बाग्लुङ । अविरल वर्षाले पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । हिजो साँझदेखि परेको वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो ।
करिडोरको बाग्लुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा करिडोर अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी जानकारी दिनुभयो । करिडोर अवरुद्ध हुँदा लामा तथा छोटो दूरीका सवारीसाधन ठप्प भएको उहाँले बताउनुभयो । अहिले वर्षा भइरहेको हुँदा सडक खुलाउन नसकिने जनाउँदै वर्षा रोकिएपछि खुलाउने प्रनाउ यादवले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा सदरमुकामसँग दक्षिण बाग्लुङको सिधा यातायात बिच्छेद भएको छ । पहिरोले सडक नै भासिएको छ । गतहप्ता पनि अवरुद्ध भएको सडक हिजो दिउँसो सञ्चालनमा आएकामा गएरातिको भारी वर्षाले सडक पुनः अवरुद्ध भएको हो ।











