संखुवासभा । संखुवासभाका अग्रज पत्रकार गंगा बिष्ट शंखरत्न पत्रकारिता पुरस्कार–२०७९ बाट सम्मानित भएका छन् ।
नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको ११ औं साधारसभाको अवसरमा पत्रकार गंगा विष्टलाई नगद ११ हजार १११ रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको थियो । धर्मदेवी नगरपालिकाको मुढेमा आयोजित बार्षिक साधारणसभामा सो पुरस्कार प्रदान गरिएको हो ।
विष्ट पत्रकार महासंघ संखुवासभाका संस्थापक सदस्य हुन् । लामो समय नेपाल टेलिभिजनको संवाददाता भएर काम गरेका विष्ट जिल्लाका पुराना र अग्रज पत्रकार मध्येमा पर्दछन् । उनी सशस्त्र द्धन्द्धको समयमा ३ महिनासम्म समाचार लेखेकै बिषयमा जेल समेत परेका थिए ।
बिष्टको संखुवासभामा रेडियो स्थापनामा विशेष योगदान छ । हाल संखुवासभाको उत्तरी क्षेत्रको दुर्गम क्षेत्र मकालु, भोटखोला र सिलिचोङ गाउँपालिकाहरुलाई लक्षित गरि मकालु गाउँपालिकाको नुम बजारमा रेडियो सांग्रिला स्थापना गरि सोही रेडियोमा कार्यरत छन् ।
त्रिरत्न सञ्चार गृह प्रालिले पत्रकार महासंघको समन्वयमा यसबर्ष देखि शंखरत्न पत्रकारिता पुरस्कारको स्थापना गरेको हो । जिल्लामा सक्रिय पत्रकारिता गरिरहेकाहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक लाख ११ हजार १११ रुपैयाँको कोष स्थापना गरिएको संस्थापक त्रिरत्नका अध्यक्ष जेनी शाक्यले जानकारी दिईन् ।
उक्त रकमको ब्याजबाट प्रत्येक बर्ष एक जना सक्रिय पत्रकारलाई ११ हजार १११ रुपैयाँको दरले नगद र सम्मानपत्र प्रदान गरिने अध्यक्ष शाक्यले बताईन् ।