खाँदबारी । संखुवासभाको मकालु गाउँपालिका २ र ३ को विचमा रहेको ४५ मेगावाट क्षमताको कसुवाखोला हाईड्रो पावर आयोजना क्षेत्रका नागरिकहरु आन्दोलित भएका छन् । आयोजनाले स्थानीय नागरिकहरुसँग कुनै परामर्श विना आफुखुसी आयोजना सञ्चालन गर्न सुरु गरेको भन्दै आन्दोलन सुरु गरेका हुन् ।
स्थानीयले स्थानीय नुर्वू शेर्पाको अध्यक्षतामा सरोकार समिति नै गठन गरेर आन्दोलन सुरु गरेका छन् । समितिले शुक्रबार जिल्ला सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलनको आयोजना गरि नागरिकहरुको आवाज सुनुवाई नभए आयोजना बन्न नदिने बताएका छन् । निर्माण पक्षले स्थानीयसँग समन्वय गरेर आयोजना सुरु गर्नु पर्नेमा डर धम्की देखाउँदै जबरजस्ती आयोजना सञ्चालन गर्न सुरु गरेको अध्यक्ष शेर्पाले बताउनुभयो ।
आयोजनाले स्थानीयलाई उचित मुआब्जा नदिई सोझा सिधा जनताबाट जग्गा लिएको र कतिपय ठाउँहरुमा मुआब्जा नदिएको ठाउँमा समेत सडक खनिएको अध्यक्ष शेर्पाले बताउनुभयो । आयोजना सञ्चालन गर्नुपूर्व स्थानीय जनतासँग राय, सल्लाह र समन्वय गरि सार्बजनिक सुनुवाई गरि आयोजना सञ्चालन गर्नु पर्नेमा हेपाहा प्रबृत्ति देखाएको अध्यक्ष शेर्पाले बताउनुभयो ।
यस विषयमा छलफलको लागि आयोजनालाई पटक पटक पत्राचार गरिए पनि उनीहरुले बेवास्ता गरेको समितिका अध्यक्ष शेर्पाको भनाई छ । आयोजना निर्माण पक्षले स्थानीयसँग छलफल गरि सहमित पश्चात मात्र आयोजना अगाडी बढाउन दिने अध्यक्ष शेर्पाको भनाई छ ।
समितिले जिल्ला प्रसासन कार्यालय, मालपोत कार्यालय, गाउँपालिका कार्यालय लगायतका सम्बन्धित निकायहरुमा ज्ञापन पत्र समेत बुझाईसकेका छन् ।