संखुवासभामा लैंगिक हिंसा अन्तर्गत जबरजस्ती करणीका घटनामा कमी हुँदै आएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाले मंगलबार पत्रकार सम्मेलनमा जबरजस्ती करणीको घटना तथा महिला हिंसाका गतिविधिहरु संखुवासभामा कम हुन थालेको जनाएको छ । केही समय अघि संखुवासभाको खाँदबारीमा परिवर्तित नाम संखुवासभा ५ लाई प्रलोभनमा पारी जबरजस्ती करणी गरी फरार रहेका तनहुँ जिल्ला भिमाद नगरपालिका वडा नं. २ स्थायी घर भएका वर्ष ३७ का हिमाल मगर भन्ने अभिमान सिं आलेलाई पक्राउ गरी आज पत्रकार सम्मेलन गर्दै प्रहरीले यस्तो तथ्यांक सार्वजनिक गरेको हो ।
पछिल्लो चार वर्षमा जबरजस्ती करणीका घटना कम भएको तथ्यांकले देखाएको छ । प्रहरी नायव उपरिक्षक घनश्याम श्रेष्ठका अनुसार २०७७/०७८ मा २७ ओटा जबरजस्ती करणीका घटना घटेको थियो भने ०७८/०७९ मा १८, ०७९/०८० मा १६ र ०८०/०८१ मा ११ घटना घटेको छ । पछिल्लो २०८०/०८१ यो तथ्यांकलाई उमेरको आधारमा हेर्ने हो भने १५ वर्ष भन्दा कम उमेरका २ जना, १५ देखि १८ वर्षका ६ जना, १८ देखि ३० उमेरका ३ जना र ३० देखि ४० उमेरका १ जना पिडीत भएका छन् ।
जबरजस्ती करणी अपराधमा संलग्नलाई अधिकतम जन्मकैद २५ वर्ष र ७ लाख रुपैंयासम्म जरिवाना हुने कानुनी व्यवस्था छ । तथ्यांकलाई उल्लेख गर्दै डिएसपी श्रेष्ठले जबरजस्ती करणी अपराध न्युनिकरण गर्न प्रहरीले समुदायमा सञ्चालन गरीरहेको सचेतनामुलक कार्यक्रमले सघाउ पर¥याएको बताए । आर्थिक वर्ष ०८०/०८१ वैशाखसम्ममा जिल्ला प्रहरी कार्यालय संखुवासभाले १ हजार १ सय ५१ ओटा सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको थियो ।