फ्रान्सेली पर्वतारोही अलासडेयर म्याकेन्जीले अनुभवी नेपाली शेर्पाहरूको टोलीसँगै नेपालबाट चोयु हिमालको आरोहण गरी इतिहास रचेका छन् । म्याकेन्जीसहितको शेर्पा टोलीले ८ हजार १ सय ८८ मीटर अग्लो चोयुको जुन ७ मा साँझ ८ः३५ बजे सफल आरोहण गरेको हो । आरोहणको मुख्य भूमिकामा फ्रान्सेली अलासडेयर म्याकेन्जी, मकालु १ संखुवासभाका लाक्पातेम्बा शेर्पा, लाक्पातेन्जी शेर्पा, निमा ओङ्डा शेर्पा मकालु २ का छाङ्बा शेर्पा, सोलुखुम्बुका ग्याल्जे शेर्पा, तेनजी ग्याल्जेन शेर्पा रहेका छन् ।

खुम्बुपासाङलामु गाउँपालिका सोलुखुम्बुमा रहेको चोयु हिमाल आरोहणका लागि यस अघि पनि धेरै प्रयासहरु भएका थिए । तर सफल हुन सकेको थिएन । यसअघि डा. हर्बर्ट टिची, सेप जोचलर र पासाङ दावा शेर्पाले सन् १९५४ मा पहिलो पटक आरोहण गरे पनि चोयुको मानक मार्ग तिब्बतमा छ । नेपातर्फबाट ठाडो पर्खालहरू भएकाले यसलाई सबैभन्दा ठूलो आधुनिक पर्वतारोहण चुनौतीहरू मध्ये एक मानिन्छ ।
मे ३० सम्म म्याकेन्जी र शेर्पा टोली, मिङ्तेम्बा शेर्पा लगायतले ७ हजार ६ सय २५ मिटरसम्म डोरी फिक्स गरेका थिए तर डोरीको अभावका कारण आधार शिविरमा फर्किनु परेको थियो । जुन ४ मा तयारी पूरा भएपछि टोलीले आधार शिविरबाट अन्तिम शिखर यात्रा सुरु गरेको थियो ।

नेपालतर्फबाट चोयु मार्ग सुरु भएपछी आरोहीहरु खुशी भएका छन् । चोयु विश्वको छैटौ अग्लो शिखर हो । चोयु आरोहण दललाई मकालु गाउँपालिका वडा नं. १ का अध्यक्ष आङबाबु शेर्पा, वडा नं. २ का अध्यक्ष छोपाल शेर्पा र गाउँपालिका अध्यक्ष ओङ्दीछिरिङ शेर्पाले खुशी व्यक्त गर्दै बधाई तथा धन्यवाद ज्ञापन गरेका छन् ।










