रिदाकमा संस्कृति जोगाउन पाहुनालाई स्वागत

कुनै पनि ठाउँमा घुम्न तथा काम विशेषले आएका आगन्तुक तथा पाहुनालाई गरीने स्वागत सत्कारले त्यस ठाउँको पहिचान झल्किन्छ । गाउँ नै मिलेर पाहुनालाई सबै ठाउँमा स्वागत गरिदैन । स्वागत तथा सम्मान गर्ने तरीका पनि ठाउँ, परिस्थिति, जाति र जनजाति अनुसार फरक हुने गर्दछ ।

संखुवासभाको भोटखोला गाउँपालिका वडा नं. २ रिदाक गाउँ पुगेका हरेक नयाँ आगन्तुक पाहुनालाई स्वागत गर्ने चलन छ । सिंगो गाउँ नै मिलेर स्वागत गर्ने यहाँको चलन भने फरक छ । पहिलो पटक पुगेर सम्मान ग्रहण गरेका पाहुनालाई दोस्रो पटक देखि त्यसरी नै स्वागत भने गरीदैन । अर्को पटक देखि उनीहरु समेत रिदाकबासी कै सदस्य जस्तै सम्झिने र हरेक घरहरु पुग्दा सगुन गराउने गरिन्छ । विकट तर सांस्कृतिक रुपमा रिदाक अघि छ ।

भोटे र शेर्पा जातिको बसोबास रहेको रिदाकमा करिब ४५ घर परिवारको बसोबास रहेको छ । यहाँका महिला दिदीबहिनीहरु एकै ठाउँ भेला भएर जातिय संस्कृति संरक्षणका लागि पाहुनालाई स्वागत गर्ने चलन छ । रिदाक आएका मानिसलाई उनीहरुको संस्कृति, झाँकी र नाँच देखाउनु उनीहरुको विशेषता हो ।

मौलिक गहना र पोसाकमा सजिएकी दिदीबहीनीहरु आफ्नै भाषाका शब्दहरुमा लय हालेर एक आपसमा बाँधिएर नाच्ने गर्दछन् । नेपाली भाषा बोल्न असहज भएपनि संस्कृति संरक्षणका लागि मातृभाषामा भाका हालेर पाहुनालाई खुशी बनाउँछन् ।

हातमा फुलका गुच्छा र खदाले पाहुनाका गला भरीएका हुन्छन् । पाहुनाको सत्कारमा स्थानीय उत्पादनबाट बनाइएका परिकार र सगुन चखाइन्छन् । यो दृष्य र अनुभुति रिदाक पुग्नेहरुसँग मात्रै हुन्छ ।

उनीहरुको संस्कृतिमा लोभिएका पाहुनाबाट प्राप्त दक्षिणा आमा समूह सञ्चालनमा खर्च हुँदै आएको छ । दाता र सहयोग प्राप्त भए आमा समूहको भवन बनाउने लक्ष्य उनीहरुको छ ।

जे होस्, रिदाकबासीहरु आगन्तुक पाहुनाको पर्खामा हुन्छन् भने त्यहाँ पुगेका नयाँ मानिसहरु उनीहरुको सम्मान र सद्भावको खुलेरै प्रसंशा गर्दछन् । पछिल्लो समय जातिय संस्कृतिलाई बढ्दो आधुनिकताले असर पु¥याइरहेको बेला रिदाकबासीको यो कदम भने प्रशंसनीय छ ।

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search