संखुवासभाको खाँदबारी नगरपालिका वडा नं. ११ मा अवस्थित छ, चारधारा धाम । मुख्य गरी वैशाख १ गते नयाँ वर्षमा घुम्न आउने पर्यटक र दैनिक पुजाआजामा आउने भत्तजनहरुको उपस्थिति हुने गर्दछ । नयाँ वर्षमा चारधारा क्षेत्रका हरेलो, रमिते डाँडा लगायतका क्षेत्रहरु घुम्न आउने पर्यटकहरु नै चारधाराको दर्शन गर्ने भएपछी यहाँ भीड नै लाग्ने गर्छ । मनोरम दृष्यसंगै चारधाराको दर्शन गर्न पाउनु पर्यटकका लागि खुशीको कुरा हो ।
चारधारालाई व्यवस्थित र आकर्षक बनाउन स्थानीय युवा, स्थानीय सरकार लगायत सहयोगी व्यक्तित्व र संघ संस्थाहरुको योगदान रहेको छ । जसका कारण मन्दिर परिसरमा विभिन्न संरचनाहरु निर्माण गरिएका छन् । मनोकांक्षा पुरा हुने विश्वास रहेको चारधारामा हरेक दिन भत्तजनहरुको आगमन हुने गरेको छ ।
तर दैनिक रुपमा भत्तजनहरुको बाक्लो उपस्थिति रहने चारधारासम्म पुग्न भने सडकको दुरावस्था छ । जसका कारण सडक प्रयोग गरेर आउने भक्तजनहरु जोखिम मोलिरहेका हुन्छन् ।
चारधाराको सौन्दर्य थप्न विभिन्न संरचनाहरु निर्माण गरिए पनि मानिसलाई आउजाउ गर्न सडक नै बाधा भएको छ । त्यसैले सडकलाई प्राथमिकतामा राखेर मर्मत गर्नुपर्ने देखिन्छ ।