सङ्खुवासभा । आगामी मंसिर ४ गते हुन लागेको आम निर्वाचनमा मत माग्दै यत्तिबेला उमेद्वारहरु जनताको घरदैलोमा छन् । जनतालाई उमेद्वारहरुले विभिन्न आश्वासनहरु बाँढ्दै आएका छन् ।
प्रमुख प्रतिष्पर्धी उमेद्वारहरुले आफु निर्वाचित भए विकासका लागि आवश्यक बजेटको कमि हुन नदिने बताउदै आएका छन् । नागरिकहरु भने बजेट ल्याउने भन्दा पनि कार्यन्वयन गराउन सक्ने उमेद्वारको खोजिमा छन् । विभिन्न आयोजनाहरुमा माथिल्लो निकायबाट प्राप्त भएको बजेट खर्च हुन नसक्दा विकास हुन नसकेकोले कार्यन्वयन गराउन सक्ने नेतृत्व आवश्यक रहेको खाँदबारी नगरपालिका ८ का जीवनाथ खनालको भनाई छ ।
जिल्लाको महत्वपूर्ण आयोजनाका लागि प्राप्त बजेट कार्यन्वयन हुन नसकेपछि सङ्खुवासभा विकासमा पछि परेको खनालको भनाई छ । जिल्लाको दर्जन बढि ठुला आयोजनाहरुका लागि आएको बजेट कार्यन्वयन हुन नसक्दा बर्षौदेखि समस्या उस्तै रहेको खनालले बताउनुभयो ।
ठुला आयोजनाहरुमा ठेक्का लगाएर लथालिङ्ग छोडिने हँुदा विकास हुन नसकेको खनालको भनाई छ । ‘सङ्खुवासभाको लागि बजेट ल्याउनु ठुलो करा भएन, ठेकेदारलाई काम गराउन सक्ने नेता हामीलाई चाहियो’, खनालले भन्नुभयो ।
मकालु गाउँपालिका १ का मिङ्मा शेर्पाले पनि अव निर्माण ब्यावसायीहरुलाई काममा लगाउन सक्ने नेतृत्व आवश्यक परेको बताउनुभयो । करोडौ रकम विनियोजन गरेपनि कार्यन्वयन नभएपछि त्यसको उपलब्धि नरहेको शेर्पाले बताउनुभयो । ‘यै किमाथाङ्का जाने रोड हेरौंन, कत्रो बजेट आयो भनेर हल्ला गरियो खैत काम भएको ?’, शेर्पाले प्रश्न गर्नुभयो । बजेट ल्याउँछु भन्नेलाई भन्दा पनि कार्यन्वयन गराउँछु भन्नेलाई भोट दिनु पर्ने उहाँले बताउनुभयो ।
सङ्खुवासभामा करिव दर्जनको संख्यामा ठुला योजनाहरु अलपत्र अवस्थामा छन् । केहि आयोजनाहरुको मिति थपेर धिमा गतिमा काम भईरहेको छ भने केहि आयोजना निर्माण ब्यावसायीले छोडिसकेका छन् । अन्तराष्ट्रिय महत्वको उत्तर दक्षिण कोशी राजमार्गको ट्रयाक ओपनको काम नै सकिएको छैन । सोहि सडक खण्डको खाँदबारीदेखि नुमसम्मको कालोपत्रेको काम रोकिएको छ । निर्माण ब्यावसायीले काम सुरु गर्ने वित्तिकै छोडेर गएपछि काम रोकिएको हो ।
सङ्खुवासभाको तुम्लिङटर मुनि (लम्सुवाघाट) देखि भोजपुर तर्ने अरुण नदिमा मोटरेबल पुल निर्माण गर्न नसकेपछि ठेकेदारले काम छोडेको छ । अरुण नदिमा नै हेलुवाबेँशी र बुम्लिङ (भोजपुर) विचको मोटरेबल पुलको पनि निर्माण अवधि सकिदा पनि काम सुरु हुन सकेको छैन । मनमोहन हिमाली राजमार्ग अन्तर्गत बुम्लिङदेखि बुधबारे विचको सडक स्तर उन्नतीको काम आधा नसक्दै ठेकेदारले छोडेर गएको छ ।