हरेक वर्खायाम सुरु भएसंगै सडकको दुर्दशा सुरु भइनै हाल्छ । त्यसमध्ये पनि पहाडी तथा हिमाली जिल्लाका पहाड छिचोलेर गाउँसम्म पुर्याइएका सडकको भने हालतै हुने गरेको छ । जसका कारण सवारी यातायात नै ठप्प हुने गर्दछ ।
एक रिपोर्ट……
संखुवासभाको समृद्धी यात्रा तय गरेको कोशी किमाथांका राजमार्गको स्थिति विजोक छ । सदरमुकाम खाँदबारीबाट किमाथांका जोड्न त बाँकी नै छ तर खाँदबारीबाटै ३९ किलोमिटरको दूरी रहेको मकालु गाउँपालिकाको केन्द्र नुम पुग्न पनि अबत असम्भव जस्तै बनेको छ । यो समस्या हरेक वर्खायाममा खाँदबारी माथिका चिचिला, मकालु र भोटखोला गाउँपालिकाका जनतालाई छ । खाँदबारीबाट यी पालिकाका क्षेत्रहरुमा छुटेका सवारी कहिले र कसरी गन्तव्यमा पुग्ने हो, यकिन छैन । सडकमा भएको खाल्डो र माथिबाट आउने पहिरोले कति बेला बाटो अबरुद्ध हुने थाहै हुन्न । त्यस माथि पनि कालोपत्रे गर्ने जिम्मा पाएको ठेकेदार कम्पनीले पानी पर्ने मौसम हेरेरै मर्मतको काम सुरु गरेको छ । जसका कारण सवारी यातायातलाई मात्रै होइन सडकमा थुप्रिएका हिलो र लेदोले पैदल यात्रीलाईसमेत जोगिएर बाटो नकाटे ज्यान नै जोखिममा पर्न सक्छ ।
केही दिन अघि नुम बजारबाट खाँदबारी यातायात ठप्प भएपछी खाँदबारी अस्पताल पठाइएका बिरामीलाई स्थानीयले बोकेर गाडी चल्ने ठाउँसम्म पुर्याएर फर्किए । मुढेमा नै सडक अवरुद्ध भएपछी करिब ५ दिन देखि सवारी बन्द भयो । जसका कारण खाँदबारीबाट मुढेसम्म र त्यहाँबाट नुम देखि झिकाइएका गाडीमा यात्रा गर्नु पर्ने बाध्यता थियो ।
मकालु गाउँपालिका कै फ्याक्सिन्दामा नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम निर्माणाधिन छ । जुन सडक बाटै दैनिक सयौंको संख्यामा ठूला मालबाहक सवारी गुड्ने गर्छ । कहिले काही ती सवारी समेत सडककै कारण हप्तौंसम्म अलपत्रै भएर बस्ने गरेको छ ।
सडकको यो हालत देखाएरै यसैलाई समाधान गर्ने भनेर निवार्चनमा होमिएर हार्नेकोे त कुरै छाडौं जित्नेहरु समेत ठेकेदारलाई देखाउँदै पन्छिने गरेका छन् । स्थानीय सरकार र तीनका नेतृत्व गर्नेहरुले सडकलाई बाह्रै महिना सञ्चालन गर्न ताकेता गरे पनि निर्माण कम्पनीले टेरपुच्छर नलगाएपछि निरिह जस्तै बन्नु परेको छ ।
अरुण तेस्रो निर्माण कम्पनीले सडक मर्मत गर्ने बहानामा भएका संरचनासमेत भत्काउँदै छन् । सडकको खाडल पुर्ने नाममा नालीका संरचना पनि खाडलमा नै मिसाइन्छ । तर हिलोमा गिलो माटो भरेको अरुण तेस्रोले दुई दिन नभई फेरी बाटो अबरुद्ध भई नै हाल्छ । यता यहीँ असार मसान्तमा कालोपत्रे गरिसक्छु भनेर झुक्याउने शिवशक्ति जेभी त झनै पैदल यात्रीलाई पासो नै थापी रहेको छ । हिउँदमा कानमा तेल हालेर बसेको शिवशक्तिले असारमा सडक चौडा पारेर काम देखाउँदै छ । नत यस्ले बाटो नै बनाउने हो, बरु भएका बाटो समेत पासो बनाई दिए ।