संखुवासभा । स्वतन्त्र उम्मेदवारलाई कुटपिट गरिएको समाचर झुठो रहेको प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका स्वकिय सचिव भद्र पराजुलीले बताएका छन् ।
‘स्वतन्त्र उम्मेदवारलाई मुख्यमन्त्रीका स्वकीय सचिवले कुटपिट गरे’ भन्ने शिर्षकमा आइतबार अन्नपूर्णपोष्टमा समाचार सम्प्रेषण भएको थियो ।
चुनावी घरदैलो सकेर षडानन्द नगरपालिकाको दिङ्लाबजारको एक होटलमा खाना खाने क्रममा प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार दिलिपकुमार खतिवडामाथि पराजुलीले हातपात गर्दै ज्यान मार्ने धम्की दिएको बताइएको थियो ।
सामान्य विवादलाई कुटपिटको संज्ञा दिँदै लेखिएको समाचार झुठो रहेको पराजुलीको भनाई छ ।
सत्ताको आडमा आफूलाई आक्रमण गरिएको बताउदै खतिवडाले आफ्नो सुरक्षाको माग समेत गरेका थिए । यता होटल सञ्चालक दुर्गा तामाङले खतिवडा र पराजुली नातेदार रहेको र सामान्य भनाभन मात्रै भएको बताए । उनका अनुसार समाचारमा आए जस्तो कुटपिट भएको र ज्यान मार्ने धम्कि भने पराजुलीले दिएका थिएनन् । ‘उहाँहरु नातेदार हुनुहन्छ, उनले भने,‘ खतिवडाले पराजुलीलाई पार्टीको झोले भन्नुभाये, त्यसैमा सामान्य विवाद मात्रै भएको हो ।’ उनी थप्छन्,‘ उहाँले भन्नुभए जस्तो ज्यान मार्ने धम्कि र कुटपिट भएको थिएन ।’
घटनालाई प्रत्यक्ष देखेका बाबुराम बस्नेतले स्वतन्त्र उम्मेदवारले अभिवादन गर्दा पार्टीको झोलो भने पछि सामान्य विवाद भएको बताए ।
‘त्यो समान्य घटना हो, त्यसलाई प्रचारवाजी गर्नुपर्ने घटना थिएन,’ उनले भने,‘धम्कि दिएको कुटपिट गरेको मैले चाहीँ देखिन भद्र जि ले अभिवादन गर्दा खतिवडा जि ले झोले भन्नुभयो । उहाँहरु आफन्त भएकाले पनि भद्र जि ले म झोले होइन भिनाजु भनेको हो, समाचारमा आए जस्तो घटना भने होइन् ।
सामान्य विवादलाई ठूलो रुप दिएर समचार लेख्नु गलत रहेको पराजुली बताउछन् । आफूले उनलाई हातपात र धम्कि नदिएको बताउदै उनले भने,‘ अभिवादन गर्दा झोले भन्नुभयो, म झोले होइन भन्दा कुटपिट गरेको हुन्छ ?’ समाचार नै गलत भएको उनले दावी गरे ।