सिलिचोङ छ कहाँ ? दुःखै दुःख छ जहाँ !

खाँदबारी- दुई वर्षअघि संखुवासभा सिलिचोङ गाउँपालिका-३ ताम्कुकी एक सुत्केरीले अकालमा ज्यान गुमाउनु पर्‍यो। सन्तानलाई जन्म दिएपछि उनको स्वास्थ्यमा समस्या आयो। उनलाई स्ट्रेचरमा राखेर भोजपुरको मुम्लिङ हुँदै अरुण नदी पारि खाँदबारी नगरपालिकामा पर्ने हेलुवा बेंसीसम्म ल्याइयो। समयमा उपचार नपाउँदा उनले अस्पताल पुग्न नपाई अकालमा ज्यान गुमाउनु पर्‍यो। यदि गाउँबाट सीधै अस्पतालसम्म उनलाई एम्बुलेन्समा ल्याउन सकिन्थ्यो त उपचार पाउने थिइन्। र, उनको ज्यान बच्ने थियो।
त्यस घटना जिल्लामा महिलाको जीवन सुरक्षाको ठूलो मुद्दा बन्यो। अनि मात्र सिलिचोङका महिलाले राष्‍ट्रपति महिला उत्थान कार्यक्रममार्फत हवाई उद्धारको सुविधा पाउने थाले। त्यो पनि स्थानीय सञ्‍चार माध्यमहरूले त्यो मुद्दालाई बेस्सरी उठाएका कारणले मात्र।

सिलिचोङ गाउँपालिकाको आफ्नै एम्बुलेन्स पनि छ। तर, अरुण नदीमा पुल नभएकाले त्यो एम्बुलेन्सले सदरमुकाम खाँदबारीस्थित अस्पतालसम्म बिरामी ल्याउन सक्दैन। सिलिचोङको मुख्य समस्या नै अरुण नदी र संखुवा खोलामा मोटरेबल पुल नहुनु हो। प्रचुर सम्भावना भइकन पनि सिलिचोङ पिछडिनुको मुख्य कारण नै अरुण नदी र संखुवा खोलामा मोटरेबल पुल नहुनु हो।

०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन संखुवासभा क्षेत्र नम्बर २ बाट निर्वाचित कांग्रेस सांसद तारामान गुरुङको पहलमा अरुण नदीमा पुल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) तयार भइसकेको थियो। तर, ०७४ सालमा संखुवासभाबाट निर्वाचित एमाले सांसद राजेन्द्र गौतमले उक्त डीपीआर रद्द गराइदिए। नयाँ डीपीआर बनाउन समय लाग्ने नै भयो। त्यत्तिकैमा बित्यो, पाँच वर्ष। अनि अरुण नदीमा पुल निर्माण हुनै सकेन।

शुरुमा पुल निर्माणका लाठि ठेक्का लिएको कम्पनीले काम गरेन। उसको सम्झौता अवधि सकियो। अनि फेरि अर्को कम्पनीलाई ठेक्का दिइयो। त्यस कम्पनीले पनि अहिलेसम्म काम शुरु गरेको छैन।

यो त भयो छब्बीसे घाटमा अरुण नदीको कुरा। संखुवा खोलामा पुल निर्माण गर्नेबारे त कुनै प्रक्रिया अगाडि बढेकै छैन। जबसम्म संखुवा खोलामा पनि पुल निर्माण हुँदैन, तबसम्म सिलिचोङ राष्‍ट्रिय सडक सञ्‍जालमा जोडिँदैन। पुल निर्माणको अर्को आवश्यकता पनि छ। त्यो हो- सिलिचोङका ४ र ५ नम्बर वडामा पर्ने याफू र माङ्तेवा जोड्ने चिचिला गाउँपालिकास्थित तम्बे भन्‍ने स्थानमा अरुण नदीमाथि नै पुल। यी दुवै ठाउँमा पुल निर्माण अत्यावश्यक छ, सिलिचोङ गाउँपालिकाका बासिन्दाका लागि। ती दुवै बन्‍ने सुरसार छैन।

तम्बेमा पुल नबन्दा भरियालाई बोकाएर दैनिक उपभोग्य सामान गाउँमा पुर्‍याइने गरेको छ। अहिले पनि गाउँमा ढाकर, तक्माकै राज छ।

याफू र माङ्तेवामा विद्युतको केन्द्रीय प्रसारण लाइन जोडिएको छ। त्यसका लागि ट्रान्सफरमर, पोल, तार सबै मानिसले बोकेरै पुर्‍याएका हुन्। सिलिचोङभरिमा बिजुलीको राष्‍ट्रिय प्रसारण लाइन पुगेको याफू र माङ्तेवामा मात्र हो। अन्य वडामा सानो क्षमताका स्थानीय पावर हाउसमार्फत बिजुली त पुगेको छ तर त्यो त्यति भरपर्दो छैन। खङ्गुवा खोलाबाट ६० मेगावाट बिजुली उत्पादन भइरहेको छ। सिसुवामा पनि करिब ४० किलोवाटको सानो जलविद्युत आयोजना सञ्‍चालनमा छ।

२०७४ सालपछि गठित तत्कालीन नेकपाको सरकारले देशभरका पालिकाका केन्द्रलाई जिल्ला सदरमुकाममा जोड्ने योजना ल्यायो। तर, त्यो योजना सिलिचोङमा लागू भएन, एक सुको बजेट दिइएन। कारण- त्यहाँ कांग्रेसले पालिका जितेको थियो। विकासमा पनि विभेदमा पर्‍यो सिलिचोङ।

त्यतिबेलाका संघीय र प्रदेश सांसदबीच सिलिचोङलाई जोड्न छब्बीसे घाटबाट कि तम्बेबाट पुल निर्माण गर्ने भन्‍ने विवाद भयो। त्यो विवाद नसुल्झिँदा दुवै ठाउँमा पुल बनेन। दुवै सांसदले दुवै ठाउँबाट पुल निर्माण गर्ने सहमति गर्थे त पूरै सिलिचोङ गाउँपालिका राष्‍ट्रिय सञ्‍जालमा जोडिन्थ्यो। त्यही विवादमा बित्यो पाँच वर्ष।

२०७४ सालको चुनावमा बुधबारे भन्‍ने ठाउँमा सभालाई सम्बोधन गर्दै सांसद राजेन्द्र गौतमले अरुण नदीमा पुल बनाएर सररर सिलिचोङ पुग्ने सपना बाँडेका थिए। पाँच वर्ष बित्यो, न त अरुणमा पुल बन्यो, उनी चुनाव जितेपछि सिलिचोङ फर्केरै गए। अझ उनले पुल बनाउन नसके आफूलाई बाँकी नराख्न भाषण गरेका थिए। फेरि उनी भोट माग्न गाउँघर डुल्दै छन्। त्यही झुटा आश्वासनका कारण उनी सिलिचोङका बासिन्दामाझ आलोचनाका पात्र बनेका छन्। अहिले उनले बोलेको भाषणको भिडियो सामाजिक सञ्‍जालमा ट्रोल भइरहेको छ।

सिलिचोङका याचम्खा, साप्तेन, काम्पेकलगायत वडा नम्बर १ र ५ मा सडक पूर्वाधार कमजोर छ। नत्र अन्य वडामा गाउँपालिकाले सडक जोडिसकेको छ। तर, अरुण नदीमा पुल नहुँदा प्रतिकिलो २ रुपैयाँका दरले झोलुंगे पुलबाट सामान तार्नुपर्छ, त्यहाँका बासिन्दाले। जसका कारण सामानको मूल्य महँगो पर्न जान्छ। ‘अरुण वारिपारि सडक संरचना तयार भएको छ। तर, पुल नै नहुँदा ती सडक जोडिएका छैनन्। अनि सिलिचोङका बासिन्दाको दुःखको मुल कारण नै अरुण नदीको पुल बनेको छ,’ खाँदबारीमा पत्रकारिता गर्दै आएका ताम्कुका बासिन्दा ध्यान कुलुङ भन्छन्।

पछिल्लो समय सिलिचोङका अधिकांश स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी बस्न थालेका छन्। कारण- पालिका आफैंले स्वास्थ्यकर्मी नियुक्त गरेको छ। ताम्कुस्थित सामुदायिक स्वास्थ्य एकाइमा चौबीसै घण्टा परिचालन हुने गरी स्वास्थ्यकर्मी राखिएको छ। त्यसैले स-साना स्वास्थ्य समस्यामा स्थानीय बासिन्दालाई उपचार अभाव छैन। तर, जब जटिल केस आउँछ, जीवन रहने या नरहने भन्‍ने टुंगो हुँदैन, भगवान भरोसामा पर्छ जीवन।

सञ्‍चारमा पनि केही सुधार भने भएको छ। पहिले घाम लाग्दा मात्र चल्ने सौर्य ऊर्जा प्रणाली प्रयोग हुन्थ्यो। अहिले बालाको डाँडामा नेपाल टेलिकमले टावर राखिदिएकाले केही सहज भएको छ। आवश्यकताअनुसार बजार क्षेत्रमा टेलिकमकै फाइबर नेट पनि जडान भएको छ। तर, त्यो बेला-बेलामा बिग्रिइरहन्छ।

यो सुधार यसअघिका पालिका अध्यक्ष राम कुलुङ नेतृत्वमा भएको हो। संघीय संरचनाका कारण भएको परिवर्तन यो दुर्गम पालिकाले पनि हासिल गर्न सकेका उदाहरण हुन् यी। तर, दैनिक उपभोग्य सामान ढुवानीमा अझै पनि भरिया र खच्चडको भर पर्नुपर्ने हैरानीबाट सिलिचोङका गाउँबस्ती मुक्त हुन सकेका छैनन्।

सडकमा ६०-४० को अनुपात लागू गरेको छ। त्यो भनेको ६० प्रतिशत ट्र्याक ओपन गरेपछि ४० प्रतिशतलाई ढुंगाको सोलिङ गर्नैपर्छ। सोही कारण अरुणपारि सडक बिग्रिने कमै उदाहरण छन्।

कष्‍टको जीवन

‘हामी धेरै पीडित सडककै कारण हो,’ खाँदबारीमा बसेर सञ्‍चारकर्म गरिरहेका रोशनदीप राई भन्छन्, ‘यो समस्या समाधान नहुन्जेल हाम्रो दुःख जस्ताको तस्तै रहन्छ।’ यो गाउँपालिकामा मकै र कोदो उब्जनी ज्यादा हुन्छ। माङतेवा इलाकामा धान खेती राम्रो हुन्छ। माङतेवाका मिठा सुन्तला पनि जिल्लामा चर्चित छन्।

मागेरै खानुपर्ने अवस्थाका होइनन्, सिलिचोङका बासिन्दा। तर, निर्वाहमुखी खेतीका कारण उनीहरूको आर्थिक उन्‍नती हुन सकेको छैन। बजारीकरणमा पनि समस्या छ। यहाँ उत्पादित खसी बोकाले राम्रो मूल्य पाएका छैनन्। कारण- सदरमुकाम खाँदबारी टाढा छ। खाँदबारी टाढा हुँदा धरान, विराटनगर शहरी इलाकासम्म यहाँका कृषिउपज र घरपालुवा पशुधनलाई पुर्‍याउन सकेको दिन सिलिचोङको दुःखले लगभग विदा लिनेछ।

तर, वर्षामा लगभग सम्बन्ध विच्छेद हुने सडक र पुल अत्यावश्यक रहेको सिलिचोङ गाउँपालिका-२ का वडाध्यक्ष मोहनसम्शेर कुलुङ बताउँछन्। उनका अनुसार युवालाई रोजगारी, विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न सक्ने उम्मेदवारलाई यसपटक भोट हाल्ने मुडमा छन्, सिलिचोङवासी।

त्यसबाहेक कृषिमा आधुनिकीकरण अत्यावश्यक देख्छन् उनी। भन्छन्, ‘अहिले १० हजार लगानी गरेर फलाएको कोदोले ५ हजार पनि आम्दानी दिँदैन। मकैमा पनि लगानीभन्दा उत्पादन र आम्दानी कम हुन्छ। २० हजार लगानी गरिएको धानले १० हजार पनि आम्दानी दिँदैन।’

उनका अनुसार गाउँको उत्पादनले वर्षभरि नधान्‍ने भएकाले सिलिचोङका बासिन्दा गाउँपालिका भित्रै र बाहिर बनिबुतोमा निस्किन्छन्। छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुपर्छ उनीहरूले। जिल्लाभित्र खाँदबारी, तुम्लिङटो, नुम र चिचिलासम्म पुग्छन्, बनिबुतो गर्न। ‘ लगभग ८० प्रतिशत गाउँपालिकावासीको समस्या हो यो,’ उनी भन्छन्।

पहिले गाउँमा अलैंची राम्रो फल्थ्यो। अहिले रोगकिराले अलैंची फल्न छाडेको छ। धान उत्पादन नै कम छ यो गाउँपालिकामा। दीर्घरोगीहरूले उपचार नपाएर असमयमै ज्यान गुमाउनुपर्ने बाध्यता कायम छ। पछिल्ला दिनमा क्यान्सर र मिर्गौलाका बिरामी बढी देखिन थालेका छन्। यी समस्या नहटेसम्म सिलिचोङले दुःखबाट पार नपाउने उनको ठम्याइ छ।

को बस्छन् सिलिचोङमा ?

किराँत समुदायमा चार भाइको चर्चा हुने गर्छ। ती सबै कोशी सभ्यताबाट आएका हुन्। सप्तकोशी नदीको खुवालुङ ढुंगोको कथा उनीहरूसँगै जोडिन्छ। खम्बुहाङ जेठा, माइला मेवाहाङ, साइँला लिम्बू (मेत्नाहाङ) र कान्छा मेचे, कोचेलगायत। सिलिचोङमा बस्ने कुलुङ जातिलाई जेठाको सन्तान भनिन्छ भने मेवाहाङलाई माइलाका सन्तान। तिनै जेठा र माइलाका सन्तान बस्छन्, सिलिचोङमा। सोलुखुम्बुको महाकुलुङमा कुलुङ जातिको वृद्धि विकास भएको मानिन्छ।

सिलिचोङ पनि सोलुखुम्बूसँग जोडिन्छ। सिलिचोङका कुलुङहरू सोलुखुम्बूबाटै आएको मानिन्छ। मेवाहाङहरू पनि अरुण नदी पछ्याउँदै यहाँ आइपुगेको मानिन्छ। खासगरी, शिकार खेल्दा खेल्दै उनीहरू यस दुर्गम भेगमा आइपुगेको मानिन्छ।

‘कुलुपुङ्खो डाँडा’ अर्थात सिलिचोङ हिमाल पार गरेर कुलुङहरू सोलुखुम्बूबाट यस भेगमा आइपुगेको मानिन्छ। ४ हजार १५६ मिटर अग्लो यो हिमालकै नामबाट सिलिचोङ गाउँपालिकाको नाम जुराइएको हो। सोलुखुम्बूको कुलुङ भन्‍ने ठाउँमा आएर यो जाति फैलिएको मानिन्छ। कुलुङबाट पनि सिलिचोङ गाउँपालिकाकै माङतेवाको वातेम्बा भन्‍ने ठाउँमा आएर बसेका कुलुङहरू त्यसपछि यो पालिकाभरि फैलिएको इतिहास छ।

टाढा छैनन् सुखका दिन !

अहिले जति दुःख भए पनि सिलिचोङका सुखका दिन पनि अब धेरै टाढा छैनन् कि ? जुन दिन छब्बीसे घाट र तम्बे दुवै ठाउँमा अरुण नदीमाथि पक्की पुल बन्छन्, त्यस दिन यो पालिकाले दुःखबाट केही हदसम्म त्राण पाउने छ। र, संखुवा खोलामा पनि पक्की पुल बनेको दिन सिलिचोङका बासिन्दाले अकालमा ज्यान गुमाउनुपर्ने दिनको लगभग अन्त्य हुनेछ।

पालिकाभित्र धमाधम जलविद्युत आयोजनाहरू निर्माण भइरहेका छन्। संखुवा खोलामै तीनवटा जलविद्युत आयोजना निर्माणाधीन छन्। याफूमा पनि बिसुवा खोला हाइड्रो पावर निर्माण हुने क्रममा छ।

यो पालिका पर्यटन विकासको प्रचुरतामाथि उभिएको छ। त्यसको पहिलो आधार त सिलिचोङ हिमाल नै हो। मात्र ४१ सय मिटर उचाइमा भएकाले यसको शीरमा पुग्न सहज छ। हिमाली भेगमा साहसिक यात्रा गर्न रुचाउनेहरूका लागि यो चट्टानी पर्वत आकर्षणको केन्द्र त्यतिबेला हुनेछ, जतिबेला अरुण नदीमा पुलको समस्या समाधान हुनेछ।

माओवादीको सशस्त्र द्वन्द्वभन्दा अगाडि यही बाटो भएर मेरापिक हिमाल चढ्न जाने स्वदेशी-विदेशी पर्यटकको ताँती लाग्थ्यो, सिलिचोङ हुँदै। हेलुवा बेंसीबाट भोजपुरको मुम्लिङ हुँदै सिलिचोङको सिसुवाटारबाट सोलुखुम्बूको महाकुलुङ निस्केर मेरापिक चढ्न पदयात्रा चल्थ्यो। माओवादी द्वन्द्वका कारण बन्द भएको यो रुट पुनः सञ्‍चालनमा ल्याउनुपर्ने स्थानीय बासिन्दाको माग छ। मकालु हिमाल जान पनि सिलिचोङलाई पनि ट्रान्जिट बनाउन सकिने विभिन्‍न अध्ययनले देखाएका छन्।

संखुवा खोला बेसिन क्षेत्र पनि पर्यटकीय प्रचुरता भएको इलाका हो। संखुवा शीर अर्थात कमेरे र ढोडे क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गर्नुपर्ने माग स्थानीय बासिन्दाले गर्दै आएका छन्। याफूको खेम्पालुङ गुफालाई बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिन्छ। त्यहाँ पनि धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना छ। जडिबुटी उत्पादनको केन्द्र पनि बन्‍न सक्छ, सिलिचोङ। ‘यी सबै विकास हुन सक्ने हो भने सिलिचोङका सुखका दिन टाढा छैनन्। किनकि, गोरेटो बाटोबाट गाडी गुड्ने सडक पाँच वर्षभित्र निर्माण भइसकेका छन्। हिजोको पूर्ण अन्धकारको युगबाट हामी उज्यालोतर्फ जाँदैछौं। र, त्यसलाई तीव्रता दिने नेताको खाँचो छ। विकासप्रेमी नेताको आवश्यकता छ,’ पत्रकार कुलुङ भन्छन्।

खाँदबारीमै सञ्‍चारकर्म गरिरहेका रोशनदीप राई पनि केन्द्रसम्म पहुँच नहुँदा हालसम्म सिलिचोङ पछाडि परेको उल्लेख गर्छन्। केन्द्रसम्म राम्रो पहुँच भएका नेताले ध्यान केन्द्रित गरिदिँदा आफ्नो गाउँपालिकाको भविष्‍य राम्रो देख्छन् उनी पनि।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search