नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति संखुवासभाको जिल्ला अधिवेशन सम्पन्न भएको छ । तामाङ भाषा, लिपी, धर्म, संस्कृतिको लागि स्थानीय सरकारबो ध्यानाकर्षण गराऔं, ताम्सालिङ निर्माणका लागि गाउँगाउँबाट जनदबाब सिर्जना गरौं भन्ने मुल नाराकासाथ अधिवेशन सम्पन्न भएको हो ।
शनिबार चैनपुर नगरपालिका वडा ४ कोक्सा डाँडामा सम्पन्न अधिवेशनले काजी तामाङको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसहमत चयन गरेको छ । समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ, महिला उपाध्यक्षमा आसु तामाङ, सचिवमा राजेश तामाङ, कोषाध्यक्षमा झलकमान तामाङ र उप–सचिवमा स्वागत तामाङ चयन भएका छन् ।
घेदुङका पुर्व अध्यक्ष गणेश तामाङको अध्यक्षमा भएको कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य धन बहादुर तामाङको प्रमुख आतिथ्य साथै नेपाल तामाङ घेदुङका प्रदेश नं. १ का अध्यक्ष रेख बहादुर घिसिङको उपस्थिति रहेको थियो । तामाङ जातिको संस्कार, संस्कृति संरक्षण मात्र नभई व्यवसाय, उत्पादन र रोजगारीको लागि सबै तहको सरकारले ध्यान दिनु पर्ने कुरामा अतिथिहरुले जोड दिएका थिए ।