ कप्तान समेत हुन्। नेपालकी पहिलो कप्तान हुन्, रमा सिंह । त्यसपछि क्रमश कमला हिराचन, मीरा चौधरी, पेमा लामा, जमुना गुरुङ, चन्द्रा भण्डारी, अनु लामा, निरु थापा, रेनुका नगरकोटीले कप्तानी सम्हालेका छन्।

उपकप्तानको जिम्मा अमृता जैशीलाई दिइएको छ। नेपाल पुलिस क्लबमा आवद्ध उनी सन् २०१४ बाट नेपाली महिला राष्ट्रिय टोलीबाट खेल्दै आएकी छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिप भोलिबाट सुरु हुँदैछ।

फाइनल खेल असोज ३ गते हुनेछ। प्रतियोगितामा आयोजक नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ। साफले सहभागी ७ टोलीलाई दुई समूहमा विभाजन गरेको छ।

नेपाल सहज मानिएको ’बी’ रहेको छ। नेपालको समूहमा श्रीलंका र भुटान रहेको छ। यस्तै समूह ’ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान रहेको छ। समूह चरणको खेलपछि समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ। यस्तै, नेपालले दोस्रो तथा समूह चरणको अन्तिम खेलमा भदौ २८ गते श्रीलंकासँग खेल्नेछ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search