सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय समितिमा सुनुवाइ सुरू भएको छ।
शुक्रबार मध्याह्न १२ बजेदेखि उच्च अदालतका दुई न्यायाधीशको सुनुवाइ सुरू भएको हो। पहिलो चरणमा न्यायाधीश सारंगा सुवेदीको सुनुवाइ सुरू भएको हो। त्यसपछि अब्दुलको सुनुवाइ हुनेछ। सारंगाविरूद्ध सबभन्दा धेरै उजुरी परेका छन्। उनीविरूद्ध ६ वटा उजुरी परेको छ भने अब्दुलविरूद्ध एउटा परेको छ।
सारंगाविरूद्ध धनुषाकी आरती साहको हत्या भएको घटनासम्बन्धी आदेशविरूद्ध उजुरी परेको हो। जिल्ला अदालतले थुनछेक बहसपछि आरतीका श्रीमान मोतीबाबु र ससुरा मदन मोहनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। तर उच्च अदालतले उनीहरूलाई साधारण तारेखमा छाडिदिएको हो। यही मुद्दामा सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस सारंगाविरूद्ध आरती साहका आमा र बुवाले उजुरी दिएका हुन्।
अब्दुलविरूद्ध अंश मुद्दाको फैसलालाई लिएर उजुरी परेको छ। न्याय परिषदले उनीहरू दुई जनासहित ६ जनालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो।
उच्च अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, वरिष्ठ अधिवक्ता बालकृष्ण ढकाल र सुनिल पोखरेल पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका हुन्। आज दुई न्यायाधीशको मात्रै सुनुवाइ हुन लागेको हो।
संसदीय सुनुवाइ समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
सर्वोच्च अदालतमा ७ न्यायाधीशको पद रिक्त भए पनि परिषदले ६ जनाको मात्र नियुक्तिका लागि सिफारिस गरेको थियो।