संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ स्थित नुम–आम्राङ सडकखण्डमा ब्लास्टिङ गरिएको छ । नुमदेखि आम्राङ जोड्ने सडकको आम्राङ खोलामा कडा चट्टान भेटिएपछि आइतबार ब्लास्टिङ गरिएको हो । सडक निर्माणका क्रममा चटान फुटाउन विभिन्न प्रयासहरु गरिए पनि सफल हुन सकेको थिएन । सडक खुलाउन विष्फोटक पदार्थ प्रयोग गर्नु पर्ने भएपछी लामो समय देखि निर्माण कार्य रोकीएको थियो । उक्त सडक अरुण तेस्रो जलविद्युत आयोजनाको लगानीमा सामाजिक विकास कार्यक्रम अन्तर्गत निर्माण गरिएको स्थानीय देवेन्द्र कडेलले बताउनु भयो ।
२०७९ असोजमा आर पि कन्स्ट्रक्सन सिन्धुपाल्चोकले एक करोड ३० लाख लागतमा ३ किलोमिटर सडक निर्माणको जिम्मा लिएको थियोे । ८ महिना भित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएपनी कडा चट्टानका कारण सडक रोकिएको थियो । गत वर्ष नै चट्टान बाहेकका सडकखण्ड निर्माणको काम सकिएको थियो । तर कडा चटान तोड्न ब्लास्टिङ गर्नु परेको आर पी कन्स्टक्सनका बिरु तामाङले बताउनु भयो । उक्त सडकले मकालु गाउँपालिकाका वडा नं. १, २, ६ र वडा नं. ५ का सोलाखानी र आम्राङ गाउँलाई यातायातको पहुँचमा सहज हुने वडा नं. ५ का अध्यक्ष योगराज राईले बताउनु भयो ।
वडा नं. ५ बाट अन्य वडा जोड्ने यो छोटो मार्ग हो । त्यसैले यो सडकका कारण स्थानीयहरु लाभान्वित हुनेछन् । उक्त सडक केही महिना पछी पुर्ण रुपमा सञ्चालनमा आउने निर्माण कम्पनीले जनाएको छ ।









