काठमाण्डौ । बंगलादेशमा चलिरहेको २० वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आयोजक बंगलादेशसँग खेल्ने भएको छ ।
बंगलादेशले राउण्ड रोबिन लिगको अन्तिम खेलमा भुटानलाई पराजित गरेसँगै नेपालको फाइनल प्रतिद्वन्दी घरेलु टोली परेको हो । अब नेपालले बंगालदेशसँग भोलि उपाधिका लागि खेल्नेछ ।
यसअघि हिजै भएको खेलमा नेपालले भारतलाई ३–१ गोलले हराउँदै फाइनलमा पुगेको हो । नेपालको जितमा अन्जली चन्द, प्रिती राई र अमिषा कार्कीले एक एक गोल गरे ।
बंगलादेश शिर्ष स्थानमा र नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । भुटान अंक विहीन रहेर प्रतियोगिताबाट बाहिरिएको छ ।
बंगलादेशको जितसँगै भारत पनि बाहिरिएको छ । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको थियो ।
राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेका हुन् ।