असार २, २०८१ जीवन कै कठिन र संघर्षपुर्ण यात्रा थियो । लक कुमार कुलुङ र मेरो (मेघराज तामाङ) । करिब १० दिन अघिदेखि हामी मकालु गाउँपालिकाका वडाहरुको सार्वजनिक सुनुवाई गर्न व्यस्त थियौँ । हामी आउने क्रममा नै कोशी राजमार्गको हालत खराब थियो । गत सोमबार देखि संखुवासभा अविरल वर्षाले क्षतविक्षत् भैरहेको छ । एकको मृत्यु, केही घाइते र घरबार बिहिन् ।
वडा नं. ५ को सार्वजनिक सुनुवाई सकाएर हामी शुक्रबार वडा नं. ६ तर्फ लाग्यौँ । बाढी र पहिरोले सडकको हालत बिग्रेपछी हामी पैदल यात्रामा आम्राङतर्फ लाग्यौँ । बाटो सहज हुँदा सोलाखानीसम्म मोटरसाइकलमा जान सकिन्थ्यो । आम्राङ पुग्दासम्म थुप्रै पहिरो छिचोल्नु पर्यो, हामीले । कहीँ माथिबाट आएको त कहीँ तलबाट सडक कटान गरेको । आम्राङबाट वडा नं. १ को वालुङ वेशी हुँदै वडा नं. ६ जाने निर्णय भयो । आम्राङबाट ओरालो लाग्दा खेरी नै ठुलो पहिरोमा परियो । जसोतसो पहिरो पार लाइयो तर सडक मै हिन्न पनि कम असहज थिएन । जुन बाटो हामी एक साता अघि मोटरसाइकलमा सहज यात्रा गर्दै वडा नं. १ को सार्वजनिक सुनुवाई गर्न गएका थियौँ ।
केही ठाउँ सडक प्रयोग गर्दा जोखिम हुने भएपछी पहिरोबाटै अरुण नदि पुग्यौं र बेलिबृज तर्यौँ । वडा नं. १ को भुगोल टेक्ने बित्तिकै पहिरो आएर खोल्सो थुनिएपछी सिधै सडकमा छाँगा बनेर खसेको रहेछ । सडकको निशाना अरुणमा विलिन भएछ । खोल्सो बडेर तर्न नसक्ने खोलो बनेको रहेछ, त्यहीँ खोला पार गर्न कठिन भयो । खुट्टा चिप्लि हाले हामी अरुणमा समाहित हुन पथ्र्यो । तर त्यसो हुन पाएन । यहाँबाट इप्सुवा इनर्जीले पावर हाउस जान खोलेको सडक हुँदै पावर हाउस नजिक पुग्यौं । यहाँ आएपछी हाइड्रो कम्पनीले पहिरोमा खतराको संकेत गरेको रहेछ । जहाँ निरन्तर पहिरो खस्ने रहेछ । हामी बाटोमा भन्दा धेरै माथीतिर हेरेर यस्लाई पार लायौँ ।
अहिले वर्षाका कारण होला निर्माणको काम रोकिएको थियो । आप्सुवा खोलाको झोलुङ्गे पुल तरेर हामीले वडा नं. ६ प्रवेश गर्याँै । उकालै उकालो यात्रामा बर्खेझरिले हामीलाई साथ छोडेको छैन । साँझ ६ः३० तिर वडा कार्यालय डाँडा गाउँ पुग्यौँ र कार्यालयमा नै बास बस्यौँ ।
यात्राको थकान थियो, छिट्टै सुत्यौँ । केहिबेर पछि सुत्न नसक्ने गरि जस्ताको छानामा मुसलधारे ओइरियो । पानीको दर्कनाले सुत्नै दिएन ।
शनिबार बिहान सोलाखानी र पारी देखिने पाखाहरुमा बाक्लै गरि पहिरो देखिए । आज वडा कार्यालयमा सार्वजनिक सुनुवाई छ । बर्खा बेला सहभागिको उपस्थिति ढिलै गरि भयो । करिब ३ः३० तिर कार्यक्रम सकियो । आजको बास वडा कार्यालयमा नै हुने निश्चित भयो ।
खानासाना खाएर सुत्यौँ । हिजो जस्तै गरि पानीले छाना छेड्ला जस्तै गरि दर्कियो ।
जीवन या मृत्युको त्यो यात्रा
आइतबार बिहान करिब ६ः१५ मा नुम पुग्न बाटो लाग्यौं । वडाअध्यक्ष नरेन्द्र कुमार मेवाहाङ हामीसँगै बास भएकाले सँगै बाटो लाग्यौं । केहि वर आएपछी ठुलो पहिरो खसेको रहेछ । जहाँ पार गर्न मुस्किल भयो । अध्यक्ष ज्युले रिपोर्टिङ गर्न अह्राए । केही भिडियो खिचियो । अलिक वर आएपछि घर माथिबाट आएको पहिरोले नयाँ बन्दै गरेको घरलाई आंशिक क्षति गरेको रहेछ । माथिल्लो घर पुर्ण बिस्थापित हुन लागेछ । यहाँ अध्यक्षको बाइट खिचेर लम्कियौँ । अध्यक्षको घर आइपुगे पछि वहाँको यात्रा यहाँसम्म मात्रै रह्यो । सोमबार नुममा भेट हुने बाचा गरेर हामी छुट्टियौँ । छुट्तै गर्दा वहाँले ठट्टा गर्नुभयो, “जोगिएर जानू, मुचुल्का उठाउनु आउनु पर्ला ।”
केहिबेर ओरालो र तेर्सो लागेपछि गाउँ र जङ्गलको बाटो छुट्टिने ठाउँमा उभिएर लक सरले–“राई माइलाले गाउँ छोड्यो” भन्नूभयो । रमाइलो गफ गर्दै सिमसिम पानीमा ओराली झर्यौँ । केही तल आएपछि अस्ती आएको बाटो ठाउँठाउँमा पहिरोले तानेको रहेछ । म अघिअघि छु । लक सरले मजाक गर्दै भन्नू भयो, “अघि हिड्ने मान्छेले किन बाटो भत्काउदै–बिगार्दै हिडेको ?” म अवाक फिस्स हाँसे ।
निकै तल आएपछि भयानक पहिरो खडा भयो । केहिबेर कसरी पार गर्ने भनेर अल्मलियौँ । लक सरले फर्कौँ यहाँबाट भन्नू भयो । तर मलाई लाग्यो, यहाँ मात्रै पहिरो होला, यो कटेसी सहजै पुगिएला । त्यसैले पहिरो पार गर्न म सहज ठाउँ खोज्न लागेँ । लक सर मैले नफर्किने संकेत गरेपछि वहाँपनि त्यतै लाग्नु भयो । म पहिरोको किनारबाट अलिक तल झरँे । लक सर माथिबाटै एउटा पहिरो तर्नु भयो ।
त्यहाँबाट फेरि त्यतिकै भयानक अर्को पहिरो तर्नु छ । सहज ठाउँ खोज्दा खोज्दै म निकै तल पुगेँ । लक सर पहिरोको बीचमा देखे पछि वहाँले नै भन्ने गरेको कुराको याद आयो । मोटरसाइकल यात्रामा कहीँ अलि अप्ठ्यारो जस्तो लाग्यो भने वहाँ ओर्लि हाल्नु हुन्थ्यो र म सोध्ने गर्थें । बाटो ठिकै छ त, किन ओर्लिहाल्नु भाको ? “खबर लाने मान्छे चाहिन्छ ।” मैले यो बेला यति सम्झिएँ । म पनि बिस्तारै पहिरो पार गरेर पारी तरेँ । हामी दुबैले यो ठुलो पहिरोबाट पार पायौं । पारी पुगेपछि अब हिड्ने बाटो पत्ता लाउन सकेनौं । पारी पट्टी पहिरोसम्म आएको बाटोलाई निसाना लाएर हामी भएदेखी केही माथी होला भनेर त्यतै लाग्यौं । बाटो फेला पर्योे र ओराली झर्यौँ स–साना पहिरोहरु छिचोल्दै । केही तल आएपछि झन् ठुलो पहिरो देख्यौं । लक सरले भन्नू भयो, “अब चाहिँ जान सकिँदैन ।” मलाई पनि हिनताबोध भयो, अगि फर्कौँ भन्दा मान्नु पर्ने थिएछ ।
अरुण नदि नजिकै उर्लिरहेको आवाज सुनिन्छ । त्यसैले फेरि जोखिम मोलियो । पहिरो बाटै हामी हिड्ने बाटो खोज्न थाल्यौं । माथीबाट पहिरो आइहाले हामी बाच्ने स्थिती छैन । केहिगरी खुट्टा चिप्लिए आप्सुवाको बगरमा बजारिन पुग्छ । यो पहिरो आप्सुवा खोलामा झरेको छ । यसलाई ज्यानको बाजी थापेर जित्यौँ । हामी खुड्किलै खुड्किला ओर्लदा बाटोसमेत धाँजा फाटेकाले बिछ्याइएका ढुङ्गाहरु हलचल हुने गथ्र्यो । केही ठाउँ बाटो कटान गरेर पहिरो खसेको छ । सामान्य पानी परिरहेकाले पहिरो खसिहाल्छकी भन्ने डर कम्ती थिएन ।
म अघिअघि नै छु । आप्सुवा र अरुणको दोभान देखेँ । अरुण ठूलो रुप लिएर बाङ्गालको खाडीतर्फ बगेको छ । पारी पट्टी थोरै आप्सुवा पुल देखेँ । लक सर अलिक पछि आउँदै हुनुहुन्थ्यो । म हतार गर्दै पुलतर्फ लागेँ । तर जब पूरा पुल देखिने ठाँउमा पुगेँ । पुल आधा मात्रै झुन्डिएको थियो । यो देख्दा म हरेस खाइसकेको थिएँ । आज हाम्रो जिवनको अन्तिम यात्रा रहेछ । म अलिक वर फर्किएँ । लक सरलाई सुनाएँ । वहाँले नपत्याए जस्तो गरि हेर्न लाग्नु भयो । पुलको त्यो हालत देखेपछि वहाँले भन्नूभयो, अब हामी फस्यौँ । जाने ठाउँ पनि छैन, फर्किनेनी छैन । म आधा भइसकेको थिएँ ।
वहाँ केही गरि तर्न सकिन्छ कि भनेर निकै तलसम्म पुग्नु भयो । सम्भावना नभएपछी म भए तिरै फर्कनु भयो । माथिबाट आएको पहिरोले पुलको क्षति गरेको थियो । पानी सिमसिम छँदैछ । यो गति बढे माथिबाट पहिरो खस्ने निस्चित छ, अनि हाम्रो जिबनलिला समाप्त हुनेछ । अब मैले सोँच्नु नसाँेच्नु सबै सोचेँ । घर परिवार, आफन्त सबै । मलाई लाग्यो, अब हामी फर्कन सक्दैनौं । फोन गरि कसैलाई हाम्रो बारे जानकारी दिउँ, नेटवर्क छैन । अब बाँचिएछ भने पनि रेस्क्यु हुन सक्दैन । अगि वडाअध्यक्षले ठट्टा गरेको नि सम्झिएँ । सायद तेस्तै हुनु थियो नै कि भन्ने पनि लाग्यो । अनि मुचुल्कै गर्न आउँदा नि के होला र हामीलाई भेट्ने छैन । विधि पुर्याउलान्, तेत्ती न हो । यो बीचमा लक सरले केके भन्नू भयो मैँले कति जवाफ फर्काएँ, मलाई पत्तै भएन ।
मैंले भने तल बगरमा ओर्लन पाए जसोतसो छोयाङ्तर्फ गएको सडकबाट फर्किन सकिन्थ्यो कि ? तर त्यस्को बिकल्पै थिएन । लक सरले भन्नूभयो, “स्काउटले खै कति लामो हो डोरी कम्मरमा भिरेको हुन्छ, यस्तो बेला काम लाग्छ ।” मैले प्रतिक्रिया जनाइँन । हामी मरियो भने यहीँ पहिरोमा मरिने भैयो, बाचियो भने घर पुगिएला भन्नेमा पुग्यौं । र अघि जोखिम मोलेर आएको पहिरोको बाटो हुँदै छोयाङ फर्किने निर्णय भयो । लक सरले भन्नू भयो, “इन्स्योरेन्स गर्नुभाको छ ?” मैले सिधा जवाफ फर्काएँ, “छैन ।” यतिबेला ८ः३० बजिसकेको थियो । पारी इसुवा इनर्जी कम्पनीको आवास क्षेत्र सुनसान थियो । सायद पहिरो खस्ने डरले त्यहाँ बस्नेहरु निस्किसके ।
फर्किने त भइयो । तर यतिखेरसम्म हामी भोकले सिकिस्त भैसकेका थियौं । करिब ८ बजे आम्राङ आइपुग्ने र खाना खान नुम पुग्ने योजनाले खानेकुरा केही बोकिएन । यसले पनि एउटा पाठ सिकायो हामीलाई–कुन बेला के समस्या आउँछ टुंगो हुँदैन । यात्रामा आवश्यक खानेकुरा बोक्नु पर्छ ।
जीवन या मृत्युको दोसाँधमा हामी फर्कियौ । पहिरोबाट जोगिदै उकालो । खुट्टा कामेर पाइला सरिन्न । उसैत भोकले लर्खराउँदा । केही माथि आएपछी लक सरले झोला खोतल्नु भयो र ह्याप्पिडेन्ट निकाल्नु भयो । हामी खाँदबारिबाट बाटो लागेको दिन भ्याङखोलामा किनेका थियौं । २/२ वटा पुग्ने गरी उब्रिएको रहेछ । चपाउनु अघि मैंले ठट्टा गरेँ, “पेट पनि अचम्म मान्छ रे, मुखले यति धेरै चपाईरहेको छ, किन भित्र चाहिँ पठाउदैन ? बरु भोक थपिन्छ रे ।” हामी भोको पेटमा हास्यौँ र ह्याप्पिडेन्टको तागत पहिरोले तान्न लागेको सिँढीहरुमा खर्चियौँ ।
हामी पहिरोको उच्च जोखिम्मै छौँ । केही माथी आएपछी चुच्चे आँप टिपेर खायौं । ढुङै खाउँकी माटो खाउँ भएको हामिलाई अब आउने ठुलो पहिरो सजिलै काट्ने दुस्साहस दियो । धेरै खाँदा कलिलो आँपले असर गर्ने डर । नखाउँ पहिरोबाट बाँचे पनि भोकले मर्ने डर ।
निकैबेर हिँडेपछी अन्तिम पटक संघर्ष गर्नु पर्ने ठुलो पहिरो पुगियो । यो पहिरो पार गरे बाचिन्छ भन्ने आश छ । पहिरोमा ज्यानलाई जोखिममा पारेर पार लाईयो । अब चाहिँ बाँच्छु जस्तो लाग्यो । अत्यन्त भोक र तिर्खाएका हामीले यो पहिरो कटेर छोयाङतर्फ तेर्सै जाउँ जसरी भएनी सोलाखानी जाने ठाडो बाटो भेटिएलानी भन्ने भयो र तेसै गरियो । तर बाटो नभएको ठाउँमा बर्खमा हौसिएर आएका झार पन्छाउन नसक्ने भयौं । भोकले थलिन लागेको हामिलाई धागोको तगारो जस्तै भैसकेको थियो । फेरि फर्कियौँ र पुरानै बाटो उक्लियौँ । यतिबेला सयौं जुकाले हाम्रा शरिरमा खुन चुसिसकेको थियो ।
डाँडा गाउँ जाने सडक भेटेपछि पसलको खोजिमा लागियो । केही पर पुगेपछी एक जना चिने जस्तै लाग्ने मान्छे हामी तिरै आउदै हुनुन्थ्यो । नभन्दै बुद्धि मेवाहाङ हुनुहुँदो रहेछ । गत वर्ष यता घुम्न आउँदा वहाँ कै घरमा बास बसेका थियौं । वहाँलाई पाएपछि हामी भोकले मरिदैन भन्ने लाग्यो । किनकी गाउँमा यतिबेला मान्छे भेट्न मुस्किल छ । हामिले हाम्रो सबिस्तार लायौँ । वहाँको घरमा किराना पसल छ भन्ने थाहा छ । चाउचाउ बनाउन लाउाला र खाउँला भन्ने थियो । तर सबै काममा गएकाले सोचे जस्तो भएन । वहाँले नै माथ्लो घरमा जाउँ भन्नुभयो र त्यतै लाग्यौं । बुद्दी दाई नभएको भए यहाँ पनि हामी भोकै पर्ने थियौं । वहाँले घरको मान्छे बोलाएर ल्याउनु भयो । त्यहाँ चाउचाउ बनाउन लगायौँ र धित मरुन्जेल चिउरासँग खायौं । नुम पुग्ने योजनाले त्यहाँबाट अरुणको ओराली झयौँ ।
अरुण पुल तरेर सोलाखानीको उकालो गर्मीमा । सडक प्रयोग गरेर अब हामी आम्राङ तिर हानियौँ । बाटो भरी पहिरो नै पहिरो छ । केही ठाउँमा निक्कै असहज पनि थियो । जति अघि बढ्यो उति ठुलो पहिरो र जोखिम पनि । हामी दुई आज आम्राङ पुगिन्छ के ? भन्दै तेर्सी रह्यौँ । सुके खोल्सा आएपछी तर्न सक्ने स्थिति देखिएन । लौरो बनाएँ र म अघि तरेँ । लक सर पनि तर्नु भयो । यहाँ कहिँकतै खुट्टा खुस्किए अरुण मै पुगिन्छ । जसोतसो यो संकट झेलियो ।
तारको भरमा खोला तर्दा
क्रमश यात्रा अघि बढ्यो । जब अरुण तेस्रोको आम्राङ सुरुङ छेउ (अडिट (२) आयौँ, तब हाम्रो यात्रा टुंगिएको अनुमान भयो । हामिले बाटो प्रयोग गरिरहेको सडक तुङ खोलाले बगाएछ । हामी पुल बगाए जस्तै गरेर फेरि फस्यौँ । बिहान देखि संघर्षरत हाम्रो यात्रा फेरि सोलाखानी फर्कन सक्ने हुत्ती थिएन । किनकी छोयाङमा खाएको चाउचाउ र चिउराले साथ छोडिसकेको थियो । तुङ खोला पार गर्ने कि सोलाखानी फर्किने दोधारे मनमा जीवनले साथ छोडिसकेको थियो ।
फेरि सम्झिएँ, यो संकट पूरा गरे, सामान्य कालले हामिलाई लानै सक्तैन । लक सरले भन्नू भयो, “अब हामी साँच्चै अभर पर्यौँ ।” मलाई लाग्यो, आज हाम्रो कालयात्रा भइरहेछ । पटकपटक जिवन मृत्युको परिक्षा भइरहेको छ । पाइला पाइलामा कालयात्रा चलिरहेछ ।
सडक बगाएपछि खोला नजिक पुग्न कठिन छ । त्यहाँ पुगि हाले तुङ खोला उर्लिएको छ । फेरि अरुण हुँदै हामिलाई गंगासम्म जलयात्रा गराउने छ, तुङ खोलाले ।
लक सरले सडकबाट तल झर्ने र खोला जसरी नि तर्नु पर्छ भन्नू त भयो तर तल झर्न सजिलो थिएन । नयाँ पहिरोको माटोमा नङ गाडेर वहाँ तल झर्नु भो । करिब २० फुट । ज्यान जोखिममा राखेर । वहाँ तल पुगेपछि मलाई नि पुरुषार्थ देखाउनु पर्यो । नत्र एकलै सोलाखानी फर्किनुको विकल्प थिएन । अब लक सर जस्तै गरि ओर्लने भैयो । मेरो मुटु फुत्किएर बाहिर निस्किएला जस्तो भयो । मुटु बढेर फोक्सो भन्दा ठुलो भए जस्तो लाग्यो । जे होस्, सकुशल ओर्लिए पुगिएला भन्ने लाग्यो र जेनतेन ओर्लिएँ ।
ओर्लन त ओर्लियौ तर खोला के गरि तर्ने ? खोला तर्न नसके अगि ओर्लिएको पहिरो उक्लन सक्ने थिएनौं । हाम्रो जिवनको यात्रा साघुरिदै थियो । हामी भए ठाउँमा छाँगाबाट झरेको पानीको बाफ र बाछिटाले निथ्रुक्क पारी सकेको थियो । पारी कम्पनीमा काम गर्ने साथीहरूलाई डोरी, लौरो ल्याउन संकेत गर्यौँ । पानी बाक्लो गरि परे खोला बढ्ने डर कम थिएन । निकै बेरमा ३ भाई डोरी र लामो रड लिएर आए । यतिन्जेल लक सरले बिना सहारा २ पटक खोला तर्ने प्रयास गरिसक्नु भएको थियो । मैले नै अनुरोध गरेँ, केही छिन् पर्खौँ । एकै छिनको हतारले जीवन समाप्त हुन्छ । म खोला खेल्ने मान्छे । वहाँ पौडिनै नजान्ने, मलाई थाहा थियो । तर म भन्दा आँटिलो बनेर खोला तर्ने वहाँको प्रयास हेर्दा मान्छे बाच्नको लागि मर्न नडराउने रहेछ । डोरीको सहायताले हामी तुङ खोला तर्यौँ । जुन अन्तिम मृत्यु परिक्षा थियो । खोला तर्न सहयोग गर्ने तीन जना मित्रलाई हार्दिकताले धन्यवाद दियौं । उनीहरु नभएको भए हामी के गथ्र्यौँ र के हुन्थ्यो टुङ्गो भएन ।
सुरुङ अघि सडकबाट तेर्सिदा लक सरले भन्नू भयो, “यसरी खोला नतरेको धेरै भएको थियो । अब बाँचिन्छ भन्ने पुर्ण आश भयो” र आम्राङ हुँदै गुरुङ गाउँबाट साँझ १२ घन्टाको यात्रा नुम आएर टुंग्यायौँ ।
अब मकालु ६ का स्थानीयहरु गाउँपालिकाको केन्द्र नुम आउन पाउने छैन । नुम आएपछि वडाअध्यक्ष, गाउँपालिकालाई सूचना गर्ने मन थियो । तर हामीसँग विकल्पहरु थिएन । आजसम्ममा यो बाटोमा हामी जस्तै धेरै जनाले सास्ती पाए होलान् । तीन विकल्पको बाटोहरु, छोयाङ–आप्सुवा पुल–अरुण नदि आम्राङ हुँदै नुम । छोयाङ हुँदै अरुण नदि तरेर सोलाखानी–आम्राङबाट उकालै उकालो नुम र सोलाखानीबाट उकालै उकालो सुके खोला र तुङ खोला तरेर गुरुङ गाउँ हुँदै नुम । यो रुट अहिले पुर्ण रुपमा बन्दछ ।
छोयाङ बासी अब नुम आउन २ दिन लाग्नेछ । वर्खयाममा योजना फरफारक गर्न आउन उनीहरुलाई मुस्किल छ । तत्काल बाटो मर्मत गर्न पनि निरन्तर पानी परिरहेकाले सम्भव छैन । मकालु क्षेत्रमा एक साता देखि नियमित विजुली छैन । ईन्टरनेटको के कुरा, मोबाइलमा नेटवर्क छैन । अब मकालु गाउँपालिकाले के गरि उपभोक्ता र निर्माण व्यवसायीलाई केन्द्रसम्म ल्याउला र भुक्तानी देला ? विद्युत ब्याकप नहुँदा मसान्तमा क्लोजिङ गर्न सक्ला त मकालुले ?
जीवनकै सबैभन्दा कठिन यात्रामा मकालु बासीको समस्या कम देखिएन । अहिले पनि निरन्तर पानी रोकिएको छैन ।
सोमबार, असार ३, २०८१