संखुवासभाको मकालु गाउँपालिकामा निर्माण हुने कासुवा हाइड्रोपावरको विषयमा भएको सर्वपक्षीय छलफल विना निष्कर्ष टुंगिएको छ । सोमबार मकालु गाउँपालिकाको केन्द्र नुम बजारमा बसेको छलफलमा निस्कर्ष नआएपछी अर्को पटक बस्ने गरी छलफल स्थगित भएको हो ।
छलफलमा कासुवा हाइड्रोपावर सरोकार समितिले स्थानीयको मागसहितको प्रतिवेदन प्रस्तुत गरेको थियो । जसमा १३ ओटा बुदामा माग समेत राखिएको थियो । केही बुदामा सहमति कायम भएपनि मुआब्जालाई पुर्नविचार गर्नुपर्ने र बाँकी जग्गा अधिग्रहण गर्नु परेमा प्रतिरोपनी ८ लाखको दरले मुआब्जा निर्धारण गर्नुपर्ने माग राखेपछी सहमति जुट्न नसकेको हो ।
मकालुको वडा नं. २ र ३ मा निर्माण हुने यो आयोजनाको क्षमता ४५ मेगावाट रहने छ । आयोजनाले यस अघि नै प्रतिरोपनी ३ लाखको दरले करिब एक सय ४९ रोपनी जग्गा खरिद गरिसकेको छ । स्थानीयको मागलाई ध्यानमा राखेर आयोजना अघि बढ्ने आयोजना कम्पनीले जनाएको छ ।
मकालु गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको छलफलमा कासुवा हाइड्रोपावर लिमिटेड, कासुवा हाइड्रोपावर सरोकार समिति र जनप्रतिनिधिको सहभागिता रहेको थियो ।