काठमाण्डौ । मनसुन थप सक्रिय भएसँगै काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँमा मुसलधारे पानी परिरहेको छ । गएरातिदेखि निरन्तर पानी परिरहेकाले काठमाण्डौका विभिन्न क्षेत्र जलमग्न हुँदा विद्यालय जाने विद्यार्थी , कार्यालय जानेहरू र काम विशेषले घरबाहिर निस्कनेहरू प्रभावित भएका छन् ।
सडकमा पानी जम्दा पैदलयात्रु समस्यामा परेका छन् । सडकमा गाडीको लामो जाम रहेको ट्राफिक प्रहरीले बताएका छन् । उपत्यका ट्राफिक प्रहरी महाशाखाकाअनुसार माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भू, कोटेश्वर, केशरमहल, वनस्थली, रामशाहपथलगायतका मुख्य सडक र सहायक सडकहरू जलमग्न भएकाले गाडी आउजाउ प्रभावित भएको छ ।
काठमाण्डौ उपत्यकाका केही सरकारी कार्यालय र घरहरू जलमग्न भएका छन् । पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै ललितपुरको गोदावरी जल मापन केन्द्रमा ६८ मिलिमिटर वर्षा मापन भएको छ । ललितपुरको लेलेमा ३९ दशमलव ४ र टीकाथलीमा ३५ दशमलव ४ मिलिमिटर वर्षा मापन भएको छ ।
काठमाण्डौको नैकापमा ३० दशमलव ६, कपनमा २५ र बूढानीलकण्ठमा २१ मिलिमिटर वर्षा भएको त्यहाँ रहेका जल मापन केन्द्रले जनाएका छन् । यस्तै भक्तपुरको ताथली जल मापन केन्द्रमा २६ दशमलव ८ मिलिमिटर वर्षा मापन भएको छ ।
पछिल्लो तीन घण्टामा तनहुँको विमलनगरमा ४५ र मकवानपुरको मकवानपुरगढीमा ४२ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । यस्तै गुल्मी, प्यूठान, लमजुङ, बारा, सिन्धुपाल्चोकलगायतका जिल्लामा पनि ठूलो पानी परेको छ । यसैबीच भोलिसम्म देशका केही ठाउँमा निकै ठूलो र ठूलो वर्षा हुने पूर्वानुमान गरिएको छ ।
आज देशैभर पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार आज दिउँसो कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भने अतिदेखि धेरै ठूलो वर्षाको सम्भावना रहेको छ । रातिको समयमा झन् धेरै वर्षा हुने अनुमान छ ।
अति ठूलो वर्षा हुने क्षेत्रमा बाढी पहिरोको जोखिम हुने भएकोले सतर्क रहन महाशाखाले आग्रह गरेको छ । महाशाखाले यसअघि नै विशेष बुलेटिन निकालेर भोलिसम्म मनसुन सक्रिय हुने जनाएको थियो । यो समय अति जोखिम हुने भएकोले प्रतिकार्यका लागि समेत तयार हुन भनिएको छ ।











