कुनै पनि विद्यालयमा जम्मा विद्यार्थी संख्या ७ जना हो भन्दा अनौंठो लाग्न सक्छ । तर संखुवासभाको मकालु गाउँपालिकाको एक विद्यालयमा जम्मा विद्यार्थी संख्या ७ जना रहेको छ । वडा नं. १ को कालिका आधारभुत विद्यालय चिरखाङमा ७ जना मात्रै विद्यार्थी छन् । जुन विद्यालयमा ४ जना शिक्षक कर्मचारीहरु अध्यापनरत छन् ।
तर विद्यालयमा विद्यार्थी संख्या कम हुनुको मुख्य कारण हो, पहिरो । चिरखाङ गाउँबाट करिब डेढ घण्टा पैदल दूरीमा रहेको कालिका आवि आउँदा पहिरोको उच्च जोखिम छ । वर्ख लागेसंगै हरेक वर्ष करिब वैशाख महिनादेखि पहिरो बग्न सुरु हुन्छ । पहिरो कै कारण विद्यार्थीलाई बजार क्षेत्रमा राखेर अध्ययन गराउन थालेपछी यो विद्यालयमा विद्यार्थी संख्या न्युन बन्दै गएको शिक्षिका दिम्नीसरा राईले बताउनु भयो ।
२०४३ साल तिर चिरखाङ गाउँमा नै अघोषित रुपमा विद्यालय स्थापना गरिएको थियो । तर पहिरोको जोखिमकै कारण २०४८ सालमा चिरखाङमा सञ्चालित विद्यालयलाई डेढ घण्टा टाढा पर्ने भञ्ज्याङमा स्थानान्तरण गरी तत्कालिन कालिका प्रा.वि.को नाममा स्थापना गरियो । गाउँमुनि ठूलो पहिरो, शिलिचोङ गाउँपालिकातर्फ जाने बाटोमा पहिरो र भञ्ज्याङतर्फ आउने बाटोमा पहिरो नै पहिरो छ । जहाँ चिरखाङबाट आउने विद्यार्थीहरु हरेक दिन पहिरोको उच्च जोखिममा पर्ने गरेका छन् । हिउँदका सुख्खा मौसममा पहिरो नखस्ने तर जेष्ठ महिनाको सुरुवात देखि असोजको सातासम्म यहाँ पहिरो झरिरहने हुन्छ । जसका कारण यी महिनामा कालिका आविमा पढ्ने विद्यार्थीहरु विद्यालय नजिकै आफन्तकोमा बस्ने र उतै अध्ययन गर्दै आएको शिक्षिका टिकामाया राईको भनाई छ ।
विद्यालयमा विद्यार्थी संख्या घटिरहँदा विद्यालयलाई गाभ्ने वा हटाउने भन्ने समस्या स्थानीयलाई बढ्दै गइरहेको छ भने आफ्ना छोराछोरी विद्यालय आउजाउ गर्ने क्रममा पहिरोमा फस्ने होकी भन्ने त्रास पनि उत्तिकै छ । चिरखाङ गाउँ नै पहिरोको उच्च जोखिममा रहेकाले विद्यार्थी संख्या बढाउने भन्दा धेरै सिंगो गाउँ नै जोखिममुक्त गराउन स्थानान्तरण वा पुनस्र्थापनाको लागि नियामक निकायबाट पहल सुरु गर्नुपर्ने देखिन्छ ।











