कोशी–किमाथांका राजमार्ग अन्तर्गत संखुवासभाको छ्याङ्कुटी–नुम सडक खण्ड दुई दिन अघि देखि बन्द गरिएको छ । चाडबाडमा यात्रा गर्न सडक नै सकस भएपछी मकालु युवा समाजको नेतृत्वमा ठूला मालबाहक सवारीलाई रोक लगाइएको छ । तर खाद्यान्न लगायत यात्रुबाहक र अति आवश्यक सवारीलाई चल्न दिइएको छ, समाजका अध्यक्ष नुर्व शेर्पाले भन्नु भयो । शेर्पाका अनुसार विभिन्न निर्माण कम्पनी र हाइड्रो कम्पनीका ह्याब्बी वेटका सामान र सवारीका कारण सडक क्षतविक्षत भएको छ ।
जसका कारण साना सवारीलाई असज भएको छ । सडकको बिग्रदो हालतलाई कुनै पनि निकाय र ती कम्पनीहरुले मर्मत नगर्ने देखिएपछी सवारी नै बन्द गर्नुपर्ने अवस्था आयो शेर्पाले भन्नु भयो ।
यस अघि पनि पटकपटक विभिन्न मौसममा स्थानीय र युवाहरुको समूहले यो राजमार्गका विभिन्न स्थानमा सडक मर्मतको लागि दबाब दिन अवरुद्ध गरिदै आएको छ । तर पनि मर्मत गरे जस्तो गरेर छारो हाल्ने काम मात्र भएको छ । युवा समाजले आवशयक पहल र सहयोगको लागि भन्दै जिल्ला प्रशासन कार्यालय संखुवासभा, जिल्ला समन्वय समिति, मकालु गाउँपालिका र चिचिला गाउँपालिकालाई अनुरोध गरेको थियो ।
चाडबाडमा घर फर्कनेहरुका लागि सडक नै सकस भएपछी दबाब पूर्ण कार्यक्रमको पहिलो चरण भएको शेर्पाले बताउनु भयो । सोही बिषयमा बुधबार (आज) जिल्ला प्रशासन कार्यालयले छलफलमा बोलाएको अध्यक्ष शेर्पाले बताउनु भयो ।