मकालु गाउँपालिकालाई पुर्ण खोप घोषणा गरियो

संखुवासभाको मकालु गाउँपालिकालाई पुर्ण खोप तथा दिगोपना घोषणा गरिएको छ । मंगलबार गाउँपालिकाको केन्द्र नुम बजारमा जिल्ला समन्वय समिति सदस्य देउमान राईको प्रमुख आतिथ्यतामा पुर्ण खोप घोषणा गरिएको हो । गाउँपालिका स्तरीय खोप समन्वय समितिले आयोजना गरेको घोषणा कार्यक्रममा विशिष्ट अतिथि मकालु गाउँपालिका उपाध्यक्ष मनकला राई, विशिष्ट अतिथि मकालु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर दर्जी, अतिथिहरु वडा अध्यक्ष तथा वडा खोप समन्वय समितिका संयोजकहरु, कार्यपालिका सदस्यहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।

मकालु गाउँपालिकाले हाल १३ वटा रोगको विरुद्दमा निःशुल्क रुपमा खोपको व्यवस्था गर्दै आएको छ । उक्त खोप गाउँपालिकाका सबै वडाका विभिन्न २५ वटा खोप केन्द्रबाट प्रत्येक महिनाको ५ देखि ९ गतेसम्म नियमित खोप कार्यक्रम सञ्चालन भईरहेको मकालु गाउँपालिका खोप समन्वय समितिका सचिव छिङ दोर्जी लामाले बताउनु भयो ।

जन्मेदेखि १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोप सबै बालबालिकाले पाउन् भन्ने ध्येयका साथ वडा खोप समन्वय समितिद्वारा माघ, फाल्गुण र चैत्र महिनामा सबै स्वास्थ्यकर्मी सबै वडामा परिचालित भै प्रत्येक घरमा पुगेर १६ देखि ५९ महिना उमेर समूहका सबै बालबालिका भएको घरमा अभिभावकलाई भेट गरि खोप पाए नपाएको भनि सर्वेक्षण गरिएको थियो । जस अनुसार मकालु गाउँपालिका वडा नं ३ मा ३ जना र वडा नं. ६ मा २ जना गरि पाँच जना बालबालिका खोप पुरा नगरेको अवस्थामा भेटिएको थियो र सो बालबालिकालाई नियमित खोप सेवाबाट छुट भएको खोप पुरा गरेको थियो ।

गाउँपालिका भित्रको ९ महिना देखि ५ बर्षसम्मका सबै बालबालिकाहरुलाई २०८० फाल्गुण २७ देखि ३० गतेसम्म दादुरा रुवेला खोप अभियान मार्फत ८ सय १४ जनालाई खोप प्रदान गरिएको थियो । यसैगरी २०७३ साल बैशाख महिना देखि २०७५ साल असोजमा जन्मिएका बालबालिकाहरुमा खोप अभावको कारणले आई पि भि खोप छुट भएको बालबालिकाहरुलाई पुरा गर्न नेपाल सरकारले घोषणा गरेको आई पिभि खोप अभियान २०८१ जेष्ठ १३ गते देखि १७ गतेसम्म गाउँपालिकामा आई पि भि खोप अभियान सन्चालन गरि ५ सय ७७ जना बालबालिकाहरुलाई खोप प्रदान गरिएको थियो।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search