सिलिचोङ गाउँपालिका–२ बालाका स्थायी रोशन राई शारीरिक रूपले असक्त छन् । अहिले सदरमुकाम खाँदबारी बस्छन् । उनले दसैंमा घर जान नपाएको वर्षौं बित्यो । उनको घर जाने बाटो ६ वर्षदेखि बिग्रेको छ, बनाइदिन कोही अगाडि नसरेको उनले बताए । खाँदबारी नगरपालिकाको मानेभन्ज्याङबाट अरुण नदी किनारको छब्बिसेघाट जोड्ने सडक जीर्ण छ ।
सडककै कारण पीडित उनी सिलिचोङका एक प्रतिनिधि पात्र मात्र हुन् । सिलिचोङ यस्तो गाउँपालिका हो, जुन देशको नक्सामा त छ तर राष्ट्रिय सञ्जालमा जोडिएकै छैन । ‘१२ वर्षअघि ट्र्याक खुलेको यो धुले सडक वर्षामा हिलो हुने नै भयो,’ उनले भने, ‘हिउँदमा पनि ठूला खाल्डाखुल्डी र धुलोले हिँड्न सकिँदैन, वर्षामा ट्र्याक्टरले बनाउने खाल्डा, हिउँदमा पनि कसैले पुर्दैन, पुर्न चासो दिँदैन ।’ यो सडकका ८० प्रतिशत प्रयोगकर्ता संखुवासभाको सिलिचोङ र भोजपुरको साल्पासिलिछो गाउँपालिकावासी हुन् । उनले भने, ‘सुगमका बासिन्दालाई दुर्गमको के चासो ?’
पाँच वर्षअघि संखुवासभाबाट प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिले पनि यो सडक खण्डलाई चासो नदिएको स्थानीयले गुनासो गरे । निर्वाचित भएको एक वर्षभित्रै मानेभन्ज्याङ–हेलुवाबेंसी हुँदै अरुण नदीमा फेरी चलाएर गाडीबाटै सिलिचोङ आउजाउको व्यवस्था गरिने नेताहरूको ग्यारेन्टी भाषणमा सीमित भएको स्थानीयले बताए ।
स्थानीयका अनुसार अहिले पनि सिलिचोङबासीले मानेभन्ज्याङबाट पैदल गाउँ पुग्नुपर्ने बाध्यता कायम छ । सदरमुकामसँग जोडिए पनि अति दुर्गम गाउँपालिका हो । सदरमुकामबाट सिलिचोङ करिब १६ कोस उत्तरमा पर्छ । यहाँ मेबाहाङ, कुलुङ जातिको बाक्लो बसोबास छ । स्थानीयका अनुसार राष्ट्रिय सडक सञ्जालमा जोड्न खाँदबारी–११ मा पर्ने हेलुवा छब्बिसेघाट सडक पहिले निर्माण हुनुपर्छ । त्यस पछि अरुण नदीमा मोटरेबल पुल बन्नुपर्छ । सिलिचोङ पुग्न झन्डै आधा बाटो भोजपुरमा पर्छ । सिलिचोङको माङतेवा जोड्ने उद्देश्यले सडकको ट्र्याक पनि खुलेको छ । तर, त्यो बाटो घुमाउरो र टाढा पर्ने भएकाले सिलिचोङवासीले प्रयोग गर्दैनन् ।
खेतको बीचबाट सडकको ट्र्याक खोलिएको छ । सडक पनि सधैँ धान रोप्न खेत हिल्याएझैं हुन्छ । वर्षायाममा ट्र्याक्टरले बनाएका गहिरा खाल्डाका कारण सवारीसाधन चलाउन नसकिने गुनासो स्थानीय पोख्छन् । भोजपुरको साल्पासिलिछो र संखुवासभाको सिलिचोङमा धुले सडक तयार भएका छन् । जानकारहरूका अनुसार छब्बीसे घाटमा पुल निर्माण नभएसम्म ती ट्र्याक खाँदबारीमा जोडिँदैन । तीन वर्षअघि हेलुवाबेंसी सडकका लागि ठेक्का पनि लाग्यो । पहिलो वर्ष भित्ता ताछ्ने काम भयो, त्यत्तिमै सकियो । दोस्रो वर्ष पर्खाल लगाइयो यो वर्षको वर्षायाम भर्खरै सकिएको छ, काम सुरु नै भएको छैन ।
वारिपट्टि खाँदबारीतर्फ यो सडक बनाउन खासै चासो देखिँदैन । वर्षामा सिलिचोङमा अलि सारो बिरामी हुने छुट छैन । किनकि, यही सडकको कारणले अलि गम्भीर बिरामीले बाँच्न पाउने अधिकार गुमाउँछन् । सुत्केरी र गर्भवतीको ज्यान गएका प्रशस्त उदाहरण छन् । सदरमुकाम खाँदबारीबाट सिलिचोङ गाउँपालिका र भोजपुरको उत्तरी क्षेत्र जाने सडक कालोपत्रेको ठेक्काको म्याद आगामी कात्तिक ४ मा सकिँदै छ ।