(खाँदबारी देखि हटियासम्म) किमाथांका यात्रा संस्मरण–१ (भिडियो सहित)

देश खोज्ने यात्रा

किमाथांका ।
मुलुकको भविष्य, सपना र सम्भावनाको खानी मानिन्छ, किमाथाङ्काको भूगोल । पहाड पर्वत र भञ्ज्याङ अनि हिम श्रृंखलाहरुबाट वेष्टिट प्रकृतिको अनुपम उपहार हो, किमाथांका । हिमाली भूगोलको विशिष्ट संस्कृति, परम्परा र मौलिक पहिचान र अस्तित्व बोकेको ठाउँ । प्राचीन गुम्बा र मान्यता । पर्वत मालाहरुमा भगवानका प्रतिबिम्ब र आस्थाहरु । जहाँ ढुंगा–ढुंगामा देवताको वास छ । प्रकृतिमा रमाउनेहरुका लागि अलौकिक सुखानुभुति प्रदान गर्ने यो स्वर्गसरीको भूमी । तर पुर्खाहरुले पिढी दर पिढीले झेल्दै आएको अभाव, दुःख, सीमान्तीकरणको यो श्रृँखला अन्त हुने विश्वासमा छन् यहाँका बासिन्दाहरु ।

विकासको लहर देखेर छिमेकी देशको
झुपडीमा माटोको माया साँचेर आफ्नै देशको
अभावै अभावमा बाँचीरहेको
यो मन त मेरो नेपाली हो ।

देशको सुदूरपूर्व संखुवासभा जिल्लाको उत्तरी सिमाना, किमाथांका । यहाँका वासिन्दालाई देशले नागरिकता त दिएको छ, तर जनताको जीवनलाई सहज बनाउने पूर्वाधार कहिल्यै दिन सकेन, किमाथांकालाई, नेपालकै भूमि भएर पनि भूगोल दुखेको कथा छ यहाँ । देशको दुःखाई र मनोरम प्रकृतिको रसास्वादन गर्न यात्रा निस्केको यात्रा टोलीको किमाथाङ्का यात्राको पहिलो शृंखलामा हार्दिक स्वागत छ, तपाईलाई ।

जिल्ला सदरमुकाम खाँदबारीबाट १६२ किलोमिटर सडकको दूरीमा छ किमाथांका । धेरै वर्ष देखि प्रतिक्षित हाम्रो सपनाको गन्तव्य हो, किमाथांका । विकट भूगोल, फरक संस्कृति र खानपान, आधुनिक सुविधाको अभाव भएकाले यो विकट क्षेत्रको यात्रामा जो कोही अग्रसर हुँदैन । तर हाम्रो सपनाको गन्तव्य भएकाले हाम्रो यात्रा तय भयो । किमाथाङ्का यात्रा, देश खोज्ने यात्रा ।

आज यात्राको पहिलो दिन …. 
सुविधा सम्पन्न सदरमुकामलाई चटक्कै छाडेर दुर्गम ठाउँको यात्रा गर्न सजिलौ छैन । खाँदबारी बजारबाटै पक्की सडक छोडिन्छन् । अनि हिलो र लेदोमा बयली खेल्न सुरु हुन्छ, मानेभञ्ज्याङलाई छोडेर उकालै उकालो, पांमा र सेकाहा हुँदै ।

छ्याङकुटी भञ्ज्याङ्ग, यहाँबाट अरुण उपत्यकाको मुख्य भाग खाँदवारीलाई सहजै नियाल्न सकिन्छ । यो खाँदबारी र चिचिला गाउँपालिकाको सिमाबिन्दु पनि । यहाँबाट अरुण तेस्रो जलविद्युत आयोजनाको विद्युत गृह जाने र बाँधस्थल जाने बाटो छुट्टिन्छ ।

चिचिला पातालको बाटोको हिलोमा जोखिम उस्तै छ । हिलो छिचोल्नै सकस । पाताल पार गर्नु नै चिचिलाको पर्खाई स्वागत हो ।
चिचिला बजारका घरहरुलाई सडकले चिरिदिएको छ, दाँया बाँया किनार पारेर । अहिले सडकको जुन अवस्था हो, यसमा चिचिलाको सुन्दरता अटेको छ । तर सरकारले लिएको लक्ष्य अनुरुप बाटो चौडा गर्दै लैजादा चिचिला बजारको अस्तित्व पनि संकटमा पर्ने छ ।

सुम्भा भीर छिचोलेर कब्दाने हुँदै आउने यो सानो बस्ती, देउराली । चिचिला र मकालु गाउँपालिकाको सिमा क्षेत्र । देउराली र मुढे गाउँबीचको यो सुके पाताल । जहाँ चराचुरुंगीको मुख्य बसोबास क्षेत्र हो । संसार भरीका विभिन्न प्रजातिका चराहरुमध्ये करिब ८ प्रतिशत चराहरु यहाँ मौसम अनुकुलतामा आउने गर्दछ । तर पातालको बिचबाट अघि बढेको कोशी राजमार्ग, बढ्दो जनसंख्या, उच्च ध्वनिका सवारी, वन फडानी, डढेलो र वन्य पशुपञ्छिको चोरी सिकारका कारण यो महत्वपूर्ण भूमिको दोहण भइरहेको छ । तर हाम्रा सम्पत्तिलाई जोगाएर गरेको विकासले हाम्रो पहिचान पनि उच्च राख्दछ ।

नुम बजार । मानेभञ्ज्याङ उत्तरको सबै भन्दा ठूलो बजार । खाँदबारी र मानेभञ्ज्याङबाट आपुर्ति हुन नसकेका सामग्रीहरु सिंगो भोटखोला र मकालुलाई उपलब्ध गराईरहेको छ । दिनानुदिन संरचना र सुविधाहरु थपिदै छन् ।

नुमबाट ओराली यात्रामा अरुण तेस्रो जलविद्युत आयोजना निर्माण कम्पनीका कार्यालय र बसोबास क्षेत्र । ठूलो बस्तीको विकास । मजदुर र कर्मचारीहरुको चहलपहल ।

फ्याक्सिन्दा दोभान । अरुण तेस्रो विद्युत परियोजनाको बाँध निर्माण स्थल । यहाँबाट केही माथिसम्म मात्रै सडकको अबस्था बिजोक छ । यहाँसम्म अरुण तेस्रो विद्युत परियोजनाका सयौं सवारी साधनले सडक प्रयोग गर्दछन् । जसका कारण कालोपत्रे भइनसकेको कच्ची सडकको हुर्मत गएको छ ।

यहाँबाट गढी डाँडाको नागबेली उकालो । सहजै बाटो पार लाउन सकिने ।
गढी बजार, आजको हाम्रो बास । देश खोज्ने यात्रामा…

यात्राको दोस्रो दिन…
गढी बजारलाई छोडेर हाम्रो यात्रा किमाथांकालाई गन्तव्य बनाएर अघि बढ्यो । खाँदबारी देखि सकसपुर्ण यात्रा तय गरेको हामिले गढीलाई छोड्ने बित्तिकै आरामको यात्रा सुरु ग¥यौं । अर्थात् खाँदबारीदेखि किमाथांका यात्रामा यत्तिको सहज बाटो कहीँ छैन । किनकी गढी बजार मुनि फ्याक्सिन्दासम्म अरुण तेस्रो जलविद्युत परियोजनाका सामग्री ओसारपसार गर्ने सवारी साधनहरुले सडकको प्राण हरण गरेके छन् । अब यो पक्की सडक जस्तै गढी–गोला बजार सडक खण्ड पनि चाडै नै खाँदवारी फ्याक्सिन्दाकै जस्तो हालत हुनेछ । किनकी गोला बजार भन्दा माथी १ हजार ६३ मेगावाट क्षमताको अप्पर अरुण जलविद्युत आयोजना बन्नेछ ।

केही दिन देखि परेको पानीले सडकमा धुलो उड्ने मौकै छैन । बरु सडकमा वर्षात्को पानीले बनाएको खाडलमा जमेर बसेको पानी उछिट्टिएर भिजाउला भन्ने त्रास चाहिँ छ । यात्राको क्रममा सडक छेउमै मृग देखियो । हामी भाग्यमानी रहेछौं, यसरी वन्यजन्तु नजिकै नियाल्न पाइदैन । मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर पनि होला सायद ।

अग्ला भेगहरुमा काकाकुलले कावा खाएझै आनन्द यो यात्रा सिम्मा, पाथीभरा हुदै अघि बढी रहेछ । समाटारबाट पारी कारमाराङ र सिरुटारलाई नियाल्दै आवाजबिहिन सल्ल बगेको अरुणको बिपरित दिशातर्फ हुइकिई रहेका छौं । बाटोको ग्रेडिङ नमिलेर होला केही ठाउँको यात्रामा असहजता व्यहोर्नु परेको छ । जहाँ सानो गल्ती भइहाले अरुण नदिले हामिलाई आफुमा समाहित गर्नेछ ।

यस अघि मिर्गे भिरले परिचित यो ठाउँको नामै एक्कासी परिवर्तन भयो । नेता भीरको नाम पाएर । २०७४ पौष ३० गतेका दिन, खाँदबारीबाट भोटखोलाको गोला बजारमा भुकम्पसम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रमका लागि जाँदै गरेको बा ५ च १३०९ नम्बरको पिकअप गाडीे यही भिरमा सडकबाट करिब ५ सय मिटर तल अरुण नदीको बगरमा झरेर दुर्घटना भयो । यो दुर्घटनामा मकालु गाउँपालिकाका तत्कालीन अध्यक्ष खड्गबहादुर कटुवाल, स्थानीय एमाले नेता सुरेश राई, जिल्ला समन्वय समिति संखुवासभाका अधिकृत सुवासचन्द्र कुईंकेल, पुनःनिर्माण कार्यालयका इन्जिनियर अर्जुन बस्नेत, सुदिप ढकाल र गाडी चालक रहेका थिए । गाडीमा सवार ६ जनाकै मुत्यु भएपछी यो भीरको नामै नेता भीर भयो ।

बाटोमा सवारी साधन र गाउँलेका पशुचौपाय भेटिन्छन् । अप्पर अरुण जलविद्युत परियोजनाले आफ्नो आयोजना निर्माणको पहल गरिरहेको छ । निर्माणका सामाग्रीहरु थुपारिएका छन् । आयोजना निर्माण पुर्वका आवश्यक संरचनाहरु बनाइरहेका छन् ।

गोला बजार । गोला बजारको आफ्नै विशेषता छ । खाँदबारिबाट गोला बजारसम्म मात्रै बस सेवा सञ्चालनमा छ । बर्खा लागेपछि भने खाँदबारीमै थन्किन्छन ठुला सवारी । तरै पनि साना सवारिले जोखिम मोलेरै भोटखोला बासीलाई सेवा दिने गर्छ । गोला बजारमा खाना खाएर हाम्रो यात्रा अघि बढ्यो ।

अरुण किनारै किनारको यात्रा अघि जस्तै सहज भने रहेन । बरुण दोभान भेट्न अघि बढ्दै छौं हामी अरुण बगरै बगर ।

उत्तरबाट बगेर आएको अरुण र पश्चिमबाट आएको बरुण नदीको संगम हो, बरुण दोभान । चीनको केही शहर छिचोलेर आएको अरुण र शिवधारा र दूध पोखरि उद्गम भएको बरुण नदी यहाँ मिसिन्छ । सप्तकोसीको सबै भन्दा ठूलो सहायक नदि हो अरुण । जसलाई यहाँबाट बरुण नदिले सघाएको छ । बरुण पवित्र धार्मिक तिर्थ नदिको रुपमा परिचित छ । विश्वको पाँचौ अग्लो शिखर मकालुबाट सिन्चित हुँदै दूध पोखरीबाट बगेको बरुणको शिरमा पुग्न नसक्नेहरु यहीँ दोभानमा आएर भक्ती भाव र पुजा गर्ने चलन छ । तर यसरी भगवानको अस्तित्वमा रहेको बरुण नदी पनि खोला र नदीको बिचौलिया अर्थात जलमाफियाको गिद्धे नजरमा परी रहेकै छ । बिजुली व्यापारका लागि । तर जलमाफियाको दूषित कामनालाई रोक्न स्थानीयबासी र स्थानीय तह, नेता नेतृत्व लागि परेकै छन् ।

बरुण बजारमा सिमित घरहरु छन् । किमाथांका यात्रामा मोटरसाइकलको यात्रा यहाँसम्म मात्रै रह्यो । मोटरसाइकलमै जसोतसो हटिया त पुग्न सकिन्थ्यो सायद । तर किमाथांका बासिले भोगीरहेको दुःखलाई हामिले पनि त्यसरी नै अनुभूत गर्नु परेको छ । किनकी अबको केही वर्षमा नै किमाथांकासम्म सवारी साधन पुग्न सक्ने भएकाले पैदल यात्राको रोमाञ्च विगतको झै रहने छैन । त्यसैले पैदल यात्रा गर्नु नै हाम्रो उदेश्य छ ।

बाटोमा भेटिएकाहरुलाई यहाँको भुगोलमा हामीहरु नौलो भएको जानकारी गराउदै हामी पुग्ने गन्तव्यसम्मको जानकारी लिदै अघि बढ्यौं । वरुण दोभानबाट हटिया पुग्ने छोटो बाटो प्रयोग गर्दै हामी अघि बढ्यौं । २०३५/३६ मा तत्कालिन जिल्ला पञ्चायतले खाँदबारी–किमाथांका घोडेटो बाटो खनेर किमाथाङ्कालाई सदरमुकामसँग सहज सम्पर्क गर्ने प्रयास गरेको थियो । त्यस बेला जिल्ला पञ्चायतका सभापति थिए, दुर्गामणि देवान । र प्राविधिक थिए भक्तपुर निवासी ओभरसियर जगतलाल श्रेष्ठ । किमाथांका घोडेटो बाटोमा महत्वपूर्ण योगदान गरेका ओभरसियर श्रेष्ठ लामो समय खाँदबारी बसेका थिए । २०४५ साल माघ ७ मा तत्कालीन राजा बीरेन्द्र खाँदबारी आएका बेला उनलाई हुकुम प्रमांगीमार्फत इन्जिनियर बनाएका थिए । त्यस पछी उनी जगत इन्जिनियर भए । यस अघि मान्छे हिँड्दा पाइलाले छोपिने भाग मात्रै बाटो थियो । भोटखोलाबासीहरु यस्तै बाटो पहिल्याउँदै ओहोर दोहोर गर्थे रे, त्यसताका भिरबाट लडेर केहीले अकालमा ज्यान गुमाए । जगत इन्जिनियरलाई बाटो डोहो¥याउने नुमतर्फका गणेश लिम्बु, स्याक्सिलाका लेन्डुप भोटे लगायतका व्यक्तिहरुको योगदान छ । मानिस हिड्न कठिन मार्ग घोडेटो बाटो बनेपछी भोटखोलातर्फ खच्चर र चौरीको ढुवानी सुरु भएको मानिन्छ ।

प्रकृतिमा फुलेका रङ बिरङका फुलहरु, डाँडा पाखा, पखेरा र झरना हेर्दै गन्तव्यको दूरी छोट्याइ रह्यौँं त कैले चरा चुरुङ्गिलाई झुक्याएर क्यामेरामा बन्दी बनायौं । पानी पर्न थालेकाले पानी छल्न प्लास्टिक र छाता ओढ्नु पर्यो । कहीँ हटिया गाउँमाथी बस्तिका मानिसहरुलाई आउजाउ गर्नै नसक्ने गरि बर्खायाममा पहिरोले बिगारेको बाटोमा जोखिम मोलियो । तर उतिबेला हामी जस्तै सहज यात्रा गर्न पाएनन् किमाथांका बासिले यहाँ । किनकी अहिले मर्मत भइ सकेको छ, यो बाटो । फेरि पनि यहाँ त्यस्तै दुख हुन सक्छ । किनकी अरुण नदिले हामी हिड्ने बाटोको आड कटान गरिरहेको छ । कहीँ उकाली, ओराली यात्रा भइ रहन्छ ।

आजको हाम्रो यात्रा हटियामा विश्राम लिएको छ । देश खोज्ने यात्रा…

 

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search