मानिसका आधारभुत आवश्यकता गाँस, बास र कपास भन्छन् । यस अलवा शिक्षा, स्वास्थ्य, रोजगारी पनि उत्तिकै महत्वका हुन् । कुनै एक समुदायमा विस्तार भईसकेपछी व्यक्तिलाई चाहीने आवश्यकता पनि फराकिलो बन्दै जान्छ ।
अचेल गाउँ घरमा टुकी, बत्ती र दियोमा रात काट्नु पर्ने कुरा नौंलो हैन । अनि गाउँकालाई शहरमा बलेको झलमल्ल बिजुली पनि अचम्म लाग्दैन । बरु रहर चाँही हुन्छ । किनकी शहर, बजार देख्न पाएकाहरुले विजुली हुँदाका सहजता र उपयोगी बुझेकै छन् । त्यसैलेत आफ्नै गाउँमा बिजुली बाल्ने हुटहुटी सबैलाई किन नहोस् ? अहिले गाउँसम्म दुखसुख मोटर बाटो पुगेको छ । गाउँबाट बजार पठाउने केही नभएनी आपत विपतमा चारपांग्रे गाउँ, टोल र छरछिमेकसम्मै पुग्छ । पहाड छिचोलेर सडकसँगै बिजुली पनि आएको भए सायद धेरै गाउँहरु अन्धकारमुक्त भइसक्थे । तर गाउँबस्तीमा बिजुली बाल्न त्यति सहज पनि छैन । जसरी गाउँका आगनसम्म सडक पुगेको छ । तरैपनि जसरीनै गाउँसम्म बिजुली पु¥याउने धोको नेतृत्वलाई जस्तै आम उपभोक्तालाई हुन्छ ।
मकालु गाउँपालिका संखुवासभाको सुन्दर तर विकट स्थानीय तह हो । हिमालसँग जोडिएको मकालु भारत र चीनलाई जोड्ने नेपालकै सवैभन्दा छोटो स्थलमार्ग उत्तर दक्षिण राजमार्ग (कोशी करिडोर) यसै गाउँपालिकाको केन्द्र हुदै चीनको सीमा किमाथाङ्कासम्म पुग्दछ । अगिकै प्रसंगमा जोड्दा सडकले किमाथांका छुन लाग्यो तर बिजुलीको विकास त्यसरी हुन सकेको छैन ।
कुल ५१९.४५ वर्ग किमि क्षेत्रफलमा फैलिएको मकालुको ६.८३ प्रतिशत मात्रै मानवीय बस्ती क्षेत्र हो । तर भौगोलिक विकटतामा सुन्दरता साँचेको मकालुका बस्तीहरु अन्धकारमै छन् । विकास गर्नलाई विकटता एउटा समस्या हो तर समाधान हुँदै नहुने भने होइन । मकालु, नम, पाथिभरा, पावाखोला र याफुलाई समेटेर निर्माण गरिएको मकालु गाउँपालिकामा करिब ३ हजार ९ सय घर संख्या रहेको छ ।
२ सय ७९ घर रहेको वडा नं. १ सोलार र टुकी कै भरमा छ । विद्युत विस्तारको काम भने धमाधम हुदैछ । बैशाख अन्तिमसम्ममा काम सक्ने योजना रहेको वडाअध्यक्ष आङबाबु शेर्पाले बताउनु भयो ।
वडा नं. २ मा ७ सय ५० घर संख्या रहेको छ । जसमध्ये दुई सय घरमा केन्द्रिय विद्युत विस्तार भएको छ भने अझै ५ सय ५० घर परिवार अन्धकारमा छन् । विद्युत विस्तारको काम धमाधम भइरहेकाले आर्थिक वर्ष २०८१ मा सम्पूर्ण घरमा बत्ती बल्ने अध्यक्ष छोपाल शेर्पाले जानकारी दिनु भयो ।
वडा नं. ३ मा ९ सय ३३ घर संख्या रहेको छ । जसमध्ये करिब ५ सय ५० घर परिवारले वैकल्पिक उर्जा तथा स्थानीय लघु जलविद्युत उपभोग गरिरहेका छन् भने ३ सय ८३ परिवार अझै केन्द्रिय लाइनको पर्खाइमा छन् । यस वडाको आक्चेवामा पोल गाड्ने र तार टांग्ने कार्य सम्पन्न भइसकेको वडाअध्यक्ष बद्री बहादुर राईले बताउनु भयो ।
केन्द्रिय विद्युत लाइनले छुदै नछोएको मकालुको अर्को वडा हो, वडा नं. ४ । साबिक पावाखोला गाबिस हाल वडा नं. ४ को केन्द्र कारमाराङसम्म पोल मात्रै गाडिएको छ । अन्य गाउँहरुमा भने सर्वेको काम अघि बढेको वडाअध्यक्ष बाल कुमार तामाङले बताउनु भयो । करिब ५ सय २० घर रहेको वडा नं. ४ मा बसुवा माइक्रो हाइड्रोका कारण सिरुटार, कारमाराङ, वैद्ये, रनेगाउँ, भैसी खर्क र पिप्लेमा सहयोग पुगेको छ । जसबाट यहाँका करिब २ सय ९५ घरमा उज्यालो छाएको छ । तर केन्द्रिय विद्युतको लाभ भने यस वडाका कोही उपभोक्ताले पाउन सकेका छैनन् ।
वडा नं. ५ मकालु गाउँपालिकाको केन्द्र हो । केही वर्ष अघि मात्रै केन्द्रिय लाइन जोडिएको हो, नुम बजारमा । करिब १ हजार १ सय घर संख्या रहेको यस वडामा अझै करिब ४ सय घरमा विद्युत विस्तारको काम बाँकी छ । मांसिमा, चोक्टे, साभाङ लगायतका गाउँहरुमा पोल र तार विस्तार भइरहेको वडाअध्यक्ष योगराज राईले बताउनु भयो । यस वडा ७ सय परिवारले विद्युत आपुर्ति गरिरहेका छन् ।
केन्द्रिय विद्युतको उज्यालो नपाएको अर्को वडा हो वडा नं. ६ । ३ सय २० घर संख्या रहेको यस वडाको पनि केन्द्रसम्म विद्युतको पोल र तार विस्तार मात्रै भएको छ । साबिक याफु गाविस वडा नं. ६ मा विद्युत विस्तारको काम सकिएको भएपनि आपुर्ति हुन सकेको छैन । यस्तै साबिक याफु वडा नं. ७ मा पोल र तार विस्तार सुरु भएको वडाअध्यक्ष नरेन्द्र कुमार राईले बताउनु भयो ।
समग्रमा हेर्दा मकालुका वडा नं. ४, ६ र २ मा विद्युत विस्तारका लागि अझै केही वर्ष लाग्ने अनुमान गरिएको छ भने अन्य वडामा कुनै बाधा अड्चन नभए यस आर्थिक वर्षको अन्त्यसम्ममा सबै घरमा विद्युत आपुर्ति हुने आंकलन गरिएको छ । करिब घ हजार ९ सय २ घर संख्या रहेको मकालु गाउँपालिकामा स्थानीय माइक्रो हाइड्रो र केन्द्रिय विद्युत उपभोग गर्ने घर संख्या करिब १ हजार ७ सय ४५ मात्र छ । बाँकी २ हजार १ सय ७५ घर परिवार अझै विद्युत विस्तारको पर्खाइमा छन् ।