अरुण तेस्रो : हाइटेन्सन लाइनको मुआब्जा नदिइ खाल्डो खन्न थालेपछि स्थानीयवासीले लखेटे

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका ८ अर्चलेका दुर्गाबहादुर चर्मकारको खेतमा मुआब्जा नै नदिइ अरुण तेस्रो ४०० केभी हाइटेन्सन लाइनको टावर राख्ने जग्गा खन्न थालेपछि स्थानीयले कामदारलाई शुक्रवार लखेटेका छन् ।

बिहीवार देखि चर्मकारको जग्गामा टावर राख्नका लागि एक्स्काभेटर लगाएर खाल्डो खन्न थालेपछि सबै अचम्ममा परे । स्थानीय जग्गाधनी चर्मकारलाई ललाइफकाइ अरुण तेस्रोका कर्मचारीले टावरका लागि खाल्डो खन्नका लागि लगाएको बालीनालीसमेत काट्न लगाएका थिए ।

अरुण तेस्रो हाइटेन्सन लाइनको टावर राख्ने खाल्डो खन्न थालेको जानकारी पाएपछि स्थानीयवासी र अरुण तेस्रो हाइटेन्सन लाइन सङ्घर्ष समितिका टोलीले शुक्रवार स्थलगत अवलोकन गर्दै कामदारलाई लखेटेका छन् । अरुण तेस्रोले हाइटेन्सन लाइनको मुआब्जाको दर नै कायम नगरि टावरका लागि जग्गा कब्जा गर्न थालेको भन्दै स्थनीयवासीले कामदारलाई त्यस क्षेत्रबाट लखेटेका हुन् । अहिले त्यो ठाउँमा टावरको खाल्डो खन्ने काम रोकिएको छ ।

अरुण तेस्रोका कर्मचारी पटक–पटक आफ्नो घरमा आएर ललाइफकाइ गरेर लगाएको बालीनालीसमेत काट्न लगाएर खाल्डो खन्न थालेका दुर्गाबहादुरले बताए । उनले के–के कागजमा सही छाप गराएर पछि तीन वर्षसम्म लगातार पैसा पाइरहने आश्वासन दिएका बताए ।

स्थानीय योगराज कटुवालले अरुण तेस्रोले मुआब्जा नै नदिइकन जग्गा कब्जा गर्न खोजेको बताउँदै आफूहरू विकास विरोधी नभएको तर जग्गाको उचित मुआब्जा दिएर मात्रै टावर राख्ने जग्गा खन्न थाल्नुपर्ने बताए ।

स्थानीय जग्गाधनीको मागअनुसार अरुण तेस्रोले मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने अरुण तेस्रो ४०० केभी हाइटेन्सन लाइन सरोकार समितिका अध्यक्ष किशोरकुमार गुरुङले बताए । अरुण तेस्रो हाइटेन्सनको मुआब्जा निर्धारण गर्न सरोकार समितिले प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समिति, अन्य सरोकार निकाय र अरुण तेस्रोलाई पटक–पटक ज्ञापनपत्र बुझाएको र छलफल गरे पनि बेवास्ता गरेको समितिको भनाइ छ ।

अरुण तेस्रोको पावर हाउस पुखुवादेखि दिदिङ, छयाङकुटीडाँडा हुँदै चिसोपानी गुम्बा, सशस्त्र क्याम्पबाट चेवाबेसी हुँदै भोजपुर–खोटाङ–सिरहा ढल्केबर लैजाने हाइटेन्सन लाइनमा पाँच सय ९७ वटा टावर निर्माण हुनेछ । सङ्खुवासभामा यो हाइटेन्सन लाइनमा चिचिला गाउँपालिकाभित्रका वडा नम्बर १, २ र ३ पर्छ भने खाँदबारी नगरपालिकाभित्रका वडा नम्बर ४, ३, २ र १ पर्छ । यो सात वटा वडाभित्रका झन्डै ६ सय घरधुरीको जग्गा पर्छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search