काठमाडौँ — पूर्वी नेपालको संखुवासभास्थित मकालु हिमालको फेदीमा रहेको वालुङ गाउँ छाडेर काठमाडौं पस्ने निर्णय लिँदै गर्दा सानु शेर्पाका लागि आफ्नो नाममा विश्व कीर्तिमान कल्पनाबाहिरको कुरा थियो । उनीसँग त ४ सन्तान, बाआमा र जहानको जीउ ढाक्ने र पेट पाल्ने बन्दोबस्तीको सपना मात्र थियो ।
खाँदबारी, हिले हुँदै नाइट बस चढेर काठमाडौं भित्रँदै गर्दा भारी बोक्ने काम मात्रै पाए पनि हुन्थ्यो भन्ने मनोकामना थियो । १७ वर्षपछि २०७९ साउन ५ का दिन जब उनी पाकिस्तानको ८ हजार ३५ मिटर उचाइको ग्यासरब्रुम–दोस्रो (जी–टू) हिमालको शिखरमा पुगे, उनका नाममा ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालको चुचुरोमा पुग्ने आरोहीको विश्व कीर्तिमान बन्यो । १३ वटा अग्ला हिमाल दोहोर्याएर आरोहण गरिसकेका सानु गत जेठ ३० मा जापानी नर्स नाओको वातानाबेको सहयोगी गाइडका रूपमा काठमाडौंबाट पाकिस्तान लम्किएका थिए । भारत हुँदै चीनसम्म फैलिएको पाकिस्तानको काराकोरम हिमशृखंलामा पर्ने जी–टू हिमालको तेस्रो शिविरदेखि चुचुरोमा पुग्ने बाटो बनाउँदै जापानी आरोहीलाई डोर्याएर अघि बढे । तेस्रो शिविरबाट हिँडेको झन्डै १३ घण्टापछि साउन ५ गते बिहान पाकिस्तानी समयअनुसार ८ बजे १२ मिनेटमा उनी विश्वको तेह्रौं अग्लो हिमालको चुचुरोमा पुगे । त्यहाँबाट फेदी ओर्लिन उनलाई थप २ दिन लाग्यो ।
सानुले कीर्तिमानी आरोहण शृंखलाको पहिलो खुड्किलो भने १६ वर्षअघि पार गरेका थिए । उनी समुद्री सतहदेखि ८ हजार १ सय ८८ मिटर उचाइको चोयु हिमालको शिखरमा २०६३ वैशाखमा पुगेका थिए । कोरियाली आरोहण दलको सहयोगीका रूपमा सानुले विश्वकै छैटौं अग्लो हिमाल चोयुको टुप्पोमा पाइला राखेका थिए । अहिलेसम्म उनले एसियामा मात्रै रहेका विश्वकै ८ हजार मिटरभन्दा अग्ला (८०२७ मिटरको तिब्बतको सिसापाङ्गमादेखि ८८४८.८६ मिटरको सगरमाथासम्म) का हिमाल ४९ पटक आरोहण गरिसकेका छन्, जसमध्ये ३७ पटक उनी चुचुरोसम्मै पुग्न सफल भए भने १२ पटक बीचबाटै फर्के । ‘१२ पटक हिमाल बिरामी आरोहीको उद्धार गर्न वा अरु कामको सिलसिलामा चढेको थिएँ, त्यसैले चुचुरोसम्मै पुगिनँ,’ सानुले सुनाए ।
१४ हिम चुचुरा दोहोर्याएर सफलतापूर्वक आरोहण गरिसकेको एक महिनापछि भदौ ४ मा पाकिस्तानको इस्लामाबादबाट दोहो हुँदै काठमाडौं ओलिएपछि सानु अध्यागमन डेस्कको नेपाली–सर्वसाधारणको लाइनमा राहदानीमा छाप लगाउन उभिएका थिए, कर्मचारीले त्यहाँ लाइन लाग्नु नपर्ने भन्दै भीआईपी कक्षतिर डोर्याए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठसहित पर्वतारोहण क्षेत्रमा कार्यरत दर्जनौं संस्था पुगेका थिए । १६ वर्षको हिमाल आरोहणमा सानुले यस्तो आतिथ्यताको अनुभव गरेकै थिएनन् ।
विमानस्थलमा सानुलाई पर्वतारोहण क्षेत्रमा कार्यरत संस्थाका नेता/अगुवाले भीआईपीले प्रयोग गर्ने आगमन बिन्दु हुँदै बाहिर निकाले, जहाँ सयौं सर्वसाधारण झाँकी, बाजागाजा, खादा, माला र अबिरसहित उभिएका थिए । उनलाई नगर परिक्रमा गराएर पर्यटन बोर्डको सभाहलमा लगियो । ‘मैले त्यसै दिन पहिलोपटक भाषण गरें,’ गाउँकै स्कुलमा ३ पास गरेर ४ कक्षा टेकेको मात्रै अनुभव भएका शेर्पाले सुनाए, ‘त्यसपछि मलाई प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटार लगियो ।’ त्यहाँ प्रधानमन्त्री देउवाले उनलाई बधाई दिए ।
सानुले मन्त्री र प्रधानमन्त्रीसँग यसरी भेट होला भन्ने कल्पना पनि गरेका थिएनन् । सानु भन्छन्, ‘प्रधानमन्त्रीले मलाई नेपाल र नेपालीको इज्जत राख्नुभयो भन्दै बधाई दिँदा इमानदारितापूर्वक मिहिनेत गरे मन्त्री–प्रधानमन्त्रीबाट सम्मान र इज्जत पाइँदो रहेछ भन्ने लाग्यो ।’ अहिले उनलाई सम्मान थाप्न, स्वदेशी/विदेशी सञ्चारमाध्यममा अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ ।
शरीरमा तागत हुन्जेल आरोहणलाई निरन्तरता दिने सानुको मनस्थिति छ । उनी दसैं नलाग्दै मनास्लु जाने तरखरमा छन् । ‘मेरो एक जना विदेशी साथी मनास्लु, धौलागिरि र चोयु आरोहणका लागि आउँदै छ,’ शेर्पाले भने, ‘भदौ २८ तिर काठमाडौं छाड्छु होला ।’
४५ वर्षीया पत्नी किडिकी शेर्पाले भने सानुलाई हिमाल आरोहणलाई बिराम दिन भनिरहेकी छन् । ‘छोराछोरी र श्रीमतीले भो पुग्यो, गाउँ फर्किऔंँ भन्दै छन्,’ सानुले सुनाए, ‘मैले हिमाल नचढे तिमीहरूलाई कसले पैसा दिन्छ भन्छु । जानेको पेसा चटक्कै त्याग्नु कसरी !’ आरोहणलाई बिराम दिएपछिको बाँकी जीवन युरोप, अमेरिकालगायतका विकसित मुलुकमा सयर गर्ने रहर सानुले पालेका छन् ।
१७ वर्ष नपुग्दै बिहे गरेका सानुका अहिले चार छोरी र एक छोरा छन् । उनी ३० वर्षको उमेरमा भेडाबाख्रा र चौंरीगोठ त्यागेर भरियाका रूपमा हिमाल आरोहणतिर लागेका बेला उनका चार सन्तान थिए । सानुले सानो छँदा कहिलेकाहीँ मकालु हिमालमा जाने विदेशी आरोहण दलको भारी बोक्ने गर्थे । उनी काठमाडौं आएपछि एक वर्ष मात्रै भरिया भए । त्यसपछि अनुभवले उनलाई भारीबाट छुटाउँदै गाइडतिर डोर्यायो । सुरुवाती दिनमा ठमेलको ट्रेकिङ क्याम्प नेपाल कम्पनीमा भरिया, किचनब्वाई हुँदै गाइडसम्मको नौ वर्ष अनुभव बटुलेको सानुले सुनाए । यतिबेला उनी पायोनियर एड्भेन्चर प्रालिमा एक्सपिडिसन लिडरका रूपमा कार्यरत छन् । अहिले उनलाई विदेशीले ‘तिम्रो चार्ज कति हो भन, हामीसँग काम गर्नुपर्छ’ भनेर अफर गरिरहेका छन् । उनले विदेशी वा स्वदेशीलाई ‘यति–उति’ भनेर पारिश्रमिक तोकेरै माग्ने गरेका छैनन् । उनले लिने पारिश्रमिक ‘नेगोसिएसन’ मा भर पर्छ ।
‘सुरुवाती दिनमा मैले ६–७ हजार उचाइमा ५२–५५ केजी भारी बोकेँ । एक सिजनमा २०–२२ हजार कमाउथें । अरु भरियाको दाँजोमा छिटो हिँड्थें, चाँडो पुग्थें । मिहिनेत गर्दै जाँदा आज म आरोहण क्षेत्रमा धेरै अनुभवका साथ माथि आइपुगेको छु । मसँगै भारी बोकेका धेरै साथी अझै धेरै तल छु,’ सानु भन्छन्, ‘मिहिनेत गर्दा हुने रहेछ । भगवान्ले पनि मलाई हेरेको छ जस्तो लाग्छ ।’
सानु पछिल्ला वर्ष आरोहण दलको नेताका साथै आरोहीका लागि डोरी बाँधेर बाटो बनाउने काम पनि गर्दै आएका छन् । हिमालमा आरोहणका लागि डोरी बाँध्ने कामलाई ‘रोप–फिक्सिङ’ भनिन्छ । उनको बुझाइमा बाटो बनाउने काम ज्यादै जोखिमयुक्त र झन्झटिलो छ । ‘कुनै पनि आरोहणको सिजनमा बाटो बनाउन जानु भनेको अन्दाजको काम हो,’ उनले भने, ‘कतिपय ठाउँमा पुरानो ट्र्याक नै देखिँदैन । कतै पुरानो मक्किएको डोरी हुन्छ । त्यसको भर हुँदैन । कतै आड नलिई धारमा हिँड्दा ८०/९० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने हुरीले उडाउने डर पनि हुन्छ ।’
सगरमाथामा दोस्रो आधार शिविरसम्म ‘आइसफल डक्टर’ ले बाटो बनाउँछन् । दोस्रो शिविरसम्म भर्याङ हाल्ने, बाटो बनाउने काम अनुभवी शेर्पा (आइसफल डक्टर) को हुन्छ । त्यसभन्दा माथि भर्याङ जोड्नु पर्दैन । तर, डोरीलाई बलियोसँग बाँध्दै लैजानुपर्छ । यस काममा सानु अनुभवी छन्, त्यो पनि १४ वटै हिमालको अनुभव छ । ‘रोप–फिक्सिङभन्दा विदेशीलाई डोर्याउँदै लैजाने काम चैं मलाई सजिलो लाग्छ,’ सानु भन्छन् ।
२०७१ वैशाखमा १६ शेर्पाको ज्यान जाने गरी खुम्बुक्षेत्रमा हिमपहिरो जाँदा उनी कञ्चनजंघा आरोहणमा रहेका विदेशीका लागि आधार शिविरमाथि टेन्ट गाड्ने, बन्दोबस्तीका सामान ओसार्ने काम गर्दै थिए । २०७२ को भूकम्पमा अन्नपूर्ण आधार शिविरको टेन्टमा सुस्ताइरहेका थिए । ‘मेरो आरोहण यात्रामा १२ वर्षअघि मनास्लुमा २ जना कोरियाली आरोहीको ज्यान गयो,’ उनले सुनाए, ‘हामी नौ जना थियौं । एकाएक खराब मौसम भएपछि दुई जना हराए । अरु ७ जना दुई दिन–दुई रात एकै ठाउँमा भोक्कै टाँसिएर जोगियौं । योबाहेक म सहभागी भएको आरोहण दलमा अप्रिय घटना भएको छैन ।’ उनका अनुसार त्यसताका ७ हजार उचाइमा दुई दिन–दुई रात बिताउँदा उनीबाहेक अन्य ६ जनाले औंला, नाक, कान गुमाउनुपरेको थियो ।
सानुको अधिकांश हिमाल आरोहणमा अतिरिक्त बोतल अक्सिजन लैजाने बानी छैन । ‘अहिलेसम्म १८ वटा हिमाल आरोहणमा बोतलको अक्सिजन लिएँ, बाँकी मनास्लु, धौलागिरि, अन्नपूर्ण, चोयु, ल्होत्से, सिसापाङमा, नागापर्वत, गोरापिक, ग्यासरब्रुम प्रथम र दोस्रोमा अक्सिनबिनै चढेँ,’ सानुले भने ।
मकालु हिमालको टुप्पो देखिने वालुङ गाउँमा जन्मेहुर्केका सानु ४७ हिउँद–वसन्त पार गरिरहेका छन् । उनी भन्छन्, ‘अहिले धेरै हिमालमा हिउँ छैन । कतिपय ठाउँमा काँडावाला हिउँबुट काँधमा झुन्ड्याएर एक घण्टा हिँड्दा पनि हिउँ भेटिँदैन ।’ वर्षमा ८ महिना चिसो ठाउँमा हिउँमाथिी ओछ्यान लगाएर सुत्ने र बाँकी ४ महिना गर्मी ठाउँमा रहने सानु पछिल्ला दिन हिमाल आरोहणमा नयाँ पुस्ताको आकर्षण देखिरहेका छैनन् । हिमाल जोगाउने काममा सरकारको ध्यान नपुगेको गुनासो पनि उनले सुनाए । हिमालहरू अत्यन्तै फोहोर भइरहेको उल्लेख गर्दै उनले भने, ‘हिमाल सफा गर्ने काम सेनाले होइन, हामीले गर्ने हो । सरकारले करोडौं खर्च गरिरहेको छ । फोहोर थुप्रिएकै थुप्रिएै छ ।’