व्याडमिन्टन संघ संखुवासभाले आय व्यय सार्वजनिक गरेको छ । सोमबार खाँदबारीमा गरेको पत्रकार सम्मेलनमा गत असार ६ देखि ८ गतेसम्म सञ्चालन भएको प्रदेश स्तरीय प्रतियोगिताको आम्दानी तथा खर्च सार्वजनिक गरेको हो । संघका कोषाध्यक्ष सुरज गौतमले विभिन्न १० शिर्षकमा भएको १० लाख १६ हजार ५ सय १९ रुपैया खर्च भएको उल्लेख गर्नु भयो । जसमा विभिन्न दातृ संस्था र सहयोगीहरुद्धारा १३ लाख ८१ हजार २ सय ४० रुपैंया प्राप्त भएको थियो । उक्त प्रतियोगितामा ३ लाख ६४ हजार ७ सय २१ रुपैंया नाफाको रुपमा आम्दानी भएको छ ।

पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीले धेरै यस्ता खेलकुदका कार्यक्रम आयोजना हुने तर खर्च सार्वजनिक नगर्ने समस्या रहेको बताउनु भयो । त्यस मध्ये पनि धेरै कार्यक्रमहरु सञ्चालन गर्दा घाटा देखाउने प्रवृत्तिलाई पनि व्याडमिन्टन संघले सिकाईको बाटो देखाएको र यसबाट अन्य संस्थाले सिक्न समेत अनुरोध गर्नु भयो ।
ब्याडमिन्टन संघका पदाधिकारीले कार्यक्रममा बोल्दै प्रतियोगिता सञ्चालनका लागि सहयोग गर्नुहुने सम्पूर्ण सहयोगीप्रति धन्यवाद ज्ञापन गरे ।

सोही कार्यक्रममा याडमिन्टन संघ संखुवासभाले नेपाल पत्रकार महासंघ संखुवासभालाई नगद सहयोग गरेको छ । संघका अध्यक्ष सन्जिव श्रेष्ठले महासंघका अध्यक्ष इन्द्र गिरीलाई नगद २० हजारको चेक हस्तान्तरण गर्नु भएको हो ।
प्रतियोगिताको प्रचारप्रसारका लागि संखुवासभामा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरुले महत्वपूर्ण भूमिका खेलेको भन्दै संघले सहयोग गरेको हो । संघका सचिव रुद्रमणि श्रेष्ठले संखुवासभामा खेलकुदका गतिविधि सञ्चालनका क्रममा यस किसिमको सहकार्य पहिलो पटक गरिएको बताउनु भयो । अन्य खेलकुद आबद्ध संस्थाहरुलाई समेत सिकाई सुरुवात हुने वहाँले बताउनु भयो । नेपाल पत्रकार महासंघ संखुवासभाले गतवर्षबाट कार्यालय भवन निर्माणको काम गरिरहेको छ ।









