अरुण तेस्रो पावरहाउस प्रवेश मार्गका स्थानीयले मुआब्जा पाउनु पर्ने माग राख्दै छ दिन अघि देखि सुरु गरेको आन्दोलन स्थगित गरेको छ । पावर हाउस प्रवेश मार्गका करिब चार सय घर परिवारले मुआब्जा नपाएको भन्दै पटकपटक आन्दोलन गरिरहेका छन् ।
अरुण तेस्रोको छ्याङकुटी–पुखुवा सडकको दूरी २८.५ किलोमिटर हो । जसमध्ये २४.५ किलोमिटर सडकको मुआब्जा आजसम्म पनि स्थानीयले पाएका छैनन् । यो सडक खण्डमा पर्ने करिब पाँच सय २४ रोपनी जग्गाको मुआब्जा नपाएकै कारण स्थानीयले छैटौं पटकसम्म पावरहाउसको काम ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।
मंगलबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय छलफलपछी बुधबार बिहान १० बजे देखि स्थानीयले आन्दोलन स्थगित गरेको छ । आजै मुआब्जा निर्धारण समितिको बैठक बस्ने र ठोस निर्णय अघि बढ्ने निर्णय भएपछी उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
सङ्खुवासभाका तत्कालिन सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेको नेतृत्वमा छुट मुआब्जा सम्बन्धी गठित अध्ययन समितिले प्रभावित नागरिकहरुलाई मुआब्जा दिनुपर्ने सुझाव सहितको प्रतिवेदन एक बर्ष अघि नै लगानी बोर्डलाई बुझाएको थियो । त्यससंगै सम्बन्धीत निर्णय गत वर्ष नै मन्त्री परिषदले निर्णय गरेको थियो । यस बाहेक नियामक निकायहरुले समयमा काम नगर्दा स्थानीयहरु आन्दोलन गरिरहनु परेको छ ।
अरुण प्रवेश मार्गमा २०४५ सालमा अरुण तेश्रो सडकको प्रयोजनको लागि मुआब्जा वितरण गरिएको थियो । त्यस बेला विश्व बैंकको लगानीमा अरुण तेश्रो निर्माण गरिने भएपछि उक्त बैंककै सहयोगमा मुआब्जा वितरण गरिएको थियो । उक्त जग्गाको २०६६ सालमा लगतकट्टा गर्दा सडकको ३० मिटर दाँयाबायाँ काटिएको थियो । तर पहिले मुआब्जा पाएकाहरुले त्यसबेला १५ मिटर जग्गाको मात्रै मुआब्जा पाएका थिए ।