संखुवासभाको उत्तरी भोटखोलामा रहेको धार्मिक स्थल तातोपानी ओझेलमा परेको छ । भोटखोला वडा नं. ३ को हटिया गाउँ नजिकै रहेको तातोपानी संरक्षणको पर्खाइमा छ भने प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । तातोपानीको धार्मिक महत्व जति हो त्यति चर्चा हुन सकेको छैन । केही वर्ष पहिलेसम्म यहाँ मानिसले जति ठूलो आवाज निकाल्न सक्यो त्यति नै पानी बढेर आउने गथ्र्यो भन्ने भनाई छ ।
हटिया बजारबाट करिब ५ मिनेटको पैदल दूरीमा रहेको तातोपानीको दुई ओटा मुहान रहेको छ । मुहानबाट निस्किएको पानी जुनसुकै मौसममा पनि अत्यन्तै तातो भएकै कारण तातोपानी नाम रहन गयो ।
धार्मिक महत्वका हिसाबले हेर्ने हो भने तातोपानीमा नुहाए छाला सम्बन्धी रोगहरु निको हुने विश्वास छ । यहाँको तातोपानी पिउँदा ग्यास्ट्रिक समेत निको हुने भनाई छ ।
धार्मिक स्थल तातोपानीको बारेमा सुनेका र थाहा पाएकाहरु तातोपानी दर्शन गर्न जाने गरेका छन् । कोही भाकल पुरा गर्न पुग्छन् भने कोही आफ्नो बिराम निको होस् भनेर कामना गर्न पुग्ने गरेका छन् ।
तातोपानीसम्म पुग्न हटियाबाट स्थानीय सरकारको पहलमा गोरेटो बाटो निर्माण गरीएको छ । तर अहिले जिर्ण बनीसकेको छ भने मकालु वरुण राष्ट्रिय निकुञ्ज र स्थानीयको पहलमा ट्यांकी निर्माण र नुहाउनलाई बाथरुम बनाइसकिएको छ । तर अझै आवश्यक संरचना निर्माण र व्यवस्थापन हुन सकिरहेको छैन ।
तातोपानीको महत्वको आधारमा स्थानीय सरकारको सहभागिता रहनु पर्ने देखिन्छ भने आवश्यक व्यवस्थापन गर्न र संरक्षण गर्न जरुरी छ ।