संखुवासभाको किमाथांका गाउँ चीनको सिमानासँगै जोडिएको छ र निकट भविष्यमा नेपाल र चीनबीचको एउटा प्रमुख व्यापारिक नाका बन्ने प्रबल सम्भावना बोकेकोछ । वारि संखुवासभाको किमाथांका र पारि चीनको चांग बजार बीच गहिरो भिन्नता पनि छ । चांगा बजारमा मोटर गुड्छ, बिजुली बत्तीले झलमल्ल छ । तर विकासमा किमाथांका धेरै गुणाले पछाडि छ।
केही वर्ष अगाडिसम्म यी वारि र पारिका गाउँलेहरुको बीचमा विवाह मात्र नभई पैसासमेत सरसापटी र मेला पर्वमा एकआपसमा सहयोग गर्ने चलन समेत भएकोमा नेपालमा स्वतन्त्र तिब्बत सम्बन्धी गतिविधिहरु बढ्न थालेपछि, चीन सरकारले सिमानामा यति कडा निगरानी बढाउँदै लगेको छ कि अहिले दुई देशबीच विवाह गर्न पूर्ण बन्देझ नै लगाइएको छ । अनुमति लिएर नेपालीहरुलाई केवल हप्ताको दुई दिन मात्र पारि जान दिइन्छ । उत्तरी संखुवासभाको भोटखोला गाउँपालिका (साविकको ३ गाविसहरु हटिया, चेपुवा र किमाथांका)का सबै नागरिकहरु चिनियाँ बजार चांगमा आश्रित छन् । पारि चांगमा मोटर गुडेको तथा बिजुलीले झिलिमिली भएको पारिका घरहरु देख्दा किमाथांकाबासी पनि आफ्नो गाउँमा झिलिमिली भएको र मोटर गुडेको सपना देख्छन् ।
८० वर्षीय आन्ग्बो भोटे भन्छन्–करिब १५ वर्ष अगाडि त्यहाँ पारिका मानिसहरु हामी कहाँ काम खोज्न र अन्न किन्न आउँथे, विकास केहि थिएन। तर यो बीचमा चीनले के–के गर्यो, गर्यो। घर घरमा बिजुली, पानी, बाटो सबै बनाइदिएका छन्। त्यहाँका जनतालाई निःशुल्क शिक्षा, बेरोजगारी भत्ता, वृद्ध भत्ता, जाडो भत्ता र हरेक बिपन्न परिवारलाई घर बनाइदिने देखि नुन तेल सबै सरकारले दिएका छन्।
अहिले किमाथांकाको एउटा सपना भने पूरा भएकोछ । कादुरी संस्था र स्थानीय नागरिकले स्थानीय खोलाबाट ६० किलोवाटको लघु जल विद्युत आयोजना बनाएर किमाथान्का गाउँ बिजुलीले झलमल्ल पारेपछि, वर्षौ अगाडिदेखि देख्दै आएको ८० बर्षीय आन्ग्बो भोटे सहित सिँगो किमाथान्काबासीको एउटा सपना भने पूरा भएको छ।
वारि र पारि केवल २० मिनेटको भौगोलिक दूरतामा रहेको यी दुई गाउँमा, उहि भाषा, धर्म संस्कृति अनि भूगोल भएता पनि, सिमानाले गर्दा फरक देश, फरक विकास अनि फरक फरक जीवनशैली छ।
उत्तरी संखुवासभाको अन्तिम गाउँ किमाथांका भौगोलिक हिसाबले कति विकट छ भन्ने कुरा त्यहाँसम्म पुग्नेहरुले मात्र अनुभव गर्छन् ।