प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने गरिएको छ । सभ्य समाजको पहिचान, लैंगिक हिंसा विरुद्धको अभियान नाराकासाथ यो अभियान सञ्चालन भइरहेको छ । सरकारले लैंगिक हिंसालाई सन् २०२३–२४ सम्ममा ५ प्रतिशतमा घटाउने लक्ष्य राखेको छ । पछिल्लो समय हिंसाका घटनाहरू बढेका कारण समाजमा जागरण ल्याउने उद्धेश्यले विशेष अभियान सञ्चालन गरिएको छ ।
तर महिलाले भोगिरहेका बलात्कार, बेचबिखन, यौन शोषण, कुटपिट, हत्या, दाइजो, वेश्यावृत्ति, यातना जस्ता हिंसाको अवस्था भने डरलाग्दो छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाको तथ्यांक अनुसार महिला हिंसा सम्बन्धी २०७६/७७ मा ८६, ७७/७८ मा ८७ र ७८/७९ मा ८१ घटना घटेको देखिन्छ । यस्तै घरेलु हिंसा सम्बन्धी २०७६/७७ मा ११, २०७७/७८ मा ३३ र ७८/७९ मा ४२ घटना दर्ता भएको थियो । त्यसै गरी लैंंगिक हिंसामा पिडित भएकाहरुको तथ्यांक हेर्दा २०७६/७७ मा ३५, ७७/७८ मा ४९ र ७८/७९ मा ४२ जना पिडित भएको पाइन्छ । जसको न्युनीकरणका लागि प्रहरीले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत हिंसा विरुद्धको अभियान सञ्चालन गरिरहेको छ । तर सहर केन्द्रित अभियान सञ्चालनले गाउामा हुने हिंसाका घटनामा भने खास्सै प्रभावकारी हुन सकेको छैन ।
यता लैंगिक हिंसाका घटना न्युनिकरण र सचेतनाका कार्यक्रम सञ्चालन गर्ने विभिन्न संस्थाहरुमा हिंसाका घटना सम्बन्धी उजुरी भने कम हुँदै गएको छ । तर प्रहरी सचेतना र स्थानीय तहमा न्यायिक समिति सञ्चालनमा आएका कारण पनि यस किसिमका घटनाको अभिलेख कम भएको पाइन्छ ।
सरकारले लिएको लक्ष्य अनुरुप उपलब्धी हासिल गर्न सचेतनाका कार्यक्रमहरु निश्चित समय र क्षेत्रमा निर्धारण गरिएका छन् । तर समयानुकुलमा गरिएका यस्ता कार्यक्रम भने प्रभावकारी बन्न सकेको छैन ।