ताम्कु । संखुवासभामा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा उम्मेदवार दीपक खड्काले जिल्लाको दुर्गम सिलिचोङ गाउँपालिका जोड्ने सडक र पुल निर्माण आफ्नो जिम्मेवारी भएको बताएका छन् ।
सिलिचोङको केन्द्र ताम्कुमा आयोजित गठबन्धन दलहरुको भेलालाई सम्बोधन गर्दै खड्काले सदरमुकाम खाँदबारीबाट नजिक रहेर पनि विकासमा पछाडि परेको सिलिचोङका बासिन्दाको कष्टबारे आफू पूर्ण जानकार रहेको बताए । यो गाउँपालिका जोड्ने सडक र पुल निर्माण मेरो जिम्मा भयो, गर्ने इच्छाशक्ति भयो भने काम गर्न सकिन्छ भन्नेमा विश्वास गर्छु । म जे बोल्छु, गरेर देखाउँछु, उनले भने, झण्डै साढे २ वर्ष लाग्दो रहेछ पुल निर्माण सक्न । ढिलासुस्ती गर्ने ठेकेदारलाई पुच्छर निमोठ्न मात्र बाँकी छ । बजेट पुगेन भने बजेट ल्याउने काम मेरो हो । यो सडक निर्माण गर्ने काम यही गठबन्धनले गर्छ । यदि कहीं कतै गठबन्धन रहेन भने तपाईंको उम्मेदवार तपाईंहरुले विजय गराउँदै गर्दा म गर्छु । प्रदेशसभा उम्मेदवार राजेन्द्र कार्कीले पनि आफ्नो प्रतिबद्धता जाहेर गर्नु भएको छ ।
पालिका अध्यक्ष र उपाध्यक्ष तथा वडामा पनि गठबन्धनकै जनप्रतिनिधि निर्वाचित भएको खड्काले उल्लेख गरे । विगतमा खर्च हुन नसकेर बजेट फ्रिज भएको उल्लेख गर्दै उनले अब बजेट अपुग भएमा जुटाउने काम संघीय सांसदको भएकाले त्यो आफूले गर्ने बताए । तर, जनप्रतिनिधिले जनताले प्रश्न गर्ने गरी काम गर्न नपाउने उनले बताए । र, त्यसको निगरानी पनि आफूहरुले गर्ने बताए ।
खाँदबारीबाट जम्मा ३४ किमी टाढाको सिलिचोङ जोड्ने अरुण नदीको पुल निर्माण र सडक स्तरोन्नती नहुँदा यो गाउँपालिकाका बासिन्दा कष्टकर जीवन बिताउन बाध्य छन् ।
अर्को प्रसंगमा सशस्त्र द्वन्द्वकालमा बन्द भएको सिलिचोबाट मेरापिक चढ्न जाने रुट पुनः शुरु गराउने दायित्व पनि आफ्नो भएको उनले बताए । र, त्यसका लागि पर्यटन क्षेत्रका व्यवसायीहरुसँग छलफल गरेर अगाडि बढ्ने उल्लेख गरे ।