नवौं राष्ट्रिय खेलकुदको औपचारिक उदघाटन आज

कास्की । गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक उदघाटन आज कास्कीको पोखरा रंगशालामा हुँदैछ ।

उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न साढे तीन बजे विशेष समरोहका बीच राष्ट्रिय खेलकुद प्रतियोगिताको उदघाटन गर्नेछन् । उदघाटन समारोहको सबै किसिमको तयारी सकिएको नवौं राष्ट्रिय खेलकुद, प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए ।

राष्ट्रिय खेलकुद प्रतियोगिता विसं २०३८ देखि सुरु भएको थियो । दोस्रो संस्करणको आयोजना २०४० सालमा पोखरामा आयोजना भएको थियो । त्यसको चार दशकपछि नवौं राष्ट्रिय खेलकुद पनि पोखरामै हुन लागेको हो । आठ हजार खेलाडी तथा अफिसियलसहित १० हजारभन्दा बढी व्यक्ति पोखरामा भेला भएका छन् ।

नवौं राष्ट्रिय प्रतियोगितामा ३९३ स्वर्ण, ३९३ रजत र ६०० काँस्य पदकका लागि प्रतिस्पर्धा हुने छ ।

नवौं राष्ट्रिय खेलकुदमा खेलाइने कूल ३६ वटा खेलहरुमध्ये पोखराको घरेलु मैदानमा नै २६ वटा खेल हुने खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले जानकारी दिए । अन्य खेल गण्डकी प्रदेशका तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङ जिल्लामा तोकिएको छ ।

गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि पूर्वाधारलगायत कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यसपटक खेल हुने छैन ।

आगामी कात्तिक ३ गतेसम्म चल्ने प्रतियोगितामा सात वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, गैरआवासीय नेपाली संघ (एनआरएन) गरी कूल ११ टिमबीच प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुद परिषद ९राखेप०ले जनाएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search